PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एमाले महाधिवेशनको तामझाम बढ्दै गर्दा प्रचण्ड किन छन् लगातार चितवन दौडाहमा?



विधुर ढकाल

एमाले महाधिवेशनको तामझाम बढ्दै गर्दा प्रचण्ड किन छन् लगातार चितवन दौडाहमा?

काठमाडौं : नेकपा (एमाले)ले मंसिर १० देखि १२ सम्म चितवनमा १० औं महाधिवेशन आयोजना गर्दैछ। यतिखेर तीब्र तयारी चलिरहेको छ - उद्घाटन स्थल निर्माणदेखि स्वागतद्वार निर्माणसम्म। एमालेको महाधिवेशन चितवनमा हुनु र नेकपा माओवादी केन्द्रका अध्यक्षको दौडाह बाक्लिनुबिच कुनै 'कनेक्सन' त छैन? 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को गृह जिल्लामा एमालेले पार्टीको महाधिवेशन आयोजना गर्नुको अर्थ प्रचण्ड विरुद्ध एमालेको रणनीतिक प्रहार पनि हो। सुरुमा बुटवलमा आयोजना गर्ने बताइएको महाधिवेशन प्रचण्डलाई नै लक्षित गरी चितवनमा सार्ने निर्णय लिए पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरे। 

त्यसो त एमालेको महाधिवेशन चितवनमा आयोजना गरिनु आफ्ना लागि फाइदाको कुरो भएको सार्वजनिक टिप्पणी गरेका छन् प्रचण्डले। सार्वजनिक खपतका लागि प्रचण्डले यस्तो अभिव्यक्ति दिए पनि राजनीतिक रुपमा असर पुर्‍याउनसक्ने आँकलन उनले नगरेका होइनन्।  

त्यसैले पछिल्लो समय प्रचण्डको चितवन दौडाहा बाक्लिँदै गएको छ। शनिवारमात्र देशैभरका वडा अधिवेशनको भर्चुअल रुपमा उद्घाटन गरेर रौतहट पुगेका प्रचण्ड त्यतैबाट चितवन पुगेका छन्। 

पछिल्लो पटक प्रचण्ड कार्तिक ९ गते पनि चितवन पुगेका थिए। उनले त्यतिबेला चुनावी अभियानजस्तै गरी घरदैलो गर्न भ्याए। ९ गते चितवन पुगेका उनले १० गते शहीद परिवारसँग भेटघाट गरे। माओवादी जनयुद्धका क्रममा मृत्यु भएकी शारदा श्रेष्ठको घरमै पुगेर उनले शहीद तथा वेपत्ताका परवारलाई अहिलेको सरकारले प्याकेजमार्फत् राहतको व्यवस्था गर्ने तयारी गरेको जानकारी दिए।

त्यतिबेला उनले शहीदहरु ऋषि रेग्मी, शिवहरि तिमिल्सिना, रामकृष्ण तिमिल्सिना लगायतका परिवारसँग भेट गर्दै शहीद परिवारलाई पार्टीलाई जनमुखी बनाउनका लागि डटेर लाग्न आग्रह गरेका थिए।

‘म यही क्षेत्रको जनप्रतिनिधि भएकाले यस क्षेत्रको विकास निर्माणमा लागि परेको छु। यसका लागि तपाईँहरु सबैको साथ, सहयोग र सहभागिताको अपेक्षा यसैगरी रहिरहने विश्वास लिएको छु,’ शहीद परिवारलाई सम्बोधन गर्दै उनले भनेका थिए।  

प्रचण्ड त्यसको अर्को दिन माडीको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र सोमेश्वरगढी पुगे। मर्निङवाक गर्दै सोमेश्वर गढीको अवलोकन गर्न पुगेका थिए उनी। उनीसँगै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, प्रहरी प्रमुख ओमप्रसाद अधिकारीसहित भरतपुर महानगरकी मेयर रेणु दाहाल, माडी नगरपालिका मेयर ठाकुरप्रसाद ढकालले पनि मर्निङ वाकमा साथ दिएका थिए। 

यो त्यही क्षेत्र हो जहाँ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीले राम जन्मभूमि घोषणा गर्दै राम जानकीको मन्दिर स्थापना गराएका छन्। 

सोही दिन माडीको बाँदरझुलामा पुगेर चुनावी प्रतिवद्धताहरु नभुलेको र पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे उनले। त्यहाँ नागरिकता वितरण कार्यक्रम आयोजना गरे प्रचण्डले।

‘मैले भूमिसुधार मन्त्री र राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई भनिसकेको छु - ठोस योजना बनाएर लालपूर्जा वितरण गर्नुस्,’ उनले अगाडि भने, ‘रिउ करिडोरमा तटबन्धन, दर्जन बढी नदीहरुमा पक्की पुल र सडक कालोपत्रेको काम धमाधम भइरहेको छ। सकुम्बासी बस्ती हनुमान झुलामा बिजुली बत्ती विस्तारको काम भइरहेको छ। अब छिट्टै यस क्षेत्रमा बिजुली बल्छ।’

१२ गते भरतपुर अस्पतालले आयोजना गरेको अन्तर्क्रियामा सहभागि भए प्रचण्ड। कार्यक्रमको शीर्षक नै थियो-  ‘चितवनको स्वास्थ्य सरोकारमा क. प्रचण्ड’। सोही दिन प्रचण्ड भरतपुर महानगरले आयोजना गरेको चियापान तथा कार्यकर्ता भेटघाटमा उनी सहभागी भए। उनले प्रचण्डसँग ओली अत्तालिएर माडीमा रामसीताको नाममा राजनीति गर्न थालेको आरोप लगाए। 

प्रचण्डलाई हराउनकै लागि चितवनमा महाधिवेश गर्न लागेको भन्दै ओलीले जति खेदे पनि चितवनबाटै चुनाव लडेर विजयी भएर देखाउने उद्घोष गरेका थिए प्रचण्डले। 

महिना दिन नपुग्दै प्रचण्ड पुन: चितवन पुगेका छन्। शनिवार चितवन पुगेका उनले त्यहाँ पुगेर विप्लवसँग चुनावी गठबन्धन हुने घोषणा गरे। शनिवार बिहानमात्र खुमलटार स्थित आफ्नो निवासमा विप्लवसँग भेट गरेर उनी रौतहटका लागि निस्किएका थिए। 

‘विप्लवजीसँग उहाँहरुले तीन बुँदे सहमति गरेदेखि नै मेरो पटकपटक भेट भएको छ। गम्भीर कुराकानी पनि भएकै हो। तर, पार्टी एकता भइहाल्ने भन्ने ठाउँमा पुगेको चाहिँ होइन,’ शनिवार चितवनमा पत्रकारहरु माझ उनले भनेका थिए, ‘सहकार्य गरेर जानुपर्छ अब बिस्तारै परिवर्तनका एजेन्डालाई अझ सुदृढ गर्दै सहकार्य गर्दै एकतातर्फ पनि सोच्नुपर्छ भन्नेसम्मको समझदारी भएको चाहिँ हो। तर, सहमति नै भइसकेको होइन। निर्वाचनमा मिलेर जाने भन्ने विषयमा निर्णय नै नभए पनि सहकार्य गरेर गइन्छ, भन्ने चाहिँ पक्का भएको छ।‘ 

अझ केही दिन चितवनमै बस्ने प्रचण्ड सोमवार भरतपुर महानगरपालिकाको कार्यक्रममा सहभागी हुनेछन्। 

भरतपुर महानगरपालिकाले प्रचण्डको अगुवाईमा समृद्ध भरतपुरका लागि विकास बहस आयोजना गर्दै छ। सो कार्यक्रममा मन्त्रीहरुसँगै विभिन्न मन्त्रालयका सचिव तथा विभागका महानिर्देशकहरु सहभागी हुँदैछन्। 

कार्यक्रममा ऊर्जामन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले र विना विभागीय राज्यमन्त्री उमेश श्रेष्ठसहित मन्त्रालयका सचिव र महानिर्देशक कार्यक्रममा सहभागी हुने भरतपुर महानगरपालिकाका मेयर दाहालले जानकारी दिइन्।

सो बहस कार्यक्रममा भरतपुर विमानस्थलको विस्तार, नारायणी नदीमा तटबन्धन, धुर्मुस सुन्तली फाउन्डेशनले बनाइरहेको क्रिकेट रंगशाला निर्माणलाई निरन्तरता दिने, शक्तिखोरमा निर्माण हुन लागेको ओद्योगिक क्षेत्र। भरतपुर महानगरमा निर्माण हुन लागेको सिटी हल लगायतका विषयमा छलफल हुने बताइएको छ। सिटी हल भरतपुर महानगरको अगुवाईमा निर्माण थालिए पनि प्रतिनिधिसभा विघटन पछि तत्कालीन नेकपा एमाले विभाजन उन्मुख हुँदा ओली पुगेर महानगरको समन्वयविना शिलान्यास गरेका थिए। 

त्यस्तै, धुर्मुस सुन्तली फाउन्डेशनले बनाइरहेको रंगशाला निर्माण रकम अभावका कारण रोकिएको छ। उनीहरु ऋण लागेको भन्दै गुनासो गर्दै आएका छन्। रंगशाला निर्माण सरकारले लिएर सम्पन्न गर्नुपर्ने आवाज उठिरहेको छ। कार्यक्रममा यस विषयमा पनि सम्बोधन हुनेछ। 
चितवनको निर्वाचन क्षेत्र ३  प्रचण्डको चुनावी क्षेत्र हो। भरतपुर महानगरका अधिकांश वडा र माडी नगरपालिका यसै निर्वाचन क्षेत्रमा पर्छन्। प्रचण्ड अहिले चुनावी अभियान जस्तै यस क्षेत्रमा केन्द्रित हुन थालेका छन्। 

केन्द्रीय राजनीतिको केन्द्रमा रहँदा रहँदै पनि प्रचण्ड विरुद्ध उनकै चुनावी क्षेत्रमा विपक्षीले धावा बोल्न थालेपछि प्रचण्डको चितवन दौडाह बढेको माओवादी केन्द्रका चितवनका एक जिल्ला नेता बताउँछन्।  

‘राजनीतिको केन्द्रमा रहेपछि अध्यक्षमाथि चौतर्फी प्रहार हुन थालेको छ। त्यसलाई चिर्न पनि आवश्यक छ। पार्टीको अध्यक्ष भएपछि देशभरका चुनावी क्षेत्र हेर्न त पर्‍यो नै। आफ्नो चुनावी क्षेत्रमा पनि केन्द्रित हुनुपर्ने अवस्था आयो,’ ती नेताले भने, ‘प्रचण्डलाई चुनावमा हराउन सक्यो भने ठूलो उपलब्धी हुने ठानेर एमाले लागेको छ। त्यसैले पनि महाधिवेशन गर्दै छ। यसले क्षति पुर्‍याउन सक्छ भन्ने आँकलन पनि हो। त्यसलाई निस्तेज पार्न पनि उपस्थिति बढाउन परेको हो।‘ 

अहिले भइरहेका विकास निर्माणका कामलाई ओझेलमा पारेर प्रचण्डलाई खुइल्याउन ओली लागि परेकोसमेत उनले आरोप लगाए।

‘हामीले गरेका कामहरु जनतालाई पुर्‍याउन पनि प्रचण्ड यहाँ आउनुपर्छ। प्रचण्डका कारण चितवनको विकास कति फड्को मारेको छ भन्ने पनि हो,’ उनले भने, ‘त्यसैले पनि प्रचण्डलाई केन्द्रित गरेर कार्यक्रम गरिएको हो।’

प्रचण्ड विरुद्ध चितवनमा एमालेले पूर्व माओवादी नेता रामबहादुर थापा ‘बादल’लाई उतार्ने तयारी गरिरहेको छ। बादलले पनि यसअघि नै प्रचण्ड विरुद्ध चुनावमा उत्रिने घोषणा गरेका छन्। अर्कोतिर ओलीले राप्रपाका नेता विक्रम पाण्डेलाई प्रचण्ड विरुद्ध उतार्ने योजनाका साथ भित्रभित्रै पाण्डेलाई पार्टी प्रवेश गराउने विषयमा छलफल समेत चलाएका छन्। 

‘अहिले जति पनि षड्यन्त्रहरु भइरहेका छन्, ति सबै षड्यन्त्रहरुलाई चिर्न पनि अध्यक्ष कमरेड अब केही समय चितवन आइरहनुहुन्छ। सोही अनुरुप स्थानीय पार्टीले कार्यक्रम तय गरिरहन्छ,’ ती नेताले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell