PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

देशभर बढ्यो चिसो : काठमाडौंसहित अधिकांश क्षेत्रको तापक्रम औसतभन्दा कम



पहिलोपोस्ट

देशभर बढ्यो चिसो : काठमाडौंसहित अधिकांश क्षेत्रको तापक्रम औसतभन्दा कम

काठमाडौं : देशभर अधिकांश क्षेत्रमा पछिल्लो केही हप्तादेखि अधिकतम तापक्रम औसतभन्दा कम देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागको अभिलेख अनुसार जाडो सुरु हुँदैगर्दा तापक्रम घट्नु स्वभाविक भए पनि पछिल्लो केही हप्ता ३० वर्षको औसत तापक्रमभन्दा कम हुँदा सर्वसाधारणले बढी चिसो महसुस गरेका छन्। एक्कासी चिसो बढ्दा बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्यमा असर पुग्नसक्ने हुँदा सावधानी अपनाउन भनिएको छ। 

अक्टोबर तेस्रो हप्तापछि गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाबाहेक अन्य प्रदेशमा अधिकतम तापक्रम सरदरभन्दा कम देखिएको विभागका वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले बताए। नोभेम्बर लागेपछि काठमाडौँमा न्यूनतम तापक्रम पनि घटेको उनले बताइन्। विराटनगर, धनकुटा, धरान ओखलढुङ्गा, जिरीमा न्यूनतम तापक्रम पनि घटेको छ। अधिकतम तापक्रम दिनमा र न्यूनतम तापक्रम रातमा मापन हुन्छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले अब पुनः जाडो तथा सुक्खायाममा हुने विपद्जन्य घटना बढ्ने सम्भावना रहेको बताए। तापक्रम घट्दै जाँदा मानिसले आगो बालेर ताप्ने, घरमा आगो बालेर छाड्नेलगायत क्रियाकलाप हुने र त्यसबाट आगलागीको सम्भावना बढ्नसक्नेतर्फ सचेत हुनुपर्ने उनले बताए। उनले आगलागी तथा डढेलोका घटनाहरु घट्न थालिसकेको बताए। केही अघि मात्रै महोत्तरीमा आगो ताप्दा शरीरमा आगो लागेर घाइते भएकी एक महिलाको बिहीबार मृत्यु भएको थियो।

औसतभन्दा तापक्रम घट्ने क्रम काठमाडौँ उपत्यकामा गएको अक्टोबर तेस्रो हप्तादेखि नै सुरु भएको हो। मुख्यतः उपत्यकामा भने अक्टोबर २६ बाट अधिकतम तापक्रम औसतभन्दा कम देखिँदै आएको छ। पछिल्लो समयमा भने न्यूनतम तापक्रमसमेत औसतभन्दा कम देखिन थालेको वरिष्ठ मौसमविद् डा कँडेलले बताए। हाल पोस्ट मनसुनकै समयमा चलिरहेकाले जाडोयामको आँकलन आउन बाँकी नै छ। आइतबारदेखि मौसम सुधार हुने देखिएकाले तापक्रम केही बढ्ने मौसमविद्को अनुमान छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell