चितवनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको निर्वाचनमा भोट माग्न आउँदा धुलोमा हिँड्नु नपर्ने गरी काम भइरहेको बताएका छन्।
चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना भरतपुरले भरतपुर महानगरपालिका–२४ मा निर्माण गर्न लागेको केरुङ घोल लिफ्ट सिँचाइ आयोजनाको आज शिलान्यास गर्दै उनले आफ्नो क्षेत्रमा उदाहरणीय विकासका काम भएको बताए।
सिँचाइको माध्यमबाट सुक्खा क्षेत्रलाई उर्वर बनाउने उल्लेख गर्दै उहाँले भने, 'जनताको आवश्यकता परिपूर्ति हुनेगरी उत्पादकत्व बढाउने काम गर्छौँ।'
सुकुम्बासी, भूमिहीनहरुलाई लालपुर्जा वितरण गर्नेगरी काम अघि बढेको भन्दै उनले सरकारले लालपूर्जा, निस्सा वा स्थानान्तरणको काम गर्ने छ बताए।
उनले थपे, 'लालपूर्जा वितरणका लागि भूमिसुधार मन्त्रालयमार्फत काम भइरहेको छ।'
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यलगायतको उपस्थिति थियो।
