पोखरा : कात्तिक २५ गते राष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत र पारिवारिक सूचना लिएर जनगणना २०७८ शुरु भयो। राष्ट्रपतिसहित उपराष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक निकायका प्रुमख र राजनीतक दलका नेताहरुको विवरण लिन तथ्यांक विभाग लगायत निकायका वरिष्ठ अधिकारीहरु नै पुगे। सर्वसाधारणको घरदैलोमा भने गणकहरु पुगे।
सरकारले जनगणनालाई सफल बनाउन विभिन्न माध्यमबाट प्रचार गरेको थियो। गणक अघि सुपरिवेक्षकले घरघर पुगेर गणनाबारे जानकारी गराएका थिए। जनगणनामा सोधिने भनिएका प्रश्नहरुको बारेमा पनि धेरै बहस भयो। भाषिक, जातिय र व्यक्तिगत विषयका बारेमा सोधिने प्रश्नहरु बारेमा धेरै चर्चा भयो। तर, नागरिकस्तरमा जनगणनाबारे ज्ञान र प्रश्नहरुको उद्देश्य र महत्व बुझाउन नसक्दा पनि जनगणना विवादित समेत बन्न पुगेको छ।
गण्डकी प्रदेशको राजधानी पोखरामा जनगणनाको ‘ग्राउण्ड जिरो’बाट मूल्यांकन गर्न गणकहरु सन्तुष्ट छैनन्। नागरिकले जनगणनाबारे अनविज्ञता र महत्त्व थाहा नभएको व्यवहार देखाउँदा सास्ती व्यहोर्नु परेको गणकहरु बताउँछन्।
जनगणनाका लागि पोखरा महानगरपालिका वडा नम्बर १२ को एक घरमा पुगेकी पार्वती गुरुङले भनिन्, ‘जनगणनाका लागि एउटा घरमा पुगेको थिएँ, त्यहाँ घरधनीले चारवटा कुकुर छोडिदिएका रहेछन्। त्यसदिन अन्य घरमा पस्न सकिँन।’
भोलिपल्ट पुन: त्यही घर पुग्दा अगरबत्ती बेच्ने आएको ठानेर कुकुर छोडिदिएको घरधनीले उनलाई सुनाए। जनगणनाका लागि घरघर पुग्दा कतै घरधनीले गेट नखोल्ने त कत्तै उत्तर नै नदिने प्रवृत्ति रहेको उनले सुनाइन्।
जनगणनामा सोधिने प्रश्नावलीमा अधिकांश नागरिकको चित्त बुझेको छैन। इन्टरनेट, वासिङ मेसिनदेखि स्मार्ट फोनका बारे प्रश्न सोध्दा नागरिकहरु झोकिने गरेको गणकहरु बताउँछन्। धर्म बारेमा सोध्दा त अधिंकाश स्थानमा आफूले यस्तै समस्या झेलेको गुरुङ बताउँछिन्।
‘धर्मको बारे कुरा आएसी रिसाउँछन्। यता हिन्दु लेखेपनि टिपेक्स लगाएर क्रिश्चियन लेख्छौ सम्मको आरोप लगाउँछन्,’ उनले गुनासो पोखिन्।
पोखरा महानगर वडा नम्बर २२ की गणक रन्जना पराजुली वडा प्रतिनिधिसँग झगडा नै परेको सुनाउँछिन्। गणनाका लागि एक वडा सदस्यको घरमा पुगेकी पराजुलीले प्रश्नावली भर्दै गइन्। भर्दै जाँदा वडा सदस्यलाई गणनाको प्रश्नावली बनावटमा चित्त बुझेन। वडा सदस्यले हपार्दै झगडा गर्न थालेको उनी सुनाउँछिन्।
कारण के?
नागरिकस्तरमा जनगणनाबारे बुझाइ गलत भएका कारण केही समस्या आएको तथ्यांक कार्यालय कास्की प्रमुख जगुलाल बस्याल बताउँछन्। कर लाग्ने, विवरण दुरुपयोग हुने अविश्वास लगायतका गलत बुझाइ नागरिकमा रहेको उनले बताए।
तर, सबै स्थानमा गणकले नराम्रो व्यवहार भोगेका छैनन्। धेरैस्थानमा नागरिकहरुले गणकलाई व्यक्तिगत र पारिवारिक विवरण भराउन सहयोग गरिरहेका छन्। जनगणनाबारे राम्रै प्रतिक्रिया दिनेहरु पनि रहेको बताउँदै वडा नम्बर १ की गणक दुर्गा भट्टराई।
भट्टराई आफूले यो अवधिसम्म सहजरूपमा विवरण संकलन गरिरहेको बताइन्।
‘विवरणहरु दिइरहनु भएको छ। राम्रो र सहज व्यवहार गर्नुभएको छ,’ उनले भनिन्।
वडा १ कै सुपरिवेक्षक सोमनाथ सापकोटाले पनि गणकले त्यति धेरै असहजता व्यर्होर्नु नपरेको बताए।
नागरिकको प्रतिक्रिया
गणकले जनगणनाबारे गुनासो गरिरहँदा नागरिकबाट पनि प्रश्नावलीमा उत्तिकै गुनासो छ। अहिलेको विवरण संकलन कार्यले तथ्यगत रुपमा तथ्यांक नआउने सम्भावना रहेको वडा नम्बर २६ निवासी विनित छन्त्याल बताउँछन्।
‘गणनाका लागि आएको गणकको प्रश्नले हैरान भएँ। प्रश्न उस्तै लामो अनि झिझोलाग्दो थियो,’ उनले भने।
तथ्यांक संकलन प्रश्नावलीमा बेरोजगारीका लागि प्रश्न नसमेटिएको उनको गुनासो छ। नागरिकको आर्थिक स्तरबारे विवरण लिनपनि स-साना प्रश्न समेटेको उनको बुझाइ छ।
यता, वडा नम्बर ८ का सोभित बस्याल पनि प्रश्नावली सहज र सरल नभएको बताउँछन्।
‘हामी पढेलेखेका व्यक्तिलाई समेत उक्त प्रश्न अप्ठ्यारो र ठाडो लाग्न सक्छ’, उनले भने, ‘नबुझ्नेलाई यी प्रश्न ठाडो शैलीको हुनु स्वभिक हो।’
स-साना व्यक्तिगत विवरण संकलनमा उनको चित्त नबुझेपनि सरकारले तथ्यांक आएपछि राम्ररी प्रयोग गर्ने उनको विश्वास छ।
२०६८ सालमा भएको जनगणना अनुसार कास्कीको जनसंख्या ४ लाख ९२ हजार थियो। अहिले जिल्लाको जनसंख्या ६ लाख पुग्ने अनुमान गरिएको छ। जिल्लामा गणनाका लागि १९० सुपरिवेक्षक र ८५० गणक खटाइएका छन्।