चितवन : आसन्न नेकपा एमालेको १० औं महाधिवेशनका लागि चितवनमा एक हजार पाँच सय बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ। एमालेको १० औं महाधिवेशन मंसिर १० गते नारायणगढको नारायणी नदी किनारमा उद्घाटन हुँदैछ। त्यस्तै बन्दसत्र सौराहामा हुँदैछ।
महाधिवेशनका लागि चितवन र नवलपरासी पूर्वको गैँडाकोटमा एक हजार पाँच सय बढी सुरक्षाकर्मी परिचालन गर्न लागिएको चितवनका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले जानकारी दिए। महाधिवेशन उद्घाटनका दिन चितवनतर्फ नेपाल प्रहरीको ८००, सशस्त्र प्रहरीको ४५०, राष्ट्रिय अनुसन्धानको ९० तथा नवलपुरको गैँडाकोट क्षेत्रमा नवलपुरबाट नेपाल प्रहरीको १०० बढी सुरक्षाकर्मी परिचालन गरिँदैछ।
नारायणी नदीको चितवन तर्फको किनारमा हुने उद्घाटन सत्रको कार्यक्रममा नवलपरासी तर्फको अर्को किनारबाट पनि हेर्न मिल्ने गरी व्यवस्थापन गरिएकाले दुवै तिर सुरक्षा व्यवस्था कडा पार्न लागिएको हो। नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी मनमाया पङ्गेनीले चितवनसँग समन्वय गरेर नवलपरासी पूर्वको सुरक्षा व्यवस्था मजबुत पार्ने गरी काम भइरहेको जानकारी दिइन्।
चितवनमा महाधिवेशन उद्घाटन हुने स्थान र बन्दसत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समिति संयोजक तामाङले जानकारी दिए। एमालेका पदाधिकारीसँग बसेर सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनबारे छलफल भएको उनले बताए। जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट विशेष योजना बनाएर काम भइरहेको उनको भनाइ छ।
जिल्लाका विभिन्न १३ स्थानमा सवारीसाधन पार्किङस्थल निर्माण गरिएको भन्दै तामाङले महाधिवेशन उद्घाटनका दिन मंसिर १० गते बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालयबाट पश्चिमतर्फ महाधिवेशन उद्घाटन स्थल नारायणगढसम्म अत्यावश्यक बाहेकका सवारीसाधन संचालनमा रोक लगाइने जानकारी दिए।
'एमाले महाधिवेशनका लागि प्रहरी नायब महानिरीक्षक (डिआईजी)को नेतृत्वमा नेपाल प्रहरीको टोली परिचालन हुँदैछ,' तामाङले भने, 'महाधिवेशनस्थल सहित जिल्लामा आउने भिआईपी, भिभिआईपी र विदेशी डेलिगेट्सको सुरक्षामा केन्द्रित हुनेगरी सुरक्षा योजना बनेको छ।'
मंसिर १० गते नारायणी नदी किनारमा महाविधेशन उद्घाटन पश्चात् सोही दिन रातिदेखि नै सुरक्षा व्यवस्थालाई सौराहा केन्द्रित पारिने तामाङले जानकारी दिए। 'महाधिवेशनमा आउने प्रतिनिधि सहित भिआईपी, प्रतिनिधि र विदेशी डेलिगेट्सहरु बन्दसत्र हुने होटलमा बस्ने भएकाले सोहीअनुसार सुरक्षा योजना बनाएका छौँ,' उनले भने, 'सुरक्षा घेरा साँघुरो हुने भएकाले हामीलाई व्यवस्थापन गर्न सहज हुनेछ।'
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहितको एकीकृत सुरक्षा योजना तयार भएको जानकारी दिए। जिल्लामा भएका भन्दा थप ६५० जना नेपाल प्रहरीका सुरक्षाकर्मी चितवनमा परिचालन गर्ने गरी प्रदेशसँग माग गरिएको उनको भनाइ छ। 'महाधिवेशन केन्द्रित गरी नेपाल प्रहरीको आठ सय भन्दा बढी जनशक्ति परिचालन गर्दैछौँ,' अधिकारीले भने, 'थप जनशक्ति नेपाल प्रहरी शिक्षालय भरतपुर, दङ्गा नियन्त्रण गण हेटौँडा र प्रदेश प्रहरी कार्यालयबाट आउनेछ।'
त्यस्तै सशस्त्र प्रहरीको ४५० भन्दा बढी जनशक्ति परिचालन हुने १७ नम्बर गण आँपटारीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दीपककुमार थापाले जानकारी दिए। १७ नम्बर गण र मातहतमा रहेका जनशक्तिको अलवा बाहिनी मार्फत थप २५० सुरक्षाकर्मी महाधिवेशनका लागि परिचालन गर्ने तयारी भइरहेको थापाले बताए। सशस्त्र प्रहरीले उद्घाटन सत्र र बन्दसत्र हुने स्थलको बाहिरी सुरक्षा हेर्नेछ।
त्यसैगरी जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिनका लागि राष्ट्रिय अनुसन्धान विभाग चितवनले ९० जना जनशक्ति परिचालन गरेको छ। राष्ट्रिय अनुसन्धान विभाग चितवनका उपअनुसन्धान निर्देशक शेरजङ्ग चन्दका अनुसार जिल्लामा रहेका ५० जना राष्ट्रिय अनुसन्धानका कर्मचारी सहित थप ४० जना कर्मचारी परिचालन गरेर जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिने काम भइरहेको छ।
'महाधिवेशनमा पाँच लाख जनसहभागिता हुने भनिरहँदा सुरक्षा संवेदनशीलता पक्कै रहन्छ,' चन्दले भने, 'केही स्थानको सेक्युरिटी थ्रेटबारे हामीले सुरक्षा समितिमा जानकारी गराएका छौँ।' राष्ट्रिय अनुसन्धान विभागले समग्र सुरक्षा व्यवस्थाबारे जानकारी लिने र सुरक्षा समितिमा जानकारी गराउने चन्दको भनाइ छ। राष्ट्रिय अनुसन्धान विभागले महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनार र बन्दसत्र हुने स्थान सौराहा केन्द्रित गरेर जनशक्ति परिचालन गरेको छ।
यसैबिच, जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले महाधिवेशनलाई लक्षित गर्दै थप जनशक्ति प्रदेश प्रहरी कार्यालय पोखरासँग माग गरिएको बताए। 'हामीले थप सुरक्षाकर्मी प्रदेशसँग माग गरिसकेका छौँ,' मल्लले भने, 'भोलि बिहानसम्म थप सुरक्षाकर्मी जिल्लामा आइपुग्छन्।'
नवलपुरभन्दा पश्चिमबाट महाविधेशनमा सहभागी हुन आउने सवारीसाधनलाई गैँडाकोटमा रोकिने भन्दै मल्लले नदी किनार सहितका स्थानलाई पार्किङस्थलको रुपमा प्रयोग गर्ने बताए।
नारायणगढ–बुटवल सडक विस्तारको क्रममा रहेकाले बाटोमा जाम हुनसक्ने भन्दै त्यसका लागि समेत आवश्यक संख्यामा ट्राफिक प्रहरी परिचालन गरिने मल्लले जानकारी दिए। 'हामीले नवलपरासी पश्चिम र रुपन्देहीको प्रहरीसँग समन्वय गरेर काम गरिरहेका छौँ,' मल्लले भने, मंसिर ९ गते रातिबाट नै हामीले पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डमा मालबाहक सवारीसाधन सञ्चालनमा रोक लगाउने गरी काम गरिरहेका छौँ।'
