स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले ग्रानडामाथि जित निकालेको छ। लस कारमेनेस स्टेडियममा सम्पन्न खेलमा मड्रिडले घरेलु टोलीमाथि ४-१ गोलअन्तरको फराकिलो जित निकालेको हो।
खेलको १९ औं मिनेटमा टोनी क्रुसको पासमा मार्को एसेन्सियोले गोल गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए। त्यस्तै क्रुसकै पासमा नाचोले २५ औं मिनेटमा अग्रता दोब्बर बनाए। उता घरेलु टोलीका लुइस सुवारेजले ३४ औं मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काउन चाहे। पहिलो हाफमा मड्रिड २-१ गोलअन्तरले अघि रह्यो।
दोस्रो हाफमा लुका मोड्रिचको पासमा भिनिसियस जुनियरले मड्रिडका लागि गोल थपे। उनले खेलको ५६ औं मिनेटमा गोल गरेका थिए। उता घरेलु टोलीका म्याक्सिम गोनालुस रेडकार्ड खाँदै बाहिरिए। ७६ औं मिनेटमा फेरल्याण्ड मेन्डीले मड्रिडका लागि गोल थप्दा घरेलु टोलीमाथि रियलले ४-१ को जित सुनिश्चित गर्यो।
जितसँगै मड्रिड १३ खेलबाट ३० अंक जोडेर तालिकाको शीर्षस्थानमा छ। दोस्रो स्थानामा रहेको रियल सोसिडाडको १४ खेलबाट २९ अंक छ।
