काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा ब्रिगेड बोइज क्लबले विभागीय टोली एपीएफलाई चुनौती दिनेछ।
अघिल्लो वर्ष रेलिगेशन जोनमा संघर्ष गरेको विभागिय टोली एपीएफले यसपटक पनि साख जोगाउनै संघर्ष गर्नेछ। प्रशिक्षक कुमार थापाले लिग सुरु हुनु अघिको पत्रकार सम्मेलनमा आफ्नो रेकर्डलाई सुधार्ने लक्ष्य रहेको बताएका थिए। अघिलो सिजनमा केही ग्याप देखिएको बताउँदै त्यसलाई सुधारेर लैजाने थापाले बताए। त्यस्तै, कप्तान तोप विष्टले तयारी राम्रो भएको भन्दै शीर्ष ८ सम्म अटाउने लक्ष्य रहेको बताए।
राम्रा विदेशी खेलाडीहरु र युवा खेलाडीहरुको कम्बिनेशन आफ्नो टिममा रहेको बताउँछन ब्रिगेड बोइज क्लबका कप्तान अनिल गुरुङ। उनले युवा खेलाडीबाट धेरै आशा गरिएको बताए।
एपीएफ र ब्रिगेड बोइज १ बजे रंगशालामा प्रतिस्पर्धामा उत्रने छन्।
त्यस्तै दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लब र जावलाखेल युथ क्लब भिड्नेछन्।
नेपालको लिगमा सर्वाधिक सफल मानिएको क्लब हो मनाङ मर्स्याङदी क्लब। कात्तिक ३ गतेबाट तयारी थालेपनि बीचमा चाडवर्वलगायतले अभ्यासमा अफ्ठ्यारो परेको प्रशिक्षक राजेन्द्र तामाङले बताएका थिए। उनले अनुभवी खेलाडीसँग टीम बलियो भएको भन्दै उपाधिका लागि प्रतिस्पर्धा गर्ने बताए।
अर्कोतर्फ जावलाखेल शीर्ष चारमा अट्ने लक्ष्य राखेको छ जावलाखेल युथ क्लबले। 'यसपटकको लिगमा जावलाखेल युथ क्लबले शीर्ष चारमा अटाउने लक्ष्य राखेको छ,' प्रशिक्षक किशोर कुमार केसीले भने। यसपटक विदेशी खेलाडी पनि राम्रो भएको उनले बताए।
जवलाखेल र मनाङ साँझ पौने ४ बजे दशरथ रंगशालामा आमनेसामने हुनेछन्।
