चितवन : नेकपा एमालेको चितवनमा हुन गइरहेको १०औँ राष्ट्रिय महाधिवेशनको तयारीका काम तीव्ररुपमा अगाडि बढिरहेको छ। महाधिवेशन सफल पार्न जिल्लामा निर्माण गरिएका समितिहरुले आफ्ना कामहरु तीव्र रुपमा अगाडि बढाइरहेको जनाएका छन्।
महाधिवेशनलाई सम्पन्न गर्नका लागि चितवनमा जनपरिचालन, आर्थिक प्रबन्ध, प्रचार, कार्यालय समन्वय, अनुगमन, यातायात प्रबन्धलगायतका समितिहरु निर्माण गरेर काम अगाडि बढाइरहेको सम्बन्धित समितिले जनाएका छन्।
आर्थिक प्रबन्ध समितिका संयोजक जगन्नाथ (जेएन) थपलियाले आर्थिक प्रबन्ध समितिलाई पूर्णता दिएर व्यवस्थित ढंगले योजना बनाउँदै अगाडि बढेको जानकारी दिए। उनका अनुसार पार्टी पङ्क्तिभित्र र पार्टीका शुभेच्छुकहरुसँग मात्रै आर्थिक संकलन गर्नेगरी काम भइरहेको छ।
त्यस्तै कार्यालय समन्वय समितिका संयोजक एवं नेकपा एमालेका केन्द्रीय सदस्य कपिल पोखरेलले समितिलाई आज पूर्णता दिइने बताए। उनका अनुसार महाधिवेशन प्रतिनिधिहरुलाई बेलुकाको खाना उनीहरु बस्ने होटलमा नै र बिहानको खाना बन्दसत्र स्थल होटल सेभन स्टार सौराहा हुँदैछ।
मंसिर ११ गते बेलुकाको खाना पार्टी अध्यक्ष केपी शर्मा ओलीले आयोजना गर्नुभएको भन्दै संयोजक पोखरेलले सबै प्रतिनिधिहरुलाई पार्टी अध्यक्ष ओलीको तर्फबाट सेभेन स्टारमा नै रात्रिभोजको आयोजना भएको जानकारी दिए।
प्रचार सहयोग समिति चितवनले स्वागतद्वार निर्माण, कार्यालय व्यवस्थापन, सूचना सम्प्रेषण, प्रचारका सामग्रीहरुको वितरण तथा व्यवस्थानको काम भइरहेका समितिका सचिव तिलकराम रिमालले जानकारी दिएका छन्। चितवन जिल्लामा मात्र १६ वटा स्वागतद्वार निर्माणको काम सुरु भइसकेको भन्दै सचिव रिमालले जिल्लाका मुख्य राजमार्ग र सहायक राजमार्गमा गरी ३५ वटा स्थानम स्वागतद्वार निर्माण गरिने जानकारी दिए।
त्यस्तै, जनपरिचालन समितिका संयोजक देवी ज्ञवालीले महाधिवेशनमा व्यापक जनसहभागिता जुटाउने हिसाबले कामलाई तीव्रता दिइएको दाबी गरे। महाविधेशनमा जिल्लाबाट सकेसम्म धेरै जनता उतार्ने गरी पालिका र वडाहरुमा समन्वय गरिरहेको उनले बताए।
नेकपा एमालेको महाधिवेशन उद्घाटनसत्रमा सहभागी हुनका लागि चितवनबाट मात्रै ६०० भन्दा बढी सार्वजनिक सवारीसाधन प्रयोग गरिने यातायात प्रबन्ध समितिका संयोजक कृष्ण भुर्तेलले जानकारी दिए। महाधिवेशनमा व्यापक रुपमा जनसहभागिता गराउँदै उद्घाटन स्थलमा जनसागर उतार्नका लागि पालिका र वडाको कमिटीसँग समन्वय भइरहेको उनको भनाइ छ।
महाविधेशन उद्घाटनका दिन मुख्य राजमार्गमा सवारीको चाप बढी हुने भएकाले यातायात व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग निरन्तर समन्वय भइरहेको भुर्तेलले बताए।
महाधिवेशन उद्घाटनका दिन चितवनमा आउने सवारीसाधनलाई विभिन्न स्थानमा व्यवस्थापन गरिने तयारी एमालेले गरेको छ। उनका अनुसार केन्द्रीय बसपार्क, वागीश्वरी क्षेत्र, वीरेन्द्र क्याम्पसको नौ बिघा चौर, नेपाल ट्रष्टको कार्यालय बेलचोक, आँपटारीदेखि गोन्द्राङसम्मका विभिन्न स्थानमा सवारीसाधन पार्किङ व्यवस्था गर्ने गरी काम भइरहेको छ।
नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ सम्म चितवनमा हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र नारायणगढको नारायणी नदी किनारमा हुनेछ भने बन्दसत्र सौराहाको होटल सेभेन स्टार हुँदै छ। होटल सेभेन स्टारमा बन्दसत्रका लागि हल निर्माणको काम भइरहेको छ।
