PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कोरोनाका कारण लागू यात्रा प्रतिबन्ध हटाउँदै अष्ट्रेलिया, क-कसले प्रवेश पाउँछन्?



पहिलोपोस्ट

कोरोनाका कारण लागू यात्रा प्रतिबन्ध हटाउँदै अष्ट्रेलिया, क-कसले प्रवेश पाउँछन्?
Photo : Lisa Maree Williams/Getty Images

काठमाडौं : अष्ट्रेलियाले डिसेम्बर १ देखि लागू हुने गरी यात्रा प्रतिबन्ध हटाउने भएको छ। कोभिड-१९ को संक्रमणका कारण अष्ट्रेलियाले आफ्नो देश प्रवेशमा रोक लगाएको थियो।

अब डिसेम्बर १ देखि कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका अष्ट्रेलियाको भिसा भएका जो कोही पनि अस्ट्रेलिया प्रवेश गर्न पाउनेछन्। पर्यटक, सिप भएका कामदारहरु, अन्तर्राष्ट्रिय विद्यार्थीहरु अब अष्ट्रेलिया प्रवेश गर्न पाउने भएका हुन्।

यो छुटमा दुबै खोप लगाएका जापानी, कोरियाली नागरिकहरुलाई क्वारेन्टाइन बिना नै अष्ट्रेलिया प्रवेश दिइने त्यहाँका प्रधानमन्त्री स्कट मोरिसनले सोमवार घोषणा गरेका हुन्।

अस्ट्रेलिया सरकारको आन्तरिक मामिला विभागले २८ प्रकारका योग्यतम भिसाबहाकलाई अस्ट्रेलिया प्रवेशमा छुट रहेको उल्लेख गरेको छ।

अष्ट्रेलिया प्रवेशका लागि खोपको पूर्ण मात्रा लगाएको र अष्ट्रेलियाका लागि प्रस्थान गर्नु तीन दिन अगाडि आरटी-पीसीआर नेगेटिभ भएको प्रमाणपत्र पेश गर्नुपर्ने छ।

अस्ट्रेलियका क्षेत्र तथा प्रान्तहरुमा कायम रहेको फरक फरक नियमका कारण सोही अनुसारको व्यवस्था पालना गर्नुपर्नेसमेत बताइएको छ। हाल अष्ट्रेलियाको न्यू साउथ वेल्स, भिक्टोरिया तथा राजधानी क्षेत्रमा यात्रुहरु विना क्वारेन्टाइन प्रवेश पाउने छन्।

अष्ट्रेलियाले आइतवार देखि सिंगापुरसँग सुरक्षित ‘ट्राभल बबल’ कार्यान्वयन गरेको नाइन न्यूजले जनाएको छ।  हाल दुई लाख अस्ट्रेलियाको भिसा बहाकहरु अष्ट्रेलिया प्रवेशको पर्खाइमा रहेको र उनीहरुको प्रवेशले देशको अर्थतन्त्रमा सकरात्मक प्रभाव पर्ने त्यहाँका ट्रेजरर जोस प्राइडेनवर्गले बताएका छन्।

आइतवार मात्र अष्ट्रेलियाले १६ वर्ष माथिका व्यस्क नागरिकहरु मध्ये ८५ प्रतिशतलाई पूर्ण मात्रा दिएको जनाएको छ। अस्ट्रेलियाको तथ्यांक विभागका अनुसार सन् २०१९ मा अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रमले देशको अर्थतन्त्रमा ३७.६ बिलियन डलरको योगदान पुर्‍याएको थियो।

क-कसले प्रवेश गर्न पाउँछन्?

अष्ट्रेलियाको नियामक निकायले अनुमति प्रदान गरेका खोपहरु अस्ट्राजेनेका, फाइजर/वायो एनटेक, मोडर्ना स्पाइभ्याक्स, सिनोभ्याक कोरोनाभ्याक, भारत वायोटेक कोभ्याक्सिन, सिनोफार्मा बीबीआईबीपी-कोर्भी (१८-६० वर्ष उमेर)को दुई मात्रा वा जोनसन एण्ड जोनसन/ जानसेन-किलाग कोभिड भ्याक्सिनको एक मात्रा लगाएकाहरुले प्रवेश पाउने छन्। खोपको पूर्ण मात्रा लगाएको ७ दिन कटेको भने हुनुपर्ने छ।

यदी, यात्रुहरु मध्ये स्वास्थ्यका कारणले खोप लगाउन नमिल्ने अवस्थामा भए त्यस्ता व्यक्तिहरुले स्वास्थ्य प्रमाणपत्र पेश गर्नुपर्नेछ। १२ वर्ष भन्दा मुनिका बालबालिकाले खोप नगाए पनि यात्रा गर्न पाउने छन्।

त्यस्तै, १२-१७ वर्ष उमेर समूहका खोप नलगाएका वा पहिलो मात्रा लगाएकाहरु पनि यात्रा गर्न पाउने छन्। तर त्यस्ता यात्रुका अभिभावक पूर्ण मात्रा खोप लगाएको हुनुपर्नेछ। यदी बालबालिकाहरु खोप नलगाएका अभिभावकसँग यात्रा गरेको भए उनीहरु क्वारेन्टाइनमा बस्नुपर्नेछ।

राजधानीमा उमेर १२ वर्ष भन्दा कम भएका यात्रुलाई खोप नगाए पनि पूर्ण खोप लगाएको जनसंख्यामा गणना गरी यात्रा अनुमति दिइनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell