काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले बराबरी खेले। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बलियो प्रतिस्पर्धी आर्मीसँग १-१ को बराबरी खेलेपछि पुलिसका प्रशिक्षक अनन्त थापा सन्तुष्ट सुनिए।
'आज खेल स्पीडी गेम थियो। हामीले ३ अंक लिइसकेको थियौं,' प्रशिक्षक थापाले भने, 'खेलाडीको सामान्य गल्तीले गोल खान पुग्यौं। लिगमा दोस्रो भएको टिमसँग १ अंक लिनु पनि राम्रो हो।'
उता आर्मीका सहायक प्रशिक्षक राजु तामाङ टिम सेट हुनमा कठिनाइ भएको बताउँछन्।
'गेम राम्रै भयो। डिफेन्सलाईनमा सेप नभएको हो कि भन्ने लागेको छ। स्कोरलाइनमा गोल निकाल्न सक्थ्यौं कि भन्ने हो,' उनले भने।

खेलको ८७ औं मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीको गोललाई रेफ्रीले अफसाइड करार दिएका थिए। त्यसमा आर्मीका खेलाडी र अफिसियल असन्तुष्ट देखिएका थिए। यद्यपि खेल पछि कुरागर्दै आफूलाई अफसाइड जस्तो नलागे पनि रेफ्रीको निर्णयलाई सम्मान गर्ने प्रशिक्षक तामाङले बताए।
'हामीलाई अफसाइड थियो जस्तो लाग्दैन। भीएआर प्रविधि भए सहज हुने थियो। तर यो प्रविधि यहाँ सम्भव छैन,' उनले भने।
यस्तो भएको थियो खेल
खेलको पहिलो हाफमा आर्मी केही हाबी देखिए पनि दुवै टिमले खासै राम्रा मुभहरु भने बनाउन सकेनन्। ४३ औैं मिनेटमा आर्मीका सेसेहाङ आङदाम्बेले टाढाबाट गरेको प्रहार सिधै पुलिसका गोलकिपर शत्रुघनकुमार चौधरीको हातमा पुगेको थियो। पहिलो हाफ गोलरहित बराबरीमा रोकियो।

दोस्रो हाफमा पुलिसका सन्तोष हेमरमले खेलको ५० औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। हेमरमले तेज तामाङले प्रहार गरेको फ्रिकिमा हेडरमार्फत गोल गरेका थिए।
यता आर्मीका विवेक बस्नेतले ६१ औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याए। ८७ औं मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीको गोललाई रेफ्रीले अफसाइट करार दिएका थिए।
आजै हुने दोस्रो खेलमा मछिन्द्र क्लब र न्युरोड टिम एनआरटी पौने ५ बजे आमनेसामने हुनेछन्।
