PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

ए डिभिजन लिगमा आज दुई खेल



पहिलोपोस्ट

ए डिभिजन लिगमा आज दुई खेल

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लब आमनेसामने हुँदैछन्।

संकटा क्लबले यसपटक लिगको यही स्थानमा पुग्ने भनेर लक्ष्य तोकेको छैन। ‘हामी एभ्री डे बेसिसमा लक्ष्य निर्धारण गर्छौं,’ प्रशिक्षक विष्णु गुरुङले प्रतियोगिता अघिको पत्रकार सम्मेलनमा भनेका थिए। हिमालयन शेर्पा पनि सुखद सुरुवातको खोजिमा हुनेछ। खेल दिउँसो १ बजे सुरु हुनेछ।

त्यस्तै आजै हुने दोस्रो खेलमा उपाधि दावेदार थ्री स्टार र च्यासल युथ क्लब आमनेसामने हुँदैछन्। थ्री स्टारका प्रशिक्षक उर्जेन श्रेष्ठले प्रतियोगितामा सबै टोली बलियो भएको भन्दै आफ्नो लक्ष्य उपाधिमै रहने बताए।

बलिया खेलाडी भित्र्याउने होडमा रहेको अर्को क्लब हो च्यासल युथ क्लब। सकेसम्म टाइटल जित्ने नत्र शीर्ष चारसम्म अटाउने होडमा च्यासल रहेको बताउँछन् अघिल्लो सिजन मछिन्द्रको कप्तानी गरेका च्यासलका कप्तान विराज महर्जन।

प्रशिक्षक बालगोपाल साहुखल भने टिमको मोरल उच्च भएको भन्दै टिममा युवा खेलाडीको बाहुल्यता धेरै भएकाले उनीहरुबाट धेरै आशा नराखेको बताए। इटालियन खेलाडी विकास मेराग्लियालाई टिममा एडजस्ट गराइरहेको भन्दै अन्य विदेशी खेलाडी अनुभवी रहेको बताए।

नेपालको ‘ए’ डिभिजन लिगका सर्वाधिक गोलकर्ता रहेका सन्तोष साहुखल पनि लिगको मध्यतिर आउनसक्ने उनले बताए। गएको सिजन साहुखलले १०० गोल पूरा गरेका थिए।

च्यासल र थ्री स्टार साँझ पौने ५ बजे दशरथ रंगशालामा प्रतिस्पर्धामा उत्रने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell