PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

रावलको उम्मेदवारीप्रति ओलीको टिप्पणी : 'चुनौती होइन, थकाई लागेको भए म उठ्छु मात्र भन्नुभएको हो'



प्रकाश भण्डारी

रावलको उम्मेदवारीप्रति ओलीको टिप्पणी : 'चुनौती होइन, थकाई लागेको भए म उठ्छु मात्र भन्नुभएको हो'

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशनमा आफूलाई कसैले चुनौती नदिने दाबी गरेका छन्। मंगलवार काठमाडौंमा सम्पादकहरुसँग भेटका क्रममा उनले यस्तो बताएका हुन्। आसन्न एमालेको महाधिवेशनमा हुने निर्वाचनमा अध्यक्षमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिएका छन्। 

त्यसप्रति लक्षित गर्दै अध्यक्ष ओलीले भने, 'भीम रावलले चुनौती दिनुभएको छैन। सुझाव दिनुभएको छ। उहाँको स्नेहपूर्वक सुझाव हो।' ओली रावलको 'सुझाव (उम्मेदवारी)'लाई एक खालका मान्छेले मन पराउने सुझावको रुपमा टिप्पणी गरे।  रावलले आफूप्रति सम्मान देखाएको र थकाइ लागेको भए म उठ्छु मात्र भनेको उनको टिप्पणी थियो। रावलको सुझावबाट आफू प्रभावित भएको उनको भनाइ थियो। ‘मैले उठ्ने टुंगो गरेको छैन । उठ्ने टुंगो गरेँ भने निर्विरोध छोड्न पनि पाइन्छ, चुनौती दिन पनि पाइन्छ। चुनौतीलाई स्वागत गर्छु।’

'यो एक खालका मान्छेले मन पराउने सुझाव पनि हो। पार्टी बाहिरका मानिसले मलाई विश्राम लिइदिए हुन्थ्यो भन्ने चाहेका छन् तर रावलको त्यस्तो होइन,' उनले भने। 

अध्यक्ष ओलीले महाधिवेशनमा उम्मेदवारी नदिन कसैलाई पनि दबाब नदिने दाबी गरे। 'म कसैलाई नउठे हुन्थ्यो भन्दिन। दबाब दिने मनसायमा छैन। मैले उठने/नउठने निर्णय गरेको छैन। निर्णय गरेँ भने अर्कै कुरा। मैले मन पराउने वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव त्यो हो जो सर्वसम्मत वा धेरै मत ल्याएर छानिन्छ त्यो हो। म कसैलाई करकाप गरेर अवसरमा भाँजो हाल्दिन,' ओलीले भने। 

यसैबीच उनले महाधिवेशनको उद्घाटनका बेला चितवनमा देशभरबाट नेपालमा रहेका सवारी साधानले बोक्न सक्ने जति मानिसलाई उतार्ने दाबी गरे। 'नेपालका सवारी साधनले बोक्न सक्ने जति जनसमुदाय महाधिवेशनमा आउने छन्,' उनले भने, 'नभ्याउने त कहाँबाट ल्याउने? सबै खालका सवारी साधनको प्रयोग गरिने छ। जनसहभागिताको कमी हुँदैन तर त्यसलाई वहन गर्ने वाहनहरुको कमी हुन सक्छ।'

यता एमाले सचिव योगेश भट्टराईले एमालेले आफ्नो शक्ति चितवनबाट प्रकट गर्न चाहेको बताए। उनले चितवनमा पाँच लाख भन्दा बढीको जनप्रदर्शन हुने बताउँदै एमालेले महाधिवेशन पछिको चुनावमार्फत् कमब्याक गर्ने दाबी गरे।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell