काठमाडौं : पछिल्लो समय कपिलवस्तुका विभिन्न पालिकामा फैलिएको हैजा नियन्त्रणमा नआएपछि सरकारले खोप अभियान चलाउन थालेको छ। जिल्लाका ६ पालिकामा हैजा विरुद्धको खान मिल्ने खोप अभियान चलाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पहिलोपटक असोज १८ गते कृष्णनगरमा हैजा पुष्टि भएको थियो। सुरुमा झाडापखलाका विरामी फेला परेकोमा परीक्षणका क्रममा हैजा पुष्टि भएको थियो। हालसम्म हैजाका कारण एक हजार ३७३ जनामा संक्रमण पुष्टि भइसकेको छ। साथै हैजाकै कारण ६ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ताले जानकारी दिए।
हैजा पुष्टि भएपछि नियन्त्रणमा आउन समय लागेकोले हैजा विरुद्धको खोप अभियान चलाउन लागिएको उनले जानकारी दिए। सरकारले हैजा विरुद्धको खोप उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गरेको थियो। सोही अनुरुप २ लाख ५२ हजार ३६३ मात्रा खोप प्राप्त भएको प्रवक्ता पौडेलले जानकारी दिए।
'आज देखि पाँच वटा पालिकामा एक वर्ष पूरा भएका सबैलाई यो खोप लगाउने अभियान सुरु गरिएको छ,' प्रवक्ता पौडेलले भने, 'यो खोप दुई मात्रा पूरा गरेको एक हप्तापछि काम गर्ने र पाँच वर्षसम्म काम गर्छ। खोप लिइसकेपछि पनि सफा खानपानी खाने तथा सरसफाईमा ध्यान दिनुपर्छ।'
मंसिर ५ देखि १५ गतेसम्म अभियान संचालन गरी जिल्लाका कृष्णनगर, योशोधरा, महाराजगंज, शिवराज र विजयनगर गाउँ तथा नगरपालिकाका सबै वडामा संचालन गरिने उनले जानकारी दिए।
पहिलो मात्रा खोप खाएको १४ दिन पछि दोस्रो मात्रा दिइनेछ। दोस्रो मात्रा वितरण गर्ने मिति स्वास्थ्य कार्यालय कपिलवस्तुले तय गर्नेछ।
यो खोप एक वर्ष माथिका सबै उमेर समूहका व्यक्तिहरु, कुपोषण भएका व्यक्तिहरु, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु
गर्भवती तथा स्तनपान गराइरहेका महिलाहरु तथा कोभिड-१९ लागेर निको भएका व्यक्तिहरुलाई दिइनेछ।
यो खोप एक वर्ष मुनिका बालबालिकाहरु, पखला लागेका र ज्वरो आएका व्यक्तिहरुले भने खान मिल्दैन। त्यस्तै पहिलो मात्रा खोप खाँदा कुनै प्रतिक्रिया देखिएमा दोस्रो मात्रा खान नमिल्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो खोप लिएपछि सामान्य असरहरु, हल्का ज्वरो आउने, पेट दुख्ने, वाकवाकी वा पखला लाग्ने, चिलाउने, स-साना बिमिरा/खटिरा आउने जस्ता असरहरु देखिन्छन्।
