PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

दुई तिहाइ लक्षित जनसंख्यालाई पुस मसान्त भित्र कोभिड-१९ विरुद्धको खोप, अब गर्भवतीलाई पनि खोप दिइने



पहिलोपोस्ट

दुई तिहाइ लक्षित जनसंख्यालाई पुस मसान्त भित्र कोभिड-१९ विरुद्धको खोप, अब गर्भवतीलाई पनि खोप दिइने

काठमाडौं : सरकारले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई पुस मसान्तभित्र खोप उपलब्ध गराउने गरि तयारी थालेको छ। हालसम्म कोभिड-१९ विरुद्धको खोप लगाउन छुटेका १८ वर्ष माथिका उमेर समूहका सबैलाई खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी थालेको हो। 

पहिले लक्षित वर्गलाई मात्र लगाउँदै आएको खोप अहिले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई लगाउन थालिएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले खोप नियमित आउन थालेकाले १८ वर्षभन्दा माथिका सबैलाई नियमित खोप लगाउन थालिएको जानकारी दिए।

यसअघि खोप लगाउन छुटेका सबैलाई खोप केन्द्रमा गई खोप लगाउन मन्त्रालयले आग्रह समेत गरेको छ। सरकारले आगामी पुस मसान्तभित्र दुई तिहाइ खोप उपलब्ध गराउने लक्ष्यसहित खोप अभियान चलाउन लागेको हो। त्यस्तै, चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य सरकारले राखेको छ। दुई करोड १७ लाखलाई खोप लगाउने लक्ष्य सरकारले राखेको छ।

आइतवार दिउँसो २ बजेसम्म तथ्यांक विभागले प्रक्षेपण गरिएको जनसंख्या तीन करोड तीन लाख ७८ हजार ५५ जना मध्ये २६ प्रतिशतलाई पूर्ण मात्रा खोप उपलब्ध गराइसकेको मन्त्रालयले जनाएको छ। तथ्यांक अनुसार ३० प्रतिशतले हालसम्म कम्तिमा पहिलो मात्रा खोप लगाइसकेका छन्। 

पछिल्लो तथ्यांक अनुसार हालसम्म एक करोड ७० लाख २६ हजार ३८३ खोप वितरण भइसकेको छ। जसमध्ये ९१ लाख २० हजार १४ जनाले कम्तिमा पहिलो मात्रा र ७९ लाख ६ हजार ३६९ जनाले पूर्ण मात्रा खोप लगाइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

काठमाडौँ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्लेका अनुसार १८ वर्षभन्दा माथिका सबैलाई काठमाडौँका पाँच खोप केन्द्रबाट नियमित खोप प्रदान गरिँदैछ। 

हाल उपलब्ध भेरोसेल र अस्ट्राजेनेका खोप सर्वसाधरणलाई वितरण गरिएको छ। उनका अनुसार कार्यालयले वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, कलङ्कीको शहीद मेमोरियल अस्पताल, बल्खुमा बयोधा अस्पताल, गोगंबुस्थित नयाँ बसपार्कको लोत्से भवन र जडीबुडीस्थित जडीबुडी प्रशोधन केन्द्रमा नियमित खोप प्रदान गरिरहेको छ। 

त्यस्तै, १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई फाइजर-वायोएनटेकको खोप उपलब्ध दिइँदै छ। काठमाडौं उपत्यकासहित देशभरका २४ अस्पतालबाट किशोरकिशोरीलाई खोप वितरण भइरहेको छ। उपत्यकामा शहीद गङ्गालाल हृदयकेन्द्र, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल र सिभिल अस्पतालमा फाइजर खोप लगाउन थालिएको छ। यो उमेर समूहलाई पहिलो मात्रा खोप सोमवारसम्म दिइने छ। 

त्यस्तै मन्त्रालयले सबै गर्भवतीलाई पनि खोप लगाउन सुरु गरेको छ। यसअघि उच्च जोखिम भएका गर्भवती महिलालाई मात्र खोप लगाउने गरेता पनि अबदेखि गर्भवती भएको तीन महिना पूरा भएका सबै महिलालाई खोप दिन थालिएको मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell