PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एक कार्यकाल एक्टिभ हुन चाहन्छु : युवराज ज्ञवाली, ‘अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष भन्दा तल हुँदैन’



प्रकाश भण्डारी

एक कार्यकाल एक्टिभ हुन चाहन्छु : युवराज ज्ञवाली, ‘अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष भन्दा तल हुँदैन’

काठमाडौं : नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवाली २०४६ सालदेखि एमालेको केन्द्रीय सदस्य छन्। २०५६ सालदेखि स्थायी कमिटीमा रहँदै आएका ज्ञवाली ८औँ महाधिवेशनमा सचिव र ९औँ महाधिवेशनमा उपाध्यक्षमा निर्वाचित भएका थिए। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद उत्कर्षमा पुग्दा उनी अध्यक्ष केपी शर्मा ओलीको विरुद्धमा उभिए।

एमाले विभाजन अघिसम्म पनि उनी वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा थिए। १० बुँदे सहमति गरेर पार्टी विभाजनका बेला नेपाललाई साथ नदिएका उनी लगायत १० नेताको अहिले एमालेभित्र अस्तित्व संकटमा छ। एमालेको आसन्न महाधिवेशनमा उनीहरूको स्थान कहाँ हुन्छ भन्ने अन्योल छ। अध्यक्षमा ओली नै दोहोरिने निश्चित भए पनि अरू पदको टुंगो छैन।

महाधिवेशन आउन केही दिनमात्रै बाँकी रहँदा पनि नेताहरूले पदाधिकारीमा दाबी गरेका छैनन्। यस्तो अवस्थामा ओली इतरका नेताहरू महाधिवेशनमा के गर्छन्? यसै विषयमा युवराज ज्ञवालीसँग पहिलोपोस्टकर्मी प्रकाश भण्डारीले प्रश्न गरेका छन्।

महाधिवेशनको मुखमा तपाईँहरूले पार्टीभित्र के छलफल गरिरहनुभएको छ?

फरक पार्टीसँग जित र हारको प्रतिस्पर्धा हुन्छ। जसरी पनि अर्को पार्टीलाई पराजित गर्नुपर्ने हुन्छ। जित्नका लागि अनेक प्रकारका हत्कण्डाहरु प्रयोग गर्नुपर्छ। तर, आन्तरिक प्रतिस्पर्धा मित्रताको हुन्छ। हारे पनि पार्टीमै बस्ने हो, जिते पनि पार्टीमै बस्ने हो। अधिवेशन सकिएपछि आपसमा मिलेर काम गर्नुपर्ने अनिवार्य हुन्छ। पार्टी भनेको परिवार जस्तै हो। अन्तर्विरोध परिवारमा हुन्छ। त्यस्तै पार्टीमा पनि अन्तर्विरोध हुन्छ तर बढी समझदारीमा हुन्छ। सकेसम्म पार्टीभित्र सहमतिको वातावरण बन्नुपर्छ। यसलाई सकेसम्म समझदारीमा गर्नुपर्छ। सहमति र समझदारी हुनुपर्‍यो।

पार्टीभित्रको प्रतिस्पर्धालाई भिन्न पार्टीसँगको प्रतिस्पर्धा जस्तो व्यवहार गरिन्छ भने त्यसले गलत दिशामा लैजान्छ। हिजो हामीले ९औँ महाधिवेशनमा प्यानल बनाएर प्रतिस्पर्धा गरेका थियौं। त्यसको प्रभाव लामो समयसम्म पर्‍यो र अन्ततः पार्टी विभाजन भयो। वास्तवमा विभाजनको पृष्ठभूमिमा जाने हो भने ९औँ महाधिवेशनमा प्यानलगत रूपमा प्रतिस्पर्धा गर्दा त्यो एउटा महत्त्वपूर्ण कारण बन्यो। त्यसले यसलाई ध्यानमा राखेर यसपटक अधिकतम रूपमा सहमतिको प्रयास गरौँ भनेर सोचिरहेका छौँ।

अर्कोतिर, एमालेभित्र तीन वटा फ्याक्टरले काम गरिरहेको छ। पहिलैदेखि रहँदै आएको संस्थापक एउटा फ्याक्टर छ। अर्को १० बुँदे सहमति र माओवादीबाट आएको पक्ष छ। यद्यपि तीनै वटा एमालेमै मिलेर काम गरिरहेका छन्। यति हुँदाहुँदै पनि भावनात्मक रूपमा तीनवटा पक्ष छ। यो रियालिटी हो। भन्दाखेरि त एउटै पार्टी हो। यो भावनात्मक पक्षलाई पनि एड्रेस गर्न सकिएन भने त्यसको परिणाम नेतृत्व असन्तुलित हुन्छ। कुनै एउटा पक्ष आउट हुने र अर्को पक्ष आउट भएर जाने हुन्छ। कहाँ जान्छ भन्दा अहिले जुन समाजवादी पार्टी छ माधव नेपाल नेतृत्वको त्यहाँ जान्छ। त्यो पार्टीले महाधिवेशनमा बढीभन्दा बढी अन्तर्विरोध बढोस् भनेर भूमिका खेलिरहेको छ। त्यो स्वाभाविक पनि हो फरक पार्टी भइसकेपछि। अर्कोतिर माधव नेपालसँग गएका मानिसहरू छन् तिनीहरू पनि यहाँ आउन सक्छन्।

त्यसैले केन्द्रीय कमिटीमा सहमति हुन सक्दैन भने पनि पदाधिकारीमा सहमति गर्नुपर्छ। सानो १५ जनाको टिम पनि छ। पदाधिकारी भनेको सिनियर मोस्टहरुको टिम पनि हो। आकांक्षी धेरै छन् तर त्यसमा सहमति गर्न सकिन्छ। अहिले केन्द्रीय कमिटीको पनि आकांक्षी धेरै छन्। यसो हुँदा पुरै सन्तुष्टि त नदेखिएकाला तर एक खालको सन्तुष्टि देखिन्छ। अन्तर्विरोधहरूलाई न्यूनीकरण गरेर आउने चुनावहरूमा फेस गर्नका लागि पार्टीलाई एकताबद्ध गर्न जरुरी छ।

अधिकतम सहमति भनेको त केपी ओली नै अध्यक्ष भन्ने होला। त्यसो भए एमालेमा ओलीबाहेक कोही नेता नै छैन, पार्टी हाँक्ने?

हामीले नीति, विधि र सिद्धान्तबारे विधान महाधिवेशनबाट टुंगो लगाएका छौँ। राष्ट्रिय महाधिवेशनमा त को किन आउन हुन्छ? किन आउनु हुँदैन भनेर बहस हुँदैन। त्यहाँ त प्रतिनिधिहरूले जसलाई चुन्छन् त्यसले नेतृत्व गर्छ। लगभग २ हजार प्रतिनिधिले जसलाई मन पराउनेछन् त्यो नेता हुने हो। तिनीहरूले या त प्रतिस्पर्धाबाट गर्नेछन् वा अर्को सहमतिबाट।

प्रतिनिधि छनोट र अधिवेशन धेरै ठाउँमा सर्वसम्मत भयो। महाधिवेशनमा पनि त्यहीँ त हुने होला?

अहिले के देखिएको छ भने धेरै ठाउँमा सर्वसम्मत नेतृत्व चयन भएको छ। पार्टीव्यापी रूपमा एमाले सामान्य अवस्थामा छैन विशिष्ट अवस्थामा छ भन्ने छ। एमाले विभाजित भएको छ। दोस्रो, एमालेविरुद्ध पाँच दलीय गठबन्धन छ। गठबन्धन सम्पूर्ण रूपमा एमालेलाई पराजित गर्नुपर्छ भनेर लागिरहेको छ।

त्यस बारेमा विपक्षी पार्टीका नेताहरू मिलिरहेका छन्। एमालेलाई कमजोर गराउनका लागि हामी मिलेर अघि बढ्नुपर्छ भनेर उनीहरूले घोषणा नै गरिसके। यद्यपि एमालेको जनाधार छ एमालेको अहिले पनि यो देशको सबैभन्दा ठूलो पार्टी हो। एमालेले अब चुनावमा सकेसम्म बहुमत ल्याउनका लागि सबैभन्दा उत्तम उपाय के हो भने आन्तरिक एकतालाई बलियो गर्नुपर्छ। आम कार्यकर्तामा त्यो महसुस भएको छ। त्यस कारण वडा अधिवेशन र पालिकामा अधिकांश ठाउँमा सहमति भएर आएको छ। सर्वसम्मतिबाट आएको भनेको त सबैले चाहेको हो। केही केही ठाउँमा असन्तुष्टि पनि देखिएका छन्। केही ठाउँमा गडबडी पनि देखिएका होलान्। केही ठाउँमा बदमासी भएको, जबरजस्ती लादिएको कुराहरू पनि आइरहेका छन्। तर त्यो थोरै ठाउँमा मात्रै देखिन्छ। त्यहाँभित्र पनि विभिन्न फ्याक्टरहरू छन्। प्रतिनिधि के चाहन्छन् भने सहमति चाहन्छन्। यो बेलामा सकभर सहमति गरौँ भन्ने छ। सहमति गर्दा योग्यता र क्षमतालाई आधार बनाउनुपर्‍यो।

पहिला व्यापक आलोचना गर्नुभयो, अहिले ओली नै ठिक भन्न थाल्नुभएको छ। ओली सुध्रिसक्नु भयो भन्ने हो तपाईँहरूको धारणा?

सानो परिवारमा त अन्तर्विरोध हुन्छ। यो त ठूलो पार्टी हो। यहाँ अन्तर्विरोध नहुने कुरा भएन। पार्टी भनेको विशाल हो। यसमा त झनै हुन्छ। तर कुरा के हो भने अन्तर्विरोध के नेतृत्वलाई नमान्ने तहसम्मको हो त? नेताहरूलाई अस्वीकार गर्नेसम्मको हो त? घरमा अन्तर्विरोध हुँदा मुली मान्छेलाई नमान्नेसम्मको अन्तर्विरोध हो कि होइन भन्ने हेर्नुपर्ने हुन्छ। कतिपय अवस्थामा अस्वीकार गर्नुपर्ने अवस्था पनि हुन्छ। नेताहरूका असन्तुष्टि हुन्छन्। मेरा कुरा, अरूका कुरा नमिल्न सक्छन्। विगतको समीक्षा गर्दा अन्तर्विरोध हुन सक्छन्। संसद् विगठन गर्नु ठिक कि बेठिकभन्दा फरक धारणा हुन सक्छन्। विगतमा पार्टी किन विभाजित भयो भन्ने फरक-फरक दृष्टिकोण हुन सक्छन् तर अब पार्टी कसरी चलाउने। नीति, सिद्धान्त र विधिमा त हाम्रो फरक छैन। मार्गदर्शक सिद्धान्त के हो? हाम्रो लक्ष्य के हो। यसमा त सहमत छ नि। मूलभूत कुरामा असहमति होइन। असहमति हुनसक्छ विगतका कुरामा समीक्षा गर्ने क्रममा, केही ससाना कुरामा, कार्यशैलीका कुरामा अन्तर्विरोध हुन सक्छन्।

महाधिवेशनमा स्वाभाविक रूपमा उहाँको बढी चर्चा छ। उहाँको विपक्षमा कोही उठ्नै हुँदैन भन्ने हो त? त्यो त होइन। विधानले त हामीलाई प्रतिस्पर्धा गर्ने छुट दिएको छ। तर, हामी के ठानिरहेका छौँ भने अध्यक्षलगायतका पदाधिकारीहरू यो महाधिवेशनमा, यो विशेष परिस्थितिमा सहमतिमा गरौँ भन्ने आम धारणा छ। अध्यक्षको पनि यही धारणा हो। मेरो पनि यहीँ धारणा हो। यसलाई कसरी गर्छौँ भन्ने बेग्लै कुरा हो।

१० बुँदे सहमति अनुसारको जिम्मेवारी नदिने ओलीले पदाधिकारीको पद दिनुहुन्छ त?

१० बुँदे सहमति अधिकांश ठाउँमा लागू भइसक्यो। केही ठाउँमा समस्या देखियो, त्यो पनि मुख्यगरी सुदूरपश्चिममा। अब हामी महाधिवेशनमा जाँदै छौँ। विधान महाधिवेशन सकिसकेको छ। परिस्थिति कता गइसक्यो भन्दा १० बुँदेलाई लागू गर्नेभन्दा महाधिवेशनलाई कसरी चलाउने, महाधिवेशनमा नेतृत्व कसरी गर्ने भन्ने अर्को ठाउँमा हामी पुगिसक्यौँ। १० बुँदे सहमतिलाई हेक्का राख्नुपर्छ महाधिवेशनमा पनि। माओवादीबाट आएका साथीहरू एमाले भएर आउनुभएको छ त्यो कुराको पनि हेक्का राख्नुपर्छ। तर यसलाई हामीले गुटको रूपमा समूहका रूपमा लिनु हुँदैन।

पार्टी भित्रका नेताका रूपमा मूल्याङ्कन गरेर पार्टी लिडरसिप कसरी गर्ने भन्ने उपाय सोच्नुपर्छ त्यो उपाय भनेको को हो भन्दा निश्चित मापदण्ड बनाउनुपर्छ। मापदण्ड बनाइयो भने असन्तुष्टि पनि हुँदैन। मापदण्ड नबनाई व्यक्ति व्यक्ति अनुसार जानुभयो भने समाधान हुँदैन। हलमा सोध्नुपर्छ मापदण्ड बनाएर। यस्तो हाम्रो अभ्यास पनि छ। पाँचौँ महाधिवेशनमा अन्तिममा ठूलो सङ्ख्याले उम्मेद्वारी दर्ता गरे। मनमोहन अधिकारीलगायतका केही नेताहरूले उम्मेद्वारी नै दर्ता गरेनन्। दर्ता गर्नै जानुभएन। समस्या भयो अब पार्टी त विभाजित हुने भयो। पाँचौँ महाधिवेशनमा त पार्टी फुट्छ भन्ने अवस्था थियो।

कार्यकर्ताले दबाब दिए तपाईँहरू मिल्नुस् भने। मदन भण्डारीलाई दबाब दिए, सिपी र झलनाथ खनाललाई दबाब दिए। अन्तिममा के भयो भन्दा त नेताहरू बस्नुभयो र लिस्ट तयार पार्नुभयो। हलमा ताली बजाएर पास भयो। त्यो टेन्सन खुसीसाथ समाधान भयो। नेतृत्वको खुबी यहाँनिर देखिन्छ। महाधिवेशनमा जसरी नेतृत्वको खुबी देखियो, समस्या थियो त्यतिबेला मतदान गर्नेबेलामा नौलो जनवादमा भोट हाल्ने कि सामाजिक जनवादमा। सामाजिक जनवादमा भोट त परेन। एर्कोतिर जनताको बहुदलीय जनवाद र परिमार्जित जनवाद थियो। प्रतिनिधि तीनतिर बाँडिए। विचारमा भोट हाल्दाखेरि त अल्पमतमा परेका नेताहरू त नआउने भए। तर, पछि विचारमा त्यसो भए पनि नेतृत्व मिलाएर लानुपर्छ भन्ने भयो। हलले भन्यो विचार पास भइसक्यो नेतृत्व मिलाएर लैजानुपर्छ।

मोहनचन्द्र अधिकारी, सानु श्रेष्ठ जस्ता नेताहरूमा पनि माओवादी खालको जनवादको पक्षमा हुनुहुन्थ्यो। मदन भण्डारीले जनताको बहुदलीय जनवादको विपक्षमा रहेका मनमोहन अधिकारीलाई अध्यक्ष मान्नुभयो। एकातिर सिपी झलनाथ परिमार्जित जनवादको पक्षमा हुनुहुन्थ्यो। त्यो पार्टीलाई एकताबद्ध बनाएर लानुभयो। यद्यपि उहाँ ५१ सालमा बित्नुभयो। पछि ५१ सालमा चुनाव हुँदा एकलौटी एमालेको सरकार बन्यो। यस्तो बेलामा नै नेतृत्वको खुबी देखिने हो।

माधव नेपाल र झलनाथ खनालले तपाईँहरूलाई आत्मसमर्पण गरेको आरोप लगाइरहेका छन्। अब कहिलेसम्म बस्ने यसरी?

हामीले बुझेको सिद्धान्त भनेको नीति प्रधान हो, नेता प्रधान होइन। हामी व्यक्ति हेरेर अनुहार हेरेर लागेको होइन। व्यक्तिको पछि लागेको होइन पार्टीको पछि लागेको हो। व्यक्तिसँग कहिले सहमत भइएला कहिले असहमत भइएला यद्यपि एउटै पार्टीभित्र बस्दा सहमत असहमत हुन सकिएला। माधव नेपालले ८औँ महाधिवेशनमा केपी ओलीलाई अध्यक्ष मान्नुभएको थियो। हामीले त झलनाथलाई अध्यक्ष मानेका थियौँ। फेरि ९औँ महाधिवेशनमा आउँदा केपी र माधव आपसमा भिडने स्थिति बन्यो। परिस्थिति अनुसार व्यक्ति त फेरिरहन्छ। पार्टी त रहिरहन्छ। हिजो झलनाथ र माधवलाई मान्दा व्यक्तिलाई मानेको होइन पार्टीलाई मानेको हो। झलनाथ र माधव नेपालसँग विषयवस्तु मिल्यो। पछिल्लो कालमा पार्टी एक बनाउने कि नबनाउने भन्ने विषयमा त केपीसँग विचार मिल्यो।

माधव नेपालले पार्टी फुटाउनुपर्छ भन्नुभयो म लगायतका केही साथीहरू पार्टी फुटाउन हुँदैन भनेर पार्टीभित्रै बस्नुपर्छ भनेर लाग्यौँ। हिजो संसद् विघटन गरेको बेलामा माधवसँग कुरा मिल्यो। यसरी संसद् पुनर्स्थापन भइसकेपछि एजेन्डा त सकियो। हाम्रो कुरा त संसद् पुनर्स्थापन हुनुपर्छ भन्ने थियो। पार्टीमा कसरी काम गर्ने भन्दा त १० बुँदे सहमति अनुसार गर्ने भन्ने भयो।

एमालेमा ओलीविरुद्ध उभिन सक्ने नेता नै देखिन्न तर कांग्रेसमा सभापतिका उम्मेद्वार नै धेरै छन्। अब कांग्रेसबाट पो सिक्ने कि?

एमालेमा अध्यक्ष,उपाध्यक्ष, महासचिव, सचिव हुनसक्ने नेताहरूको ठूलो पङ्क्ति छ। अर्थात् एमालेभित्र क्षमतावान् नेताहरूको पङ्क्ति छ। तर अध्यक्ष एक जना र पदाधिकारी १५ जना हुन्। कांग्रेसमा अली बढी खुल्ला रूपमा जाने प्रचलन छ। हामीहरूमा भित्री रूपमा को अगाडि को पछाडि भनेर प्रतिस्पर्धा आन्तरिक रूपमा त हुन्छ बाहिर कम देखिन्छ। खासगरि महाधिवेशनका प्रतिनिधिहरूले के निर्णय गर्छन् भन्ने बढी महत्त्वपूर्ण हुन्छ। जसले चुन्ने हुन तिनीहरू चुप लागेर बस्ने जसले उम्मेद्वारी दिने हुन् उनीहरू हल्ला गरेर हिँडनुको तात्पर्य हुँदैन।

कांग्रेसमा बाहिर बढी प्रचारप्रसार गर्ने चलन छ। कम्युनिस्टभित्र भित्री सहमति गर्ने चलन बढी छ। यसभन्दा एमाले आन्तरिक लोकतन्त्र छैन भन्ने होइन। हामी त चौथो महाधिवेशनदेखि नेतृत्व चयन गर्दैछौँ। अलिकति उहाँहरूको परिपाटी र हाम्रो फरक चाहिँ छ तर आन्तरिक रूपमा हेर्दाखेरि उहाँहरूको भन्दा हाम्रो राम्रो छ। जबरजस्ती हुँदैन हाम्रो पार्टीमा।

महाधिवेशनमा तपाईँको दाबी कुन पदका लागि हो?

४६ सालदेखि हरेक महाधिवेशनमा केन्द्रीय कमिटीमा म निर्वाचित भएर आएको छु। ५६ सालदेखि स्थायी कमिटी, ८औँ महाधिवेशनमा सचिव र ९औँ महाधिवेशनबाट उपाध्यक्ष छु। मेरो उमेर ६८ वर्ष भइसक्यो। अर्को महाधिवेशनमा कार्यकारी पदमा उठ्ने मेरो विचार पनि छैन। उमेर ७० वर्ष कट्ने भएकाले विधानले पनि मिल्दैन।

म एक कार्यकाल एक्टिभ हुन चाहन्छु। उपाध्यक्ष भएको मान्छे फेरि तल आएर बस्ने इच्छा त हुँदैन। तर पनि मैले केमा उठ्ने भनेर डिक्लेयर गरेको छैन। यसका लागि सरसल्लाह पनि गर्नुपर्‍यो। अध्यक्षसँग पनि सरसल्लाह गर्नुपर्‍यो। अरू साथीहरूसँग पनि सल्लाह गर्नुपर्‍यो। म आन्तरिक परामर्शमा छु। म उपाध्यक्ष भएको हुनाले योभन्दा तल म उठ्ने कुरा हुँदैन। तीनवटा कुरा हुन्छ। या त वरिष्ठ उपाध्यक्ष, अध्यक्ष या यथास्थानमा हुन्छ। त्यसमा फेरि महाधिवेशनका प्रतिनिधिले के गर्ने हुन् त्यो त आफ्नो ठाउँमा छ। निर्णायक त महाधिवेशनका प्रतिनिधि हुन्, म त होइन। समय भएको भए एउटा अवस्था हुन्थ्यो। मेरो काम गर्ने भनेको एक कार्यकाल हो। उठ्नै पर्ने स्थिति आयो भने उपाध्यक्ष भन्दा तल हुँदैन।

तपाईँको दाईभाई अलग पार्टीमा हुनुहुन्छ, बोलचाल छ कि छैन?

मेरो दुई वटा परिवार छ। एउटा निजी, अर्को पार्टी परिवार। मैले निजीभन्दा पार्टी परिवार ठूलो ठानेँ। किन ठानेँभन्दा खाइपाइ आएको हेडमास्टरको जागिर आज भन्दा ३०/४० वर्ष अगाडि पञ्चायतको बेलामा जुन बेला बहुदल आउँछ कि आउँदैन भन्ने थाहा थिएन त्यस्तो बेला छोडेर पार्टीमा लागेँ। जानिबुझीकन घर, परिवार छोराछोरी, जवान श्रीमती, बुढा आमाबुबा र हेडमास्टरको जागिर चटक्कै छोडेर आज मरिन्छ कि भोलि मरिन्छ भन्दै लागेँ। आज जेल हाल्छ कि भोलि जेल हाल्छ भन्ने खतरा ब्यहोरेर आजसम्म नाफाको जिन्दगी बाँचियो। त्यसकारण मेरा लागि पार्टी ठूलो छ। देश ठूलो छ।

मेरो परिवारका मान्छेहरू पनि मेरै कारणले गर्दा राजनीतिमा लागे, जेल परे। जागिर छोडे। जागिर र नोकरी गरी जीवन बिताउन सक्थे। मेरा भाईहरू भए पनि उनीहरू भनेको पार्टीका कार्यकर्ता हुन्। पारिवारिक रूपमा दाजुभाईको सम्बन्ध छ। राजनीतिक रूपमा कमरेडको सम्बन्ध हुन्छ। पारिवारिक सल्लाह भइरहन्छ।

पहिला एमाले विभाजन हुँदा पनि कान्छो भाइ मालेतिर लागे। रामकुमार र म एमालेतिर लाग्यौँ। अहिले फेरि कान्छो भाई र म पार्टी विभाजन गर्न हुन्न भनेर एमालेमा लाग्यौँ। रामकुमार यहाँ बस्न सकिँदैन भनेर एकीकृत समाजवादीमा गयो। कुराकानी त हुन्छ। के छ हालखबर भन्ने हुन्छ। हाम्रो पारिवारिक सम्बन्ध रहिरहन्छ। तिक्तता छैन। फरक पार्टी हौँ भन्ने त बुझिरहेका हुन्छौँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell