PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

ओलीको ‘सेकेन्ड म्‍यान’देखि १५ सदस्यीय ‘हाइकमाण्ड’मा एमालेभित्र लडाईं, कसले गर्दैछन् दाबी?



प्रकाश भण्डारी

ओलीको ‘सेकेन्ड म्‍यान’देखि १५ सदस्यीय ‘हाइकमाण्ड’मा एमालेभित्र लडाईं, कसले गर्दैछन् दाबी?

काठमाडौँ: नेकपा (एमाले) को १०औँ महाधिवेशनमा केपी शर्मा ओली अध्यक्षमा सर्वसम्मत चयन नहुने भएका छन्। उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेपछि ओलीले रावलको सामना गर्नुपर्ने भएको हो। रावलले महाधिवेशनको मितिसम्म आफ्नो उम्मेद्वारी फिर्ता नलिए झन्डै २ हजार प्रतिनिधिले अध्यक्षका लागि पनि मतदान गर्नुपर्ने छ। तर, रावलको चुनौतीले ओलीलाई दोस्रो पटक अध्यक्ष हुनबाट भने नरोक्ने निश्चित जस्तै छ।

अध्यक्षमा ओलीसँग रावल एक जनाले मात्रै अहिलेसम्म भिड्ने तरखर गरे पनि बाँकी पदाधिकारीमा भने आकांक्षी नेताहरूको संख्या धेरै छ।

चितवनमा मंसिर १०,११ र १२ गते हुने महाधिवेशनका लागि ओली समूहले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने धारणा अघि सारिरहेका छन्। कम्तिमा पनि अध्यक्ष र वरिष्ठ उपाध्यक्ष सर्वसम्मत छानिनुपर्ने भन्दै एमालेभित्र नेताहरूले गृहकार्य गरिरहेको भए पनि रावलको उम्मेद्वारीले ओलीलाई सर्वसम्मत अध्यक्ष हुने आकांक्षामा धक्का लागेको हो।

ओलीलाई अध्यक्ष हुनबाट रोक्न सक्ने तत्कालीन नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमले पार्टी छोडिसकेका छन्। वर्षौँसम्म पार्टी हाँकेका नेपाल-खनालको उपस्थितिबिना एमालेको महाधिवेशन हुन लागेको हो। अध्यक्ष लगायतका महत्त्वपूर्ण पदमा निर्वाचन हुने भए पनि एमालेको ९औँ महाधिवेशनमा प्यानलगत रूपमा प्रतिस्पर्धा भएकोमा यसपटक भने व्यक्ति-व्यक्ति बीचमा मात्रै प्रतिस्पर्धा हुने नेताहरू बताउँछन्। चितवनमा हुने महाधिवेशनले १५ जना पदाधिकारीसहित २२५ जनाको केन्द्रीय कमिटी चयन गर्दै छ।

गोदावरीमा भएको प्रथम विधान महाधिवेशनले एक जना वरिष्ठ उपाध्यक्ष हुने व्यवस्था गरेको थियो। एमालेमा पहिलोपटक वरिष्ठ उपाध्यक्षको व्यवस्था भएको थियो। अध्यक्षपछिको वरीयतामा रहने उपाध्यक्ष पदका लागि एमालेभित्र रस्साकस्सी छ। एमालेभित्र हाल कायम रहेका तीन वटा समूहबाटै वरिष्ठ उपाध्यक्षका आकांक्षी देखिएका छन्।

हाल एमालेमा १० बुँदे सहमतिबाट आएका, पूर्व माओवादी र संस्थापन पक्ष गरी तीनवटा समूह छन्। तीनै समूहको भावनालाई समेटेर अघि बढ्न ओलीलाई चुनौती छ। पार्टी विभाजनपछि एमाले एक ढिक्का रहेको सन्देश दिन धेरै ठाउँमा प्रतिनिधि छनोट सर्वसम्मत गरिएको भए पनि केन्द्रमा भने त्यसो गर्न सकस पर्ने देखिएको छ।

को हुने पहिलो वरिष्ठ उपाध्यक्ष?

अध्यक्ष ओलीले बाँडफाँडका बारेमा मुख खोलेका छैनन्। यद्यपि ओली निकट नेताहरूका अनुसार ओलीले महासचिव ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्षका लागि अघि सारेका छन्।

पोखरेलले पनि सार्वजनिक रूपमै वरिष्ठ उपाध्यक्षमा आफ्नो दाबी रहने बताउँदै आएका छन्। उनले अध्यक्षमा ओलीलाई सघाउने र ओलीले वरिष्ठ उपाध्यक्षमा पोखरेललाई अघि सार्ने सहमति भएको ओली निकट नेताहरूको मत छ। जसलाई पोखरेलले पनि नकारेका छैनन्। ओली-पोखरेलबीच यस्तो सहमति भएको बताइए पनि एमालेका नेताहरूले भने पोखरेललाई सर्वसम्मत मान्न तयार छैनन्।

ओली निकट मानिने एमालेका संसदीय दलका नेता सुवास नेम्वाङले पनि वरिष्ठ उपाध्यक्षका लागि दाबी गरेका छन्। तर,उनले सार्वजनिक रूपमा भने मुख खोलेका छैनन्। उनले पहिलोपोस्टसँग भनेका थिए,'म मेरो व्यक्तिगत कुरा गर्दिनँ हेरौँ। के हुन्छ?' वरिष्ठ उपाध्यका अर्का आकांक्षी नेता हुन् स्थायी कमिटी सदस्य तथा वाग्मती प्रदेशका इन्चार्ज रामबहादुर थापा बादल। नेकपा माओवादी केन्द्रलाई छोडेर एमालेमा लागेका बादललाई ओलीले पछिल्लो समय पार्टी भित्रका महत्त्वपूर्ण जिम्मेवारी दिइरहेका छन्।

१०औँ महाधिवेशनको मूल व्यवस्थापन समितिको संयोजक बादल छन्। पूर्व माओवादीलाई पनि मिलाएर लैजान उनलाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्ने भन्दै ओलीमाथि माओवादी पृष्ठभूमिका नेताहरूले दबाब दिँदै आएका छन्। १०बुँदे सहमतिमार्फत एमालेमा फर्किएका एमालेका उपाध्यक्ष युवाराज ज्ञवालीले पनि आफूलाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्ने भन्दै ओलीसँग सल्लाह गरिरहेका छन्। उनले वरिष्ठ उपाध्यक्षमा आफूलाई अघि नबढाइए सर्वसम्मत रूपमा अहिलेकै पदमा दोहोर्‍याउनुपर्ने बताइरहेका छन्।

त्यसो त एमालेको अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका रावलले पनि आफूलाई वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत ओलीले अघि बढाउन चाहे अध्यक्षको उम्मेद्वारी फिर्ता लिनेछन्। यसबारेमा उनले स्पष्ट जवाफ नदिए पनि आइतबार उम्मेद्वारी घोषणका क्रममा उनले महाधिवेशनसम्म पार्टीमा सल्लाह गरेर अघि बढ्ने बताएका थिए।

उपाध्यक्षमा लडाईँ

नेकपा एमालेको वरिष्ठ उपाध्यक्षका लागि जति आकर्षण छ उपाध्यक्षका लागि त्यति आकर्षण देखिँदैन्। एमालेका नेताहरूले पुरानै पदाधिकारीलाई दोहोर्‍याउनुपर्ने बताउँदै आए पनि माओवादी पृष्ठभूमिका नेताहरूलाई पनि समेट्नुपर्ने भएकाले ओलीले उपाध्यक्षमा केही नयाँ अनुहारलाई अघि बढाउने बताइन्छ। एमालेमा हाल भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य उपाध्यक्ष छन्। ९औँ महाधिवेशनबाट ५ जना उपाध्यक्ष छानिएकोमा बामदेव गौतमले पदबाट राजीनामा र विद्यादेवी भण्डारी राष्ट्रपति भएकाले अहिले ३ जना मात्रै उपाध्यक्ष छन्।

विधान अनुसार अब एमालेमा ४ जना उपाध्यक्ष मात्र हुनेछन्। वरिष्ठ उपाध्यक्ष नभए उपाध्यक्ष बनाउनुपर्ने भन्दै एमालेका नेताहरूले लबिङ थालेका छन्। ९औँ महाधिवेशनमार्फत उपाध्यक्ष चयन भएका ज्ञवालीले पनि वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमध्ये आफूलाई एक पद दिनुपर्ने बताएका थिए। जसका लागि पूर्व माओवादी पक्षबाट लेखराज भट्टले दाबी गरेका छन्।

यता उपाध्यक्षका लागि दाबी गर्ने अर्का नेता हुन् उपमहासचिव घनश्याम भुसाल। उनले एमालेको महासचिव या उपाध्यक्ष के मा दाबी गर्ने भन्नेबारेमा भने आफू निकट नेताहरूसँग छलफल गरिरहेका छन्। एमालेमा १०बुँदे सहमति गरेर फर्किएका नेताहरूले पनि उपाध्यक्षका लागि दाबी गरिरहेका छन्। उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले दोहोरिने आकांक्षा राखिरहेकी छन्। यस्तै स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पनि उपाध्यका लागि दाबी गरिरहेका छन्। किरण गुरुङ र लालबाबु पण्डितले पनि उपाध्यक्षका लागि लबिङ थालेका छन्।

महासचिव नेताहरूका लागि 'हट केक'

नेताहरूले महत्त्वका साथ हेरिरहेको अर्को पद हो पार्टी महासचिव। एमाले बहुपदीय प्रणालीमा जानुअघिसम्म महासचिव नै पहिलो मर्यादाक्रममा थियो। त्यसैले एमाले नेताहरूले महासचिव पदलाई प्राथमिकताका साथ हेरिरहेका छन्। महासचिव भएपछि एमालेको नेतृत्वका लागि दाबी गर्न पनि सहज हुने भएकाले महासचिवमा आकर्षण देखिएको हो।

ईश्वर पोखरेल दुई कार्यकाल महासचिव भइसकेकाले उनी अब महासचिवमा दोहोरिन मिल्ने छैन। एमालेको विधानमा दुई कार्यकालभन्दा बढी एकै पदमा बस्न नमिल्ने व्यवस्था छ।

महासचिवका लागि एमालेभित्र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, उपमहासचिव विष्णु पौडेल, सचिव पृथ्वी सुब्बा गुरुङ, स्थायी कमिटी सदस्य शंकर पोखरेलबीच रस्साकस्सी छ। ९औँ महाधिवेशनमा पाण्डे पोखरेलसँग महासचिवमा पराजित भएका थिए। उपमहासचिव विष्णु पौडेलले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा महासचिव बनेका थिए। गुरुङ गण्डकी र पोखरेल लुम्बिनी प्रदेशका मुख्यमन्त्रीबाट हटेका नेता हुन्।

उपमहासचिवको छैन चर्चा

ओली निकट नेताहरूले विधान महाधिवेशनका बेलामा उपमहासचिव पद खारेज गर्नुपर्ने प्रस्ताव गरेका थिए। धेरै पदहरू हुँदा पार्टी कमिटीमा भद्रगोल हुने भन्दै हटाउनुपर्ने पक्षमा थिए ओली निकट नेता।

तर, प्रतिनिधिहरूले पद नहटाउन दबाब दिएपछि यसअघि २ जना उपमहासचिव रहेकोमा १ जना मात्रै महासचिव रहने एमालेको विधानमा व्यवस्था छ। एमालेको पदाधिकारीको अरू पदहरूमा नेताहरूले चर्चा गर्न थालेको भए पनि उपमहासचिवमा भने नेताहरूले आफ्नो नाम अघि सारेका छैनन्। यसअघिका उपमहासचिव घनश्याम भुसाल र विष्णु पौडेल दुबैजनाले यसमाथिको पदमा दाबी गरेकाले उपमहासचिवमा नयाँ अनुहार आउने सम्भावना रहेको नेताहरूले बताएका छन्।

सचिवमा झन् ठूलो भीडन्त

एमालेको ९औँ महाधिवेशनबाट ५ जना सचिव छानिएका थिए। प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराई एमालेको सचिव छन्। १० औँ महाधिवेशनबाट भने ७ जना सचिव छानिने छन्। त्यसमा यी पाँचै जनाले त्यो भन्दा माथिल्लो पद नपाए पुरानैमा भए पनि दोहोरिने आकांक्षा राखिरहेका छन्।

सचिवका लागि भानुभक्त ढकाल, खगराज अधिकारी, विष्णु रिमाल, प्रभु साह, यमलाल कँडेल लगायत नेताहरूले दाबी गरिरहेका छन्। गोकुल बास्कोटा, महेश बस्नेत, डोरमणि पौडेल, कर्ण थापा, मणि थापा, रघुवीर महासेठ, शेरधन राई लगायतको नाम पनि सचिवको लागि चर्चामा छ। शेरबहादुर तामाङ, राधा ज्ञवाली, पद्मा अर्याल, पार्वत गुरुङ, कृष्णगोपाल श्रेष्ठ, बिन्दा पाण्डे, खिमलाल भट्टराई पनि सचिवमा दाबी गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell