PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

एमालेका तीन 'फ्याक्टर' मिलाउन ओलीलाई सकस, कुनै एकमा असन्तुलन भए फेरि देखिन सक्छ विभाजनको झिल्का



प्रकाश भण्डारी

एमालेका तीन 'फ्याक्टर' मिलाउन ओलीलाई सकस, कुनै एकमा असन्तुलन भए फेरि देखिन सक्छ विभाजनको झिल्का

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमवार बालकोटमै ब्यस्त रहे। महाधिवेशनको दौडधुप बढेपछि उनले स्थायी कमिटीको बैठक स्थगित गराए भने प्रज्ञा भवनमा आयोजित महाधिवेशनबारेको छलफलमा पनि गएनन्। ओलीमात्रै होइन उनी निकट तथा इतर नेताको पनि दौडधुप बढेको छ। मंसिर १०-१२ गते चितवनमा हुन लागेको राष्ट्रिय महाधिवेशनमा नेतृत्वलाई लिएर नेताहरुको दौडधुप बढेको हो।

एमालेका नेताहरुले विधान महाधिवेशनदेखि नै पदाधिकारीका बारेमा चर्चा चलाएको भए पनि हालसम्म कुन पदमा कसलाई भन्ने टुंगिएको छैन। आकांक्षीहरुको संख्या धेरै भएपछि ओलीलाई पार्टी भित्रको समिकरण मिलाउन सकस परेको छ। 'महाधिवेशनको मुखमा छ नि अहिले अध्यक्षको दौडधुप बढेको छ। त्यसैले भ्याइरहनुभएको छैन,' पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले भने। नेताहरुले महाधिवेशन अघिसम्म पनि ओलीको रणनीतिलाई पर्खिरहेका छन्। ओलीले भने पद बाँडफाँडका विषयमा अभिव्यक्ति दिएका छैनन्। ओली मौन बनेपछि एमालेका नेताहरु ओलीको नीतिलाई लिएर 'पर्ख र हेर'को अवस्थामा छन्। मंगलवारको स्थायी कमिटी बैठक र केन्द्रीय कमिटीको बैठकमा पदाधिकारी चयनबारे छलफल हुने नेताहरु बताउँछन्।

एमालेभित्र तीन फ्याक्टर सक्रिय

ओली निकट नेताहरुले तत्कालीन वरिष्ठ नेता माधव नेपालले पार्टी विभाजन गरेपछि अहिले एमाले भित्र गुटउपगुट नभएको बताइरहेका छन्। तर, उनीहरुको बिचार महाधिवेशन आउन केही दिन बाँकी रहँदा पदका लागि भइरहेको लबिङका कारण मेल खाँदैन। एमालेभित्र हाल तीन गुटहरु सक्रिय छन्। जसमा एमालेको ओली खेमा अर्थात संस्थापन, १० बुँदे सहमति गरेर आएका नेता र पूर्व माओवादी नेताहरु। नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली एमालेभित्र भावनात्मक रुपमा तीन समूह रहेको बताउछन्। 'गुट उपगुटका रुपमा होइन भावनात्मक रुपमा एमालेभित्र तीन पक्ष छ। यसलाई सम्बोधन नगरेर हामी अघि बढन सक्दैनौँ। यो एमालेको रियालिटी पनि हो,' उनले भने।

एमालेको विधानअनुसार १५ जना पदाधिकारी गरी २२५ जनाको केन्द्रीय कमिटी चयनाका लागि पनि अहिले तीन समूहका नेताहरुले लबिङ थालेका छन्। ओली निकट नेताहरुले पदाधिकारी र केन्द्रीय कमिटीमा चयन हुनेमा ढुक्क देखिए पनि पूर्व माओवादी र १० बुँदे सहमतिमार्फत एमालेमा सक्रिय भएका नेताहरुमा भने अन्यौलता छ। अहिले भएकै पदमा समेत दोहोरिने सम्भावना कम रहेको भन्दै उनीहरुले आशंका व्यक्त गर्न थालेका  छन्।

पदाधिकारी चयनमा गुटको बेवास्ता

एमालेले १९९९ पदाधिकारी चयनमा सर्वसम्मतको रणनीति अपनाएको थियो। कमै ठाउँमा मात्रै चुनावमार्फत महाधिवेशनका प्रतिनिधि चयन भएका छन्। ओली पक्ष एमालेभित्र अहिले बलियो अवस्थामा रहेकाले सर्वसम्मत रुपमा ओली निकट पदाधिकारीहरु चयन भएको उनी इतर नेताहरुको आरोप छ। केही ठाउँमा भने विवाद भएको छ। हालसम्म एमालेको ७५ जिल्लामा पदाधिकारी चयन भएका छन्।

कैलालीमा पदाधिकारी चयनमा मनपरी गरेको भन्दै उपाध्यक्ष भीम रावल लगायतका नेताहरुले पार्टीमा उजुरी गरेका छन्। यद्यपि त्यसको कुनै सुनुवाइ नभएको रावलले बताए। 'म लगायतका साथीहरुले कैलालीमा भएको मनपरी प्रतिनिधि छनोटका बारेमा पार्टीमा उजुरी गरेका छौँ। त्यसबारेमा अहिलेसम्म केही भएको छैन,' रावलले भने। पार्टी कार्यालयका सचिव तामाङले भने देशभर सर्वसम्मत रुपमा पदाधिरकारी चयन भएको बताए। उनले एकाध ठाउँमा विवाद हुनु स्वभाविक भएको उल्लेख गर्दै भने,'म्याथम्याटिक्समा पनि कहिलेकाही इरर हुन्छ यो सोसल साइन्स हो। यसमा अहिलकति फरक पर्नु स्वभाविक हो। देशभरमा सर्वसम्मत रुपमा पदाधिरकारी चयन भएका छन्। एक/दुई ठाउँमा मात्रै चुनाव र विवाद भएको छ,' उनले भने।

ओलीलाई टिम छान्न सकस

उपाध्यक्ष रावलले अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेको भए पनि ओलीलाई अध्यक्ष बन्नबाट रोक्न सक्ने सम्भावना भने कम छ। अरु पदाधिकारीमा पनि ओलीले आफू निकट नेताहरुलाई अघि बढाउन चाहेका छन्। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको पद पक्का भएको ओली निकट नेताहरुको भनाई छ। अरु पदहरुमा पूर्व माओवादी र १० बुँदेमार्फत आएका नेताहरुलाई भागबण्डा मिलाउनुपर्ने भएकाले ओलीलाई सकस परेको हो। माओवादी त्यागेर आएका नेताहरुलाई ओलीले प्राथमिकताका साथ जिम्मेवारी दिने गरेका छन्। स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले बाग्मती प्रदेशको ईञ्चार्जसँगै विधान र राष्ट्रिय महाधिवेशन मुल आयोजक समितिको संयोजक रहेर काम गरिरहेका छन्। यता १० बुँदे सहमति गरेर एमालेमा फर्किएका नेताहरुले भने जिम्मेवारी नपाएको भन्दै बेलाबेलामा असन्तुष्टि पोख्ने गरेका छन्। महाधिवेशन मार्फत पनि एमालेको तीनै पक्षलाई समेटेर अघि नबढे एमाले एकता हुन कठिन हुने नेताहरुको भनाई छ। अहिले एमालेका नेताहरुले पार्टी विभाजित अवस्थामा रहेकाले एकताको सन्देश दिन महाधिवेशन महत्वपूर्ण भएको भन्दै ओलीलाई तीनै पक्षलाई समेटन दबाब दिइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell