काठमाडौंः नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सबै प्रकारका खेलकुद क्षेत्रको विकासका लागि अनुकूल भूगोल भएको मुलुक भएको बताएका छन्। पार्टी निकट नेपाल खेलकुद महासंघले आइतबार काठमाडौंमा गरेको खेल नीति सम्मेलनमा ओलीले खेलाडीहरुलाई उत्कृष्ट प्रर्दशनका लागि अधिकतम अभ्यास गर्न पनि आग्रह गरे।
अध्यक्ष ओलीले एमालेले लिएको खेलकुद नीति सही, व्यवहारिक र उन्नतस्तरको हुनुपर्ने बताएका छन्। एमालेले बनाउने हरेक नीतिमा सावधानी अपनाउनु पर्ने पनि उनले बताए। अध्यक्ष ओलीले एमालेले हरेक क्षेत्रको विकासका लागि सही नीति लिएको दावी समेत गरे।
ओलीले खेलका तरिका र शिक्षाहरुलाई पनि अभ्यासमा लगिएन भने काम नलाग्ने भन्दै खेलाडीहरुलाई अभ्यास खेलमा ध्यान दिन आग्रह गरे।
उनले भने, ‘खेलको सम्बन्धमा हाम्रो भूगोल, हाम्रो प्रकृति खेलका लागि, सबै प्रकारणका खेलका लागि इन्डोर्स गेम, आउटडोर्स गेम अथवा अरु एडमेन्चर गेमहरु, अलिक जोखिमयुक्त देखिने खालका गेमहरु, यस्ता बलले खेलिने गेमहरु, यी सबै गेमहरुमा हामी पछाडि पर्नुपर्ने कुनै कारण छैन। हामी सही नीतिहरु तय गर्दछौं।’
ओलीले खेलकुद क्षेत्रका विज्ञहरुसँग परामर्श गरेर विकासमा केन्द्रित हुन पनि महासंघका पदाधिकारीहरुलाई निर्देशन दिए। खेलाडीको मनोबल बढाउन पनि खेलकुद क्षेत्रका दर्शकहरुको संख्या बढाउनु पर्ने उनको जोड छ।
