PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

साविक विजेता मछिन्द्रलाई एनआरटीको चुनौती



पहिलोपोस्ट

साविक विजेता मछिन्द्रलाई एनआरटीको चुनौती

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगको आज हुने दोस्रो खेलमा साविक विजेता मछिन्द्र क्लब र न्युरोड टिम (एनआरटी) भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल पौने ५ बजे सुरु हुनेछ।

नेपाल सुपर लिगमा चम्किएका विदेशी खेलाडीहरुलाई भित्र्याएर सन्तुलित टिम बनाएको एनआरटी यसपटक लिगमा जुनसुकै टिमलाई बलियो चुनौती दिनसक्ने टिम हो। प्रशिक्षक राजकाजी शाक्य अभ्यास गर्ने मैदान भनेजस्तो नभए पनि अरु तयारी राम्रो भएको लिगअघिको पत्रकार सम्मेलनमा बताएका थिए।

‘तयारी एकदम राम्रो भएजस्तो लाग्छ। अगाडि खेल्ने खेलाडी राम्रो छ। कम्बिनेसनमा जोड गरिरहेका छौं’, प्रशिक्षक राजुकाजी शाक्यले भने, ‘ट्राइ गर्ने त टाइटल नै हो। नत्र शीर्ष ४ सम्मको लक्ष्य हो।’

उता मछिन्द्र क्लबको लक्ष्यछ उपाधि रक्षा गर्ने। अघिल्लो सिजन उत्कृष्ट प्रदर्शन गरेको मछिन्द्र क्लबले यसपटक पनि राष्ट्रिय टोलीमा पकड जमाएका खेलाडीहरुलाई टीममा राखेको छ। अझ अट्याकिङमा खेलाडी अनुबन्धन हेर्दा मछिन्द्र बलियो देखिन्छ। मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल आफ्नो लक्ष्य उपाधि रक्षा रहने बताउँछन्।

‘उपाधि जोगाउन कठिन हुन्छ भनेर फर्वाड टिममा धेरै राखेका छौं। स्टार खेलाडी धेरै हुँदा सकारात्मक नतिजा दिन सहज हुन्छ,’ उनले भने।

आज हुने पहिलो खेलमा १ बजे त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell