PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

राष्ट्रिय जनगणनाबारे स्थानीयको अनभिज्ञता : ‘चुनावको लागि आएको भन्दै गणकसँग झर्किन्छन्’



निशा गुरुङ

राष्ट्रिय जनगणनाबारे स्थानीयको अनभिज्ञता : ‘चुनावको लागि आएको भन्दै गणकसँग झर्किन्छन्’

हेटौँडा : अहिले बिहानदेखि बेलुकी जुनसुकै बेला तपाईँ हाम्रो घरघरमा केन्द्रीय तथ्याङ विभागले खटाएका गणक आइपुग्न सक्छन्। ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नारासहित राष्ट्रिय जनगणना-२०७८ गत कात्तिक २५ गतेदेखि जारी छ। १२ औँ राष्ट्रिय जनगणनामा गणकले परिवार संख्यादेखि जोखिम र विपद् तथा हात-हातमा बोक्ने मोबाइल समेतका ८० वटा प्रश्न सोध्छन्।

जनगणनामा आम सहभागिता पनि उत्साहजनक छ। जनगणना मुलुकको यथार्थ बुझ्न सबैभन्दा प्रभावकारी माध्यम भएकाले आम जनताले हरेक प्रश्नको सही जवाफ दिन र जनगणनामा सहभागी हुन आवश्यक छ। राष्ट्रिय जनगणनामा आम नागरिकको सहभागिता उत्साहजनक देखिए पनि गणकहरु भने हैरान भइरहेका छन्। संघीयता कार्यान्वयनपछिको पहिलो र विगतमा भन्दा विस्तृत तथ्यांक संकलनको लक्ष्य राखिएको जनगणनालाई सफल बनाउन तथ्यांक विभागले पनि अपिल गरेको छ।

रोजगारीको अवस्था, खानेपानी, इन्टरनेटदेखि लिएर सरसफाइको कुराहरुसम्म सोध्ने गर्दा स्थानीयहरु झर्किने, रिसाउने र गाली गर्ने गरेको गणकहरु बताउँछन्। गणकहरु घरमा गएर रेडियो, टिभीदेखि अनेकौँ प्रश्न गर्दै गर्दा उनीहरुलाई उल्टै कति तलब दिन्छन्? यो केका लागि हो? भनेर प्रतिप्रश्न गर्दै जवाफ दिन हिचकिचाउने गरेको गणक बताउँछन्।

त्यसो त जनगणना भन्नाले मान्छेको टाउको गन्ने भ्रम पनि छ। लामो प्रश्नावली देख्दा कतिपय उत्तरदाताले झन्झट मान्ने गरेको भन्दै जनगणनामा सहभागीहरुलाई रेडियो छ की छैन? बाइक छ कि छैन? पैसा कति छ? खाता कति वटादेखि लिएर अनेकौँ प्रश्न गरेकोमा उनीहरु काम नपाएर आएको भन्दै झर्किने गरेको एक गणकले बताइन्।

हेटौँडा उपमहानगरपालिका-८ कमानेमा खटिएकी जेनिशा घिमिरेले जनगणनामा सहभागी गराउन निकै असहज भएको बताउँछिन्। कतिपयले त चुनाव आउन थालेकाले बल्ल खोज्दै आउन थाल्यो भन्ने जस्ता आरोप लगाउने गरेको उनले बताइन्।

‘हामीले जनगणनाको बारेमा सबै जानकारी दिँदा पनि कतिपयले बुझ्दैनन्, चुनाव नजिकिदै गर्दा स्थानीयलाई दुःख दिने काम गरेको भनेर गाली गर्छन्’, उनले भनिन्, ‘चुनावको लागि हो भनेर थर्काउछन्।’

त्यस्तै, कैलाश गाउँपालिका ६ नम्बर वडामा खटेका एलिश लामाले पनि गणना गर्न कठिन भएको बताए। गाउँघरमा पुग्ने बित्तिकै हामी त कसैलाई भोट दिदैनौँ भन्ने जस्ता कुरा गर्ने गरेको उनले बताए। कतिपयले जनगणनाको बारेमा जानकारी नहुँदा समस्या भएको र धेरै बेरसम्म सहजीकरण गरेपछि मात्रै बुझ्ने गरेको उनले बताए।

‘त्यस्तो होइन भनेर सम्झाउँदा धेरै ठूलो कुरा नगर नानी बाबु भनेर भन्नुहुन्छ,’ लामाले भने।

तथ्यांक विभागले जनगणनामा सोधिएका प्रश्नहरुको सही जवाफले भोलिका दिनमा राष्ट्रिय निती निर्माणमा योगदान पुग्ने वाग्मती प्रदेश जनगणनाको कार्यालय हेटौँडाका जनगणना अधिकारी राजेश दास बताँउछन्। जनगणनाका लागि मकवानपुरमा ५ सय ६८ जना गणक र १ सय ४१ जना सुपरीवेक्षक खटिएका छन्। जनगणना कार्य मंसिर ९ गतेसम्म चल्ने जनगणना अधिकारी दासले जानकारी दिए।

‘राष्ट्रिय जनगणना १५ दिनसम्म सञ्चालन हुनेछ। गणक तथा सुपरीवेक्षकहरु घर-घरमा खटिसकेका छन्’, उनले भने, ‘यसका लागि ब्लक छुट्याएका छौँ। एउटा ब्लकमा करिब २ सय ५० घर पर्नेछ।’

दासले जनगणनाका लागि घरघर आउने गणक तथा सुपरीवेक्षकलाई सही सूचना दिएर सहयोग गर्न अनुरोध गरे।

‘जनगणनामा खटिएकाहरुलाई सबैले सत्यतथ्य सूचना दिनुहोला, जसले गर्दा सही तथ्यांक समावेश हुनेछ र नीति निर्माणमा समेत सघाउ पुग्नेछ,’ उनले भने।

गणक तथा सुपरीवेक्षकको लागि मकवानपुरको विभिन्न ७ स्थानमा तालिम सञ्चालन गरिएको थियो। एउटा घरमा कम्तिमा ३० मिनेट समय लाग्ने जानकारी दिँदै कार्यालयका कर्मचारी विपिन सुवेदीले सकेसम्म सम्बन्धित गाउँका व्यक्तिलाई नै गणकको रुपमा खटाइएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell