काठमाडौं: आजबाट सुरु भएको यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र प्रदेश १ विजयी भएका छन्।
मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशमाथि ९ विकेटको सानदार जित निकाल्यो।
टस जितेर ब्याटिङमा उत्रिएको गण्डकीले १४.२ ओभरमा सबै विकेट गुमाउँदे २३ रनमा समेटिएको थियो। कमजोर ब्याटिङ गरेको गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ६ रन बनाउँदा कप्तान विष्णु पाण्डेले ५ रन बनाए। ६ जना ब्याट्सम्यान भने खाता नखोल्दै आउट भएका थिए।
बलिङमा ७ ओभर बलिङ गरेका लुम्बिनीका मोहम्मद हुसैनले १४ रन दिएर सर्वाधिक ७ विकेट लिँदा दुर्गेश गुप्ता र वसीर अहमेदले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले कप्तान देब खनालको अविजित १८ रन र विराट भण्डारीको अविजित ८ रनको सहायतामा १ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
आजै कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा प्रदेश १ ले वागमती प्रदेशमाथि २६ रनको जित निकाल्यो।
टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले ४५.३ ओभरमा अलआउट हुँदै १७५ रन बनाएको थियो। जसमा लव कमत र दीपक जोशीले सर्वाधिक ३३ रन बनाउँदा सोनु अन्सारीले ३२ र दीपेश कणेलले २३ रनको योगदान दिए।
बलिङतर्फ वागमतीका तिलक भण्डारी र क्रिस कार्कीले समान ३/३ विकेट लिँदा प्रतिश जिसीले २ विकेट लिए। त्यस्तै गौतम केसी र विवेक मगरले १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको वागमती ३१.४ ओभरमा १४९ रनमा समेटियो। वागमतीका विपिन शाहीले सर्वाधिक ४३ रन बनाउँदा विवेक मगरले ४२ रन जोडे। त्यस्तै प्रतिक श्रेष्ठ र तिलक भण्डारीले समान १०/१० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।
बलिङतर्फ लव कमतले सर्वाधिक ५ विकेट लिँदा दीपेश कणेडले ३ र दीपेश जोशीले १ विकेट लिए।
