PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सर्वोच्चदेखि बालुवाटारसम्म बारले ‘मार्चपास’ गर्ने, सबै पेशागत संगठन सहभागी हुने



पहिलोपोस्ट

सर्वोच्चदेखि बालुवाटारसम्म बारले ‘मार्चपास’ गर्ने, सबै पेशागत संगठन सहभागी हुने

काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै तीन सातादेखि आन्दोलनरत नेपाल बार एशोसिएशनले सर्वोच्च परिसरबाट प्रधानमन्त्री तथा प्रधानन्यायाधीशको सरकारी निवास परिसर बालुवाटारसम्म मार्चपास गर्ने भएको छ। मंसिर ९ गते बिहीबार दिउँसो २ बजे बारले बालुवाटारसम्म मार्चपासको कार्यक्रम तय गरेको हो।

मंगलबारको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले नागरिक समाज लगायतको सुझाव अनुसार कार्यक्रम तय गरिएको जनाए। श्रेष्ठका अनुसार मार्चपासमा सबै पेशागत संगठनहरु सहभागी हुनेछ। यसअघि बारले नेपाल इन्जिनियर्स एशोसिएशन, पत्रकार महासंघ, चिकित्सक संघ लगायतसँग आन्दोलनबारे छलफल गरेको थियो। छलफल अनुसार नै कार्यक्रम तय भएको श्रेष्ठको भनाई छ।

सम्बोधनमा श्रेष्ठले भने, ‘नागरिक समाजका सदस्यसमेतको मार्चपास हुन्छ। अब न्याय चाहने सबै उठ्नुपर्ने बेला भएको छ।’

श्रेष्ठले प्रधानन्यायाधीश बालुवाटारबाट लुकेर कार्यालय आइरहेको भन्र्द मार्चपासको कार्यक्रम तय गर्नुपरेको बताए।

आन्दोलनरत बारले सोमबार संघीय संसद्का पदाधिकारी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई ज्ञापनपत्र समेत बुझाएको छ। जबराविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाउन माग गर्दै बारले ज्ञापनपत्र बुझाएको हो।

तेस्रो चरणको विरोध कार्यक्रम अन्तर्गत अहिले बारले सर्वोच्च परिसरमा दैनिक दुई घण्टा कालोपट्टी बाँधेर धर्ना दिँदै आएको छ। तेस्रो चरणकै विरोध कार्यक्रम अन्तर्गत बुधबार (भोलि) देशभरका उच्च अदालत बार एशोसिएशनको अगुवाइमा विरोध कार्यक्रम हुनेछ। विरोध कार्यक्रमका लागि बारले केन्द्रबाट प्रतिनिधि समेत खटाउने निर्णय यसअघि नै गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell