PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

देवनन्दन देवराज माविमा प्रअ र वडाध्यक्षलाई थुनेर विद्यार्थीले गरे तालाबन्दी



राधेश्याम पटेल

देवनन्दन देवराज माविमा प्रअ र वडाध्यक्षलाई थुनेर विद्यार्थीले गरे तालाबन्दी

वीरगंज : पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीस्थित देवनन्दन देवराज नमुना माविका विद्यार्थीहरुले आज बिहानैदेखि विद्यालयमा तालाबन्दी गरेका छन्। विद्यालयका प्रधानाध्यापक मनोज कुमार श्रीवास्तव, वडा नम्बर ८ का वडाध्यक्ष पुनिलाल साह र विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्र पण्डितलाई प्रअकै कार्यकक्षमा थुनेर विद्यार्थीहरुले तालाबन्दी गरेका हुन्।

विद्यार्थीको तुलनामा विषयगत शिक्षक नभएको भन्दै शिक्षकको व्यवस्था मिलाउनु पर्ने माग गर्दै आन्दोलन गरिएको विद्यार्थीहरुले बताएका छन्। विद्यालयमा कक्षा १२ सम्म पढाई हुन्छ। प्लस टुमा शिक्षा र वाणिज्य संकाय चल्छ।

८४० विद्यार्थी रहेको विद्यालयमा ७ जना शिक्षकले मात्रै पढाउँदा आफूहरुको पढाई राम्ररी हुन नसकेको उनीहरुको गुनासो छ। नगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले प्रावि स्थायी शिक्षक मनोज सहनीलाई भंगी साह विश्रामपुरमा सरुवा गरेर पठाएपछि झनै अवस्था बिग्रेकोले बाध्य भएर विद्यार्थीहरुले आन्दोलनमा उत्रिनु परेको बताएका छन्।

कक्षा ११ की छात्रा बबिता कुमारी गोसाइले शिक्षक अभावको कारण ६ पिरियडमध्ये दैनिक २ पिरियड मात्र पढाई हुने गरेको र आफूहरुको भविष्यसँग खेलवाड भइरहेको बताइन्। उनी शिक्षक समस्याको बारेमा विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएपछि प्रअ तथा अन्य पदाधिकारीलाई थुनेर सडक जाम पनि गरेको स्पष्ट पारिन्।

यस विषयमा विद्यालयका प्रधानाध्यापक श्रीवास्तवले शिक्षक पदपूर्तिको सवालमा नगरपालिकाले सहयोग नगरेको बताउँदै विद्यालयको बजेट पनि विद्यालय व्यवस्थापन समितिले पूर्णता नपाउँदा नदिइएको आरोप लगाए। आफूले पटकपटक नगरपालिकालाई विद्यालयको समस्याबारे जानकारी गराउँदा पनि मेयर नितेन्द्र साह र प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद उप्रेतीले कुनै चासो नदिएर यस्तो अवस्था सिर्जना भएको श्रीवास्तवले आरोप लगाए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उप्रेतीले विद्यालयमा स्थानीयले राजनीति गरिरहेकोले विद्यार्थी उग्र भएको बताए। उनले सरुवा गरिएको शिक्षकले विद्यार्थीलाई उचालेर यस्तो गतिविधि गराएको बताए। उनले विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएपछि आफूहरुले विद्यालयको बजेट फुकुवा गर्ने बताए।

विद्यालयको मावि तहमा एक, निमावि तहमा २ र प्रावि तहमा ३ वटा दरबन्दी छ। केही शिक्षक करारमा नियुक्त रहे तापनि उनीहरुले तलब पाएका छैनन्। नगरपालिकाको बजेट रोकिएको छ भने पोखरी र खेतको टेण्डर पनि हुन सकेको छैन।

विद्यालय व्यवस्थापन समितिले पूर्णता नपाएर अध्यक्ष चयन हुन नसक्दा विद्यालयमा समस्या भइरहेको विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्र पण्डितले बताए। उनले नगर प्रमुख साहको कारण विद्यालय बर्बादीको दिशामा लागेको आरोप लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell