PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

महाधिवेशनका लागि चितवनका ठाउँठाउँमा स्वागतद्वार बनाउँदै एमाले



पहिलोपोस्ट

महाधिवेशनका लागि चितवनका ठाउँठाउँमा स्वागतद्वार बनाउँदै एमाले

चितवन : नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको लागि चितवनमा तयारी सुरु भइसकेको छ। हाल जिल्लाको ठाउँठाउँमा स्वागतद्वार निर्माण भइरहेको छ। महाधिवेशनमा देशभरबाट आउने प्रतिनिधि, पर्यवेक्षक र पार्टी नेता कार्यकर्तालाई चितवनमा स्वागत गर्न स्वागतद्वार निर्माण सुरु गरिएको आयोजकले जनाएको छ।

चितवन प्रवेश गर्ने नाकाहरु इच्छाकामना गाउँपालिकाको मौवाखोला, मुग्लिन, राप्ती नगरपालिकाको लोथर, भरतपुर महानगरपालिकाको पुल्चोकलगायतका स्थानमा स्वागतद्वार निर्माण भइरहेको नेकपा एमाले १०औँ राष्ट्रिय महाधिवेशन प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जानकारी दिए। उनका अनुसार पूर्वपश्चिम राजमार्गका विभिन्न ठाउँ, बाइपास सडक, नारायणगढ मुग्लिन सडक, पश्चिम चितवन र पूर्व चितवनका विभिन्न सडकमा पनि स्वागतद्वार निर्माण हुनेछन्।

स्वागतद्वार निर्माणको जिम्मा पार्टीका विभिन्न कमिटी, भातृ संगठन र संघसंस्थाहरुलाई दिइएको सुवेदीले बताए। स्वागतद्वार निर्माणमा लाग्ने खर्च पनि संगठनहरुले नै बेहोर्नेछन्। सबै स्वागत द्वारहरु एकै प्रकृतिका हुने र महाधिवेशन झल्किने खालको हुने सुवेदीको भनाइ छ।

महाधिवेशनमा सहरी सौन्दर्यतालाई ख्याल गर्दै तोकिएको स्थानमा मात्रै तुल ब्यानरहरु टागिने उनले बताए।

नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ। १० गते नारायणी नदी किनारमा उद्घाटन सत्र र ११ गतेदेखि सौराहामा बन्दसत्र हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell