PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

द्वन्द्वका क्रममा भएका कमजोरी छानविन गरी सार्वजनिक गर्न प्रतिवद्ध छौँ : प्रचण्ड



पहिलोपोस्ट

द्वन्द्वका क्रममा भएका कमजोरी छानविन गरी सार्वजनिक गर्न प्रतिवद्ध छौँ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे माओवादी जनयुद्धका क्रममा भएका कमी कमजोरीहरुको छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रतिवद्ध रहेको बताएका छन्।

विस्तृत शान्ति सम्झौताको १५ वर्ष पुगेको अवसरमा प्रचण्डले वक्तव्य जारी गर्दै यस्तो प्रतिवद्धता जनाएका हुन्।

‘आजसम्मका राजनैतिक उपलव्धीहरुप्रति गर्व गर्दै सो क्रममा भएका कमी कमजोरीहरुको छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न हामी प्रतिवद्ध छौं,’ प्रचण्डले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यस मामला सरकारको मात्र मामला नभइ राज्यको मामला हो। यसर्थ यस विषयमा आजका दिनसम्म सत्ता पक्ष र प्रतिपक्ष एकमत छौं र बाँकी काम सम्पन्न गर्न पनि प्रतिवद्ध र एकतावद्ध हुने कुरामा कुनै द्विविधा छैन भन्ने हामी सम्वद्ध सबै पक्षलाई विश्वास दिलाउन चाहन्छौ।‘

शान्ति सम्झौताको यस अवधिमा नेपाली समाजका समस्याहरुलाई सम्बोधन गर्न राज्यको अग्रगामी पुनर्संरचना, लोकतन्त्रलाई संस्थागत गर्ने समावेशी समानुपातिक सहभागितामा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरी ऐतिहासिक रुपमा आदिवासी जनजाति, महिला, दलित, मुस्लिम, अल्पसंख्यक तथा युवाहरुको भुमिका बढाउने प्रयत्नमा उल्लेखनीय सफलता हासिल गरेको प्रचण्डले बताएका छन्। ‘ती सफलताप्रति हामीलाई गर्व छ। यो प्रक्रियामा योगदान गर्ने सबैलाई हार्दिक बधाई,’ प्रचण्डले भनेका छन्।

उनले नेपाली सेनाको लोकतान्त्रिकरण र जनमुक्ति सेनाको समायोजनको काम सम्पन्न भइसकेको भन्दै शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको द्वन्द्वकालीन घटनाको सत्यतथ्य छानविन गरी मेलमिलापको वातावरण तयार गर्न सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानविन आयोगहरु गठन भई कार्यरत रहेको बताएका छन्।

उनले युद्धलाई शान्तिमा रुपान्तरण गर्ने ऐतिहासिक काम सम्पन्न भए पनि सो अवधिमा घटेका घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न, पीडितहरुलाई परिपुरण र संक्रमणकालीन न्यायको मान्यतामा आधारित छानविनको प्रकृयाबाट टुङ्गोमा पुर्‍याइ समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी रहेको समेत बताएका छन्।

प्रचण्डले शहीद तथा वेपत्ता परिवार, घाइते, विस्थापित लगायतका पीडितहरुसँगको परामर्शमा अन्तर्राष्ट्रिय मापदण्डको परिपालना गर्दै, नेपाली मौलिकतामा विधेयकलाई परिमार्जन गरी आगामी अधिवेशनमा टुङ्गोमा पुराउन र शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न प्रतिवद्धतासमेत जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell