PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

१८ वर्षको उमेरमा क्षेत्रीय प्रतिनिधि बनेकी उषा भन्छिन् : गुटमा लाग्दिन, युवा चाहिन्छ भनेर राजनीतिमा आएँ



रिना थापा

१८ वर्षको उमेरमा क्षेत्रीय प्रतिनिधि बनेकी उषा भन्छिन् : गुटमा लाग्दिन, युवा चाहिन्छ भनेर राजनीतिमा आएँ

पोखरा : राजनीतिमा युवाको उपस्थिति बहसकै विषय हो। राजनीतिक दलमा युवाको सहभागिता उल्लेख्य देखिने गरेपनि नेतृत्व तहमा भने नगण्य उपस्थिति छ। पाका नेताहरुलाई काँध हाल्ने समूह निर्णायक तहमा नहुँदा युवा नै विचार विमर्श छन्। नेतृत्व तहलाई उनीहरु प्रश्न सोधिरहेका छन् : हाम्रो पालो कहिले आउँछ।  

यसबिच अहिले राजनीतिक दललाई महाधिवेशनको चटारो छ। पाका नेताहरुलाई पार्टीमा आफ्नो स्थान सुनिश्चित गर्न धौधौ परिरहेको बेला उनीहरुलाई चुनौती दिँदै मैदानमा होमिने भने कमै छन्। तर, केही भने पार्टीमा युवाको उपस्थितिलाई बलियो बनाउन लागिपरेका छन्।

कांग्रेसको १४ औं  महाधिवेशनमा पनि नयाँ पुस्ताको आर्कषण उत्साहजनक रुपमा देखिएको छ। जारी महाधिवेशन युवाका लागि अवसर बनिरहेको छ।

बागलुङकी उषा सापकोटा कांग्रेस महाधिवेशनका क्रममा उदाएकी त्यस्तै एक पात्र हुन्। वर्षले १८ पुगेकी उनी बाल्यकालदेखि नै राजनीतिमा चासो राख्थिन्। महाधिवेशनलाई अवसर बनाउँदै उनले राजनीतिमा युवाको नगण्य उपस्थिति देखेर आफैं मैदानमा होमिने निर्णय गरिन्। राजिनितिक जीवनमा चालेको पहिलो कदममा नै उनले सफलता पनि हासिल गरिन्।

शनिवार बागलुङमा भएको प्रदेश सभा अधिवेशनमा उषा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भइन्। १८ वर्षको उमेरमा नै उनले पाएको सफलताको कांग्रेसभित्र र बाहिर पनि उत्तिकै चर्चा छ।

काठेखोला गाउँपालिका–५ की उषा क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’बाट २८६ मत ल्याएर क्षेत्रीय प्रतिनिधिका रुपमा निर्वाचित भएकी हुन्। यसै वर्ष कांग्रेसको क्रियाशील सदस्य भएकी उनले कांग्रेसमा लामो समयदेखि क्रियाशील रहँदै आएकी सीता थापालाई पराजित गरेकी हुन्। उनी वडाबाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएकी थिइन्।

राजनीतिमा युवाको कम उपस्थिति नै उषाको राजनीतिक यात्राको मुख्य कारण हो। भन्छिन्, ‘राजनितिमा युवाको उपस्थिति कम लाग्यो। युवा चाहिन्छ नै भनेर राजनीतिमा खुट्टा टेकेको हो। युवाको नयाँ सोचले अलिकति भएपनि देश विकास हुन्छ।’

पारिवारिक पृष्ठभूमि

किशोरावस्थारमै राजनीतिक यात्रामा लागेकी उषालाई राजनीतिक चेतना परिवारको सदस्यबाटै मिलेको हो। उनको पारिवारिक पृष्ठभुमि नेपाली कांग्रेससँगै जोडिएको छ।

उषाका बुवा राजु सापकोटा नेविसंघ बागलुङका पूर्वसभापति हुन्। त्यसैकारण पनि उनको घरमा राजनीतिक व्यक्तिहरुको आवतजावत राम्रै हुन्थ्यो। घरकै वातावरणले उनीमा राजनीतिक चेतना बढायो।

‘बाल्यकाल देखिनै वातावरण त्यस्तै बन्यो। घरमा आउने व्यक्ति र उहाँहरुको कुराबाट प्रभावित हुन्थे,’ उनले भनिन् ।

अहिले उनका बुवाले राजनीति छाडेर जिल्लामै कृषि उद्योग संचालन गरिरहेका छन्। राजु सापकोटा छोरीको राजनितिक यात्राले गति लिएकोमा खुशी सुनिन्छन्।

काठमाडौं मोडेल कलेजमा कानुन विषयमा अध्ययनरत उषाले भर्खर कक्षा १२ को परिक्षा दिएर बसेकी हुन्। नतिजाको प्रतीक्षामा रहेकी उनी दशैं अघिमात्र काठमाडौंबाट घर पुगेकी थिइन्। काठमाडौंमा पढ्दै बसिरहेकी उनले यस अगाडी पार्टीको कुनै तहमा बसेर काम गरेको अनुभव बटुलेकी छैनन्।

‘पढाई नै प्राथमिकतामा राख्छु। अहिलेलाई पार्टीलाई गर्न योगदान आफ्नो स्थानमा हुन्छ,’उनले भनिन्।

क्षेत्रीय प्रतिनिधि जितेकी उनले गण्डकी प्रदेश समितिको अधिवेशनमा मतदान गर्दैछिन्। प्रदेश अधिवेशनमा मतदान गरेपछि काठमाडौं फर्किएर पढाईमा ध्यान दिने उनको सोच छ।

कांग्रेसको आसन्न महाधिवेशनका लागि भइरहेको जिल्ला र प्रदेश अधिवेशनहरुबाट युवाको उपस्थिति पनि बलियो हुँदै गइरहेको छ। गुटगट राजनीति भन्दा व्यक्तिगत प्रतिस्पर्धाबाट नेतृत्व तहसम्म बाटो बनाउन युवा लागेको उनको बुझाइ छ।

‘गुटगत नभई योग्य व्यक्तिको साथमा लाग्नुपर्छ,’उनले सुनाइन् ।

अब प्रदेश कार्यसमितिमा उनी लड्न पाउँछिन्। तर आउने प्रदेश अधिवेशनमा उनी पार्टीभित्र रहेको योग्य व्यक्तिलाई जिताउन भूमिका खेल्ने बताउँछिन्। 

'तत्कालका लागि पार्टीमा अरु पदका लागि प्रतिस्पर्धामा उठ्दिन। योग्य व्यक्तिलाई जिताउँछु' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell