PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

महाभियोगको मोडमा बारको आन्दोलनः सभामुख-अध्यक्षलाई ज्ञापनपत्र, साथ देलान् दलले?



पहिलोपोस्ट

महाभियोगको मोडमा बारको आन्दोलनः सभामुख-अध्यक्षलाई ज्ञापनपत्र, साथ देलान् दलले?

काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध तीन सातादेखि आन्दोलन गरिरहेको नेपाल बार एशोसिएशनले महाभियोगको प्रक्रिया अघि बढाउन आग्रह गर्दै प्रतिनिधि सभाका सभामुख तथा राष्ट्रिय सभाका अध्यक्षलगायत दलका नेताहरुलाई ज्ञापनपत्र बुझाएको छ।

बारको टोलीले सभामुख सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङ, संघीय समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णलाई ज्ञापनपत्र बुझाएको छ। यस्तै, राष्ट्रिय जनमोर्चाका प्रतिनिधिलाई पनि ज्ञापनपत्र बुझाइएको बार महासचिव लीलामणि पौडेलले बताए।

नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतलाई ज्ञापनपत्र बुझाउन बाँकी रहेको पौडेलले बताए।

बारले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिलाई ज्ञापनपत्र बुझाउँदै छ।

बारले जबराविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउन माग गर्दै ज्ञापनपत्र बुझाएको हो। निरन्तर रुपमा आन्दोलन गरिरहे पनि राजीनामा दिन जबराले अस्वीकार गर्दै आएका छन्। उनले संवैधानिक प्रक्रिया फेस गर्न आफू तयार रहेको बताउँदै आएका छन्। जबराको अडान कायमै रहेपछि बारले संवैधानिक प्रक्रिया महाभियोग अघि बढाउन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको हो।

महाभियोगबारे बारले दलको साथ खोजे पनि दलहरु भने प्रधानन्यायाधीश प्रकरणमा टाढै बस्न चाहेका छन्। न्यायालयले नै आन्तरिक रुपमा समस्या समाधान गर्नुपर्ने पक्षमा दलहरु छन्। प्रधानन्यायाधीश प्रकरणमा दलहरुले साझा धारणा बनाउन सकेका छैनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell