काठमाडौं : स्वास्थ्य मन्त्रालयले सरकार-सरकार (जीटूजी) मार्फत् रसियाको गामालिया राष्ट्रिय अनुसन्धान संस्थाले उत्पादन गरेको स्पुतनिक-भी आयात गर्ने भएको छ।
मन्त्रालयले सिधै रसियाली संस्थालाई खोपको प्राविधिक विवरणलगायतका विषय खुलाएर प्रस्ताव पेश गर्न आग्रह गरेको छ। कोरोनाविरुद्ध खोप सहजीकरणका लागि सरकारले मूल्य, ढुवानी लागत र आपूर्तिकर्ताको क्षमता हेर्ने भएको छ। स्रोतका अनुसार सम्भवत सोमबारसम्म रसियाली कम्पनीले रसियाका लागि नेपाल राजदूतावासबाट सरकारले मागेको विवरण उपलब्ध गराउने जनाएको छ।
स्वास्थ्यले यसै साता रसियाली खोप ल्याउन आवश्यक सहजीकरण गर्नुका साथै खोप आयातका विषयमा प्रक्रिया थालेको थियो। नेपालले स्पुतनिक-भीको प्रयोग अनुमति दिइसकेको भएपनि विभिन्न कारणले आयात हुन सकेको थिएन।
तर, सरकारले अहिले भने आधिकारिक रुपमै खोप आयात गर्न इच्छा देखाएको छ। कोरोनाविरुद्धको रसियाली खोप ल्याउन लोमस फर्मास्युटिकल्सले पनि प्रयास गरेको थियो। त्यो प्रक्रिया सफल हुन सकेको थिएन।
कोरोना संक्रमणले महामारीको रुप लिँदा सरकारले अनुदानका खोप पर्खनुको सट्टा आफैं खोप खरिद गर्दै जाने नीति पनि लिएको थियो। अरू कम्पनीसँग प्रक्रिया अघि बढ्दा रसियाली खोप भित्र्याउने मामिलामा भने नेपाल ढिला देखिएको छ।
जीटूजीबाट खोप ल्याउन स्वास्थ्य मन्त्रालयले गत साउन २१ मा औषधि व्यवस्था विभागका महानिर्देशकलाई पत्र लेख्दै रिलायन्स ट्रेड एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रालिले आवश्यक सहजीकरण गर्ने आशय साथ लेटर अफ इन्टेन्ट (एलओआइ) माग गरेको भन्दै काम अघि बढाउन अनुरोध गरेको थियो।
मन्त्रालयको उक्त पत्र माथि सम्बोधन गर्दै साउन २७ मा विभागले रिलायन्ससँग भ्यासिनको मूल्य र संख्या, आयात गर्ने समयसीमा, उत्पादकबाट प्रमाणीकरण पत्रलगायतका विवरणहरु माग गरेको थियो।
प्रक्रिया अघि बढ्दा बढ्दै केपी ओली नेतृत्वको सरकार परिवर्तन भएर देउवा प्रधानमन्त्री भएपछि रसियन खोप आयात गर्ने काम प्राथमिकतामा परेको थिएन। अहिले भने सरकार यसलाई प्राथमिकतामा राखेर छिटोभन्दा छिटो खोप ल्याउन अग्रसर देखिएको छ।
स्पुतनिक-भीमा रसियाली उत्पादकले ग्यारेन्टी खोजेको थियो। त्यसपछि केही समय यो विषय छायाँमा पर्दै आएको थियो। नेपाल सरकारले सुरुको खोप नेपाल ल्याएर यहीँ खोप उत्पादन गर्न आग्रह गरेको र उपकरणसहित प्राविधिक दक्षता उपलब्ध गराउन तयार रहेको स्रोतले जनाएको छ।
नेपाल सरकारले आवश्यक ग्यारेन्टी र सहजीकरण गरिदिए रसियाली संस्थाले नेपालमा वार्षिक १० करोड डोज खोप उत्पादन गर्ने प्लान्ट नै स्थापना गर्न तयार रहेको बताइएको छ। खोप उत्पादन गर्न आवश्यक कच्चा पदार्थ र तालिम रुसी संस्थाले नेपाललाई दिन तयार रहेको बताइएको छ।
नेपाल सरकारले नै केही लगानी गर्न तयार भए उत्पादकसमेत साझेदारी गर्न तयार रहेको बताइएको छ। नेपालमै प्लान्ट राखेर स्पुतनिक उत्पादन भए प्रति डोज दुई अमेरिकी डलर हाराहारी मात्रै पर्ने स्रोतले जनाएको छ। रसियाली प्राविधिकका अनुसार प्लान्ट ९० दिनभित्र तयार हुन सक्छ।
कोरोना महामारीको प्रभाव कहिलेसम्म लम्बिने यकिन नभएकाले सधैं मित्र राष्ट्रहरुको सहयोगमा खोप भित्र्याउन नहुने खोप आयातकर्ताहरुले जोड दिँदै आएका छन्। खोप उत्पादन आफैंले गर्न सके कुनै समय पुन: संक्रमण उकालो लागे नियन्त्रणमा सहयोग पुग्नेछ।
स्पुतनिक-भी भ्याक्सिन कोरोनाविरुद्ध ९२ प्रतिशत प्रभावकारी हुने मेडिकल जर्नल 'द ल्यान्सेट'ले उल्लेख गरेको छ। भारतले भ्याक्सिन सम्बन्धी जानकारी दिन बनाइएको वेबसाइट 'कोविन पोर्टल' मा गत मे १४ बाट स्पुतनिक-भी समावेश गरेको थियो। नेपालमा भने अहिलेसम्म यो खोप आइपुगेको छैन।
रूसी खोप १२ वर्ष उमेर माथिले लगाउन सक्नेछन भने खोपको प्रभावकारिता २ वर्ष रहेको दाबी उत्पादकको छ। रसियाली संस्थाले यसअघि इबोलाविरुद्धको खोप निर्माणमा सक्रिय भूमिका खेलेको थियो।