काठमाडौं : कुनै समय काठमाडौंको धोबीचौरमा ठूलो चौर थियो। सँगै थिए थुप्रै ढुंगेधाराहरु। विभिन्न आकृतिसहितको ती ढुंगेधाराले त्यस क्षेत्रमा बसोवास गर्ने मानिसको प्यासमात्रै मेटाउँदैन थियो। लामो समयदेखि त्यहीँ धोबी पेशामा संलग्न हुँदै आएको समुदायको जिविकोपार्जनको माध्यमसमेत थियो ती ढुंगेधाराहरु।
समयक्रमसँगै चौर वरिपरि थुप्रै घर बने। काठमाडौंमा शहरीकरण बढेसँगै ढुंगेधाराहरु मासिए। धोबीचौरमा रहेका ढुंगेधारा पनि शहरीकरणको सिकार बने। कति हराए। कति पुरिए। कति ढुंगेधारामाथि सडक बन्यो। केही धारा नाजुक अवस्थामा अझै पानीको लागि तिर्खाउँदैछन्। ढुंगेधारा मासिएसँगै त्यहाँ बसोवास गर्दै आएका धोबीको काम गर्दै आएका समुदायलाई पनि पानीको जोहो गर्न अप्ठ्यारो पर्दै गयो। यद्यपि, उनीहरुले आफ्नो पेशालाई निरन्तरता दिन भने छाडेनन्। ढुंगेधाराबाट पानी नआए पनि अन्य स्रोतबाट पानी ल्याएर उनीहरुले काम गरिरहेका छन्।
काठमाडौं महानगरपालिका वडा १७ स्थित धोबीचौरमा रहेको छ गा:हिति। बाह्रै महिना पानी नआएपनि खाल्डोमा रहेको यो ढुंगेधाराबाट कहिलेकाहीँ पानी रसाउने गर्छ। तर, संरक्षणको अभावमा रहेको उक्त ढुंगेधाराबाट पानी ल्याउन कुनै पहल भएको थिएन। अहिले भने गा:हितिबाट पानीको स्रोत पत्ता लगाउन र पानी ल्याउन लागेकी छिन् - मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ।
'मिस नेपाल २०२०' मा 'मिस नेपाल अर्थ - २०२०' टाइटल जितेकी सुप्रियाले यही नोभेम्बर २१ मा फिलिपिन्समा हुने 'मिस अर्थ' मा नेपालको प्रतिनिधित्व गदैछिन्। मिस अर्थको ‘इको प्रोजेक्ट’का लागि उनले काठमाडौंको ढुंगेधाराको अध्ययन गर्दै गा:हिति ब्युताउँने प्रयास गरेकी हुन्।
‘इको प्रोजेक्ट’मा वातावरणसम्बन्धी कुनै एउटा योजना प्रस्तुत गर्नुपर्ने हुन्छ। सुप्रियाले नेपालको वातावरणसम्बन्धी विभिन्न विषयहरुमा बुझ्दै जाँदा काठमाडौं उपत्यकामा पाइने मौलिक प्रविधिका हितिहरु सम्झिन्। र, पानी आउन छाडेको ढुङगेधारामा पानी ल्याउने योजना अघि सारिन्। धोबीचौरमा रहेको गा:हितिलाई आफ्नो इको प्रोजेक्टसँग जोडिन्। केही दिनमा नै हुने उक्त प्रतियोगितामा सुप्रियाले गा:हितिबाट पानी ल्याउन गरेको प्रयास र काठमाडौंका ल्वंहिति (ढुंगेधारा) का बारेमा रिपोर्ट प्रस्तुत गर्नेछिन्।
धेरै स्थानको ढुंगेधाराहरुको अध्ययनपछि उनले धोबीचौरमा रहेको गा:हितिलाई मिस अर्थमा देखाउने निधो गरेकी हुन्। अन्य स्थानभन्दा खाल्डोमा रहेको र संरक्षणबिहीन रहेकोले आफूले उक्त ढुंगेधारालाई रोजेको सुप्रिया सुनाउँछिन्। साथै, यस क्षेत्रमा बस्दै आएका धोबी पेशामा संलग्न समुदायको जिविकोपार्जन पनि यहींकै स्थानीय पानीको स्रोतसँग जोडिएकोले उनले गा:हितिलाई रोजेको बताइन्।
ढुंगेधारामा पानी ल्याउन यसअघि पनि त्यहाँ काम भएको थियो। तर, समयमा नै काम सम्पन्न हुन सकेको थिएन। जसकारण लामो समयसम्म काम रोकियो। यसैबिच सुप्रियाले वडा र स्थानीयसँग समन्वय गर्दै इको प्रोजेक्ट अन्तर्गत गा:हिति ब्युताउँने अभियान चलाएकी हुन्।
'यो क्षेत्रमा धोबी समुदायहरु बस्छन्। उनीहरुको जीवन धान्ने आधार नै पानी हो। पहिले उहाँहरुले कपडा धुन ढुंगेधाराको पानी प्रयोग गर्नुहुन्थ्यो। पछि त्यो पानी सुक्दै गएपछि उहाँहरुले पानी किनेर प्रयोग गर्नुपर्ने बाध्यता छ। फेरि पानी आयो भने उहाँहरुले पानी किन्नु पर्दैन। जसकारण यो क्षेत्र रोजेकी हुँ,' उनले भनिन्।
नेपाललाई सानो र गरिब देशका रुपमा मात्रै बाहिर चिनाउने गरिएकोमा त्यो सोचलाई ‘ब्रेक’ गर्न चाहन्छिन् सुप्रिया। त्यसैले पूर्खाहरुले मौलिक प्रविधि अपनाएर बनाएको ‘युनिक’ विषयलाई मिस अर्थमार्फत विश्वभर चिनाउने उनको अभियान छ।
पहिला काठमाडौँ उपत्यकामा पानीको मूल स्रोत भनेको जमिन रसाएको पानी थियो। मूल जुनसुकै बेला सुक्न सक्ने र बस्ती उजाड हुने डरले पूर्खाले राजकुलो निर्माण गरे। मल्लकालमा नगरकोटको महादेव पोखरीदेखि भक्तपुर दरबारभित्र राजकुलोको निर्माण गरियो। लेलेबाट पाटनमा र बुढानीलकण्ठबाट काठमाडौँमा राजकुलोहरू बनाइए। तिनै राजकुलोबाट अन्य ढुंगेधारा र पोखरीमा पानी सञ्चय गर्ने व्यवस्था गरिएको थियो।
सुप्रिया भन्छिन्, ‘ढुंगेधारा हाम्रो मौलिक प्रविधि हो। नेपाल के कुरामा अरु देशभन्दा अगाडि छ, हामीसँग के पृथक छ भनेर देखाउन पनि ढुंगेधारा बनाउने प्रोजेक्ट रोजेकी हुँ।’
विश्वमा पानीको स्रोत र मुहानलाई सदुपयोग गर्दै राजकुलोमार्फत ढुंगेधारा र पोखरीमा पानी संचय गर्ने प्रविधि नेपालमा प्राचीन कालमा विकास भएको र कालान्तरमा त्यसको महत्व घट्दै गएको उनको तर्क छ।
'पानी खेर जान नदिने गरी ठाउँठाउँमा ढुंगेधारा बनाइएको थियो। अहिले पनि ती ढुंगेधारा जीवित भएको भए काठमाडौंमा पानीको अभाव हुँदैन थियो। ढुंगेधाराले काठमाडौंको साँस्कृतिक र सामाजिक क्रियाकलापसँग प्रत्यक्ष सम्बन्ध राख्छ। धोबीचौरको ढुंगेधारा पुनर्निर्माण यही सम्बन्धलाई कायम राख्ने एउटा अभियान पनि हो,' उनले भनिन्।
दशैंअघि सुरु गरेको ढुंगेधारामा पानी ल्याउने काम अन्तिम चरणमा पुगिसकेको बताउँछिन् सुप्रिया। उक्त ढुंगेधाराको मूल पत्ता लगाउन स्थानीय र सुप्रियाको टोली हाल सफल भएको छ। छिट्टै धाराबाट पानी ल्याउन सम्भव हुने उनीहरुको लक्ष्य छ। काठमाडौं महानगरपालिका, वडा कार्यालय, द हिडन ट्रेजरलगायत स्थानीय उपभोक्ता समितिसँगको सहकार्यले यो प्रोजेक्ट सम्भव भएको उनले बताइन्। ढुंगेधारा निर्माण गर्न हालसम्म करिब २० लाख खर्च भइसकेको छ।
इको प्रोजेक्टका लागि फिल्डमै गएर स्थानीयसँग कुरा गर्दा थप हौसला मिलेको सुप्रिया बताउँछिन्। स्थानीयको सहयोग बिना यो प्रोजेक्टलाई विश्वमाझ प्रस्तुत गर्न सम्भव नहुने उनको मत छ।
भन्छिन्, 'यो काम देख्दा उहाँहरु धेरै खुसी हुनुहुन्छ। पानी किनेर जिविकोपार्जन गरिरहनु भएको थियो। अब फेरि पानी आउने भएपछि उहाँहरु निकै खुसी हुनुभएको छ। स्थानीयले पनि यो निर्माणको काममा सहभागिता जनाउनु भएको छ। साथै अन्य ढुङगेधाराको पुन: निर्माण गर्ने योजना छ।'
सम्पदा संरक्षण अभियानमा लाग्दै आएका आलोक तुलाधरका अनुसार धोबीचौर क्षेत्रमा पहिला करिब १७ वटा ढुंगेधारा थियो। अहिले भने ७ वटा ढुंगेधारा बाँकी छन्। तर तिनमा पानी आउँदैन। केही वर्षअघिसम्म धोबीचौरमा बाँकी रहेका ढुँगेधाराबाट ठुलो पानी आउने गरेको उनलाई सम्झना छ। तर अहिले भने पानी आउन छाडेको र कहिलेकाहीँ मात्रै पानी रसाउने गरेको उनले बताए।
इको प्रोजेक्टमा सुप्रियालाई सहयोग गरिरहेका तुलाधर यो योजनले ढुंगेधारा संरक्षणको महत्व विश्वमाझ फैलिनेमा आशावादी छन्।
सुप्रियाको ढुंगेधारा निर्माण गर्ने योजनालाई नमुना प्रोजेक्ट भन्दै उनले थपे, 'म सुप्रियाको उमेरको हुँदा यस्तो कुनै माहोल थिएन। सांस्कृतिक तथा ऐतिहासिक कुरामा चासो दिँदा परिवारबाट गाली मिल्थ्यो। तर अहिलेको समय बदलिएको छ। सुप्रियाजस्तो युवाहरुले पुरानो संस्कृति र परम्परासँग जोडिएको कुरामा चासो दिनु निकै राम्रो कुरा हो। यो एउटा नमुना प्रोजेक्ट हो। यसबाट पछि ढुंगेधारा संरक्षणमा बृहत योजनाको सुरुवात हुन सक्छ।'