काठमाडौं : नेपाल बार एशोसिएशनको आन्दोलनको क्रममा भएको प्रहरीसँग भएको घम्साघम्सी प्रति गम्भीर रहेको सर्वोच्च अदालतले जनाएको छ। आज एक विज्ञप्ति जारी गर्दै सर्वोच्च प्रशासनले अदालत परिसरमा सिर्जना भएको अप्रिय अवस्थाप्रति दु:ख व्यक्त गरेको हो।
बिहीवार सर्वोच्च परिसरमा धर्ना दिइरहेका कानुन व्यवसायीहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रवेश गर्ने वैकल्पिक गेटमा जान खोज्दा प्रहरीले बल प्रयोग गरेको थियो। त्यसक्रममा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित अधिवक्ताहरु घाइते भएका थिए। शुक्रवार पनि प्रहरी र अधिवक्ताहरुबिच घम्साघम्सी भएको थियो।
सर्वोच्चले बिहीवारको जस्तो घटना दोहोरिन नदिन अदालत प्रशासन गम्भीर र संवेदनशील रहेको जनाएको छ।
बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ। प्रधानन्यायाधीशकै निर्देशनमा बारको आन्दोलन कमजोर पार्न बिचौलिया र भिजिलान्ते प्रयोग भएको आरोप बारले लगाउँदै आएको छ। बारले राजीनामा नआएसम्म आफूहरुको आन्दोलन नरोकिने जनाएको छ।