PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बार अध्यक्षले भने : प्रधानन्यायाधीशले पैसा लिएर फैसला गरेको सूचना भए उपलब्ध गराउनुस्



पहिलोपोस्ट

बार अध्यक्षले भने : प्रधानन्यायाधीशले पैसा लिएर फैसला गरेको सूचना भए उपलब्ध गराउनुस्

काठमाडौं : नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पैसा लिएर गरेको फैसलाको सूचना भए उपलब्ध गराउन कानून व्यवसायी र सेवाग्राहीहरुलाई आह्वान गरेका छन्। सोमवार सर्वोच्च अदालत परिसरमा धर्ना दिँदै श्रेष्ठले प्रधानन्यायाधीश जबराले पैसा खाएर गरेको फैसलाको सूचना भए नेपाल बारमा उपलब्ध गराउन कानून व्यवसायी र सेवाग्राहीहरुलाई आग्रह गरेका हुन्।

'विवादित प्रधानन्यायाधीश संलग्न भएको जति पनि फैसलाहरु छन्, जसले गर्दा विसंगति, विकृति, विचौलिया र भ्रष्टाचार भइरहेको छ, ती फैसलाहरु नेपाल बार एशोसिएशनले संकलन, अध्ययन गरिरहेको छ। तपाईहरुसँग भएको, तपाईहरुलाई अन्याय परेको, तपाईहरुसँग अत्यन्त पैसा लिएको फैसलाहरु बारमा दिनुहुन अनुरोध छ्' उनले भने।

श्रेष्ठले प्रधानन्यायाधीशले पैसा लिएर गरेको फैसलालाई राखेर जनताको बिचमा पेश गर्ने समेत बताए।

उनले न्यायलयमा विकृति र विसंगति बढ्दै जाँदा र बारले हप्तौंदेखि आन्दोलन गरिरहँदा राजनीतिक दल कानमा तेल हालेर बसेको आरोप समेत लगाए।

'दलहरु अझै पनि कानमा तेल र मुखमा बुझो लगाएर बसेका छन्। के न्यायपालिका राज्यको अंग होइन? राज्यको एउटा महत्वपूर्ण अंगमा यो अवस्था आउँदा चुप लागेर बस्ने हो?' उनले प्रश्न गरे।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले तीन वर्ष न्यायपालिका र सेवाग्राहीमाथि अन्याय गरेको आरोप लगाउँदै अब अन्याय हुन नदिने बताए। उनले प्रधानन्यायाधीश जबराले धनाढ्यहरुको मुद्दामा मात्रै काम गरिरहेको तर १५/१६ वर्ष अघिका मुद्दा नहेरेको दाबी समेत गरे।

बारले जबराको राजीनामा माग्दै सर्वोच्च अदालत केन्द्रित आन्दोलन गरिरहेको छ। बारले जबराको राजीनामा नआएसम्म आन्दोलन नरोकिने बताउँदै आएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell