बैतडीः बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका–६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नंको जीप दशरथचन्द राजमार्गको गोठलापानी-झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका–४ कलुवाड मोडमा दुर्घटनामा परेको हो।
जीपमा सवार रहेका सात जनामध्ये पाँचजनाको घटनास्थलमा नै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुने सबै दशरथचन्द नगरपालिका -६ का रहेका छन् । दशरथचन्द नगरपालिका–६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको मृत्यु भएको खड्काले बताए।
दुर्घटनामा परेर दशरथचन्द नगरपालिका–६ का ४८ वर्षीय हर्कबहादुर चन्द र जीप चालक डडेल्धुराका ४० वर्षीय दीपक माली गम्भीर घाइते भएका छन्।
उनीहरुलाई थप उपचारका लागि डडेल्धुरा लगिएको छ । राति साढे आठ बजेतिर जीप सडकबाट सात सय मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस
