चितवन : नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत चितवनमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ। अधिकांश क्षेत्रका मतपरिणाम आउने क्रम जारी छ। यस्तोमा चितवनमा भएको तीनवटा क्षेत्रको अधिवेशनका क्रममा केही स्थापित नामहरु पराजित भएका छन्।
पूर्व राज्यमन्त्री तथा पूर्व सांसददेखि प्रदेश सभाका सदस्यसमेत महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। चितवन क्षेत्र नं. १ अन्तर्गत भएको महाधिवशेन प्रतिनिधिको निर्वाचनका क्रममा पूर्व राज्यमन्त्री रहेका शेषनाथ अधिकारी पराजित भएका छन्।
दोस्रो संविधानसभा निर्वाचनमा चितवनबाट विजयी भएका अधिकारी शिक्षा राज्यमन्त्री भएका थिए। सोमवार भएको निर्वाचनको परिणाम मंगलवारसम्म आइपुग्दा अधिकारी महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्।
वाग्मती प्रदेशकी सांसद गीता वाग्ले महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छिन्। मंगलवार बिहान सार्वजनिक मतपरिणाम अनुसार चितवन क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिमा उनी पराजित भएकी हुन्। क्षेत्र नं. २ बाट महिलातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेद्वार बनेकी उनी आठौं स्थानमा रहँदै पराजित भइन्।
महिलातर्फ ४ जनाका लागि भएको निर्वाचनमा ११ जनाले उम्मेदवारी दिएका थिए। जसमध्ये उनी २६८ मतका साथ आठौं स्थानमा रहिन्। सो क्षेत्रमा महिलातर्फ मिनाकुमारी खरेल, विनु रायमाझी पौडेल, गीताकुमारी गुरुङ र निरु कार्की महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
यता, चितवन जिल्ला अध्यक्षको दावेदारीसहित प्रचार प्रसार गरिरहेका प्रत्यासी जगन्नाथ पौडेलसमेत महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। चितवन क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिमा खुला तर्फ उम्मेदवारी दिएका उनी पराजित भएको निर्वाचन अधिकृत श्रीराम सापकोटाले जानकारी दिए।
पूर्व सांसदसमेत रहेका पौडेल आसन्न जिल्ला अधिवेशनमा जिल्ला सभापतिकोमा उम्मेदवारी घोषणा गर्दै चुनावी प्रसारमा थिए। उनी चितवन जिल्ला अदालत बार एशोसिएशनका पूर्व अध्यक्षसमेत हुन्। साथै २०४९ सालमा पौडेल भरतपुर नगरपालिकाको उपमेयरसमेत निर्वाचित भएका थिए।
अधिवक्ता एवम् पूर्व सांसद पौडेलबाहेक चितवन जिल्लाको नेतृत्व लिने दाउमा रहेका अन्य ६ जनाले भने जित हात पारेका छन्। जिल्ला सभापतिका आकांक्षीहरु उत्तम जोशी, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, विजय शर्मा भुसाल, कैलाश कोइराला र प्रा डा सूर्यकान्त घिमिरे महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। चितवनमा संस्थापन पक्ष कमजोर भएको अवस्थामा श्रेष्ठ बाहेक सबै संस्थापन इतरका नेता हुन्। श्रेष्ठ वाग्मती प्रदेशसभाका सदस्यसमेत हुन्।
त्यस्तै, नेपाली कांग्रेस निकट शिक्षक संघ चितवनका अध्यक्षसमेत महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। शिक्षक संघका अध्यक्ष हरि कँडेल महाधिवेशन प्रतिनिधिका लागि खुला तर्फबाट उम्मेदवारी दिएका थिए। उनीसमेत पराजित भएको निर्वाचन अधिकारी सापकोटाले जानकारी दिए।
चितवनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवारहरु कमजोर देखिएका छन्। बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीसमेत महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। पराजित अधिकांश देउवा पक्षका हुन्।
