
काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट ७९१ मत पाउँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए। प्रधानमन्त्रीसमेत रहेका देउवाले मञ्जुरीनामामार्फत खुल्ला पुरुषतर्फ उम्मेदवारी दिएका थिए।
डडेल्धुराबाट देउवा सबैभन्दा धेरै मत पाएर निर्वचित भएको जिल्ला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए। नेपाली कांग्रेसको विधानको प्रावधान हेर्ने हो भने पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मले महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन लड्नु नै पर्दैन। विधानको उक्त व्यवस्था संशोधन पनि भएको छैन।
कांग्रेसको विधानको धारा १५ को उपधारा १ (ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्य स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ। तर देउवाले महाधिवेशन प्रतिनिधिमा निर्वाचन लडे। र जिते पनि।
यसबारे कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठलाई प्रश्न गर्यौ। श्रेष्ठले यो उम्मेद्वारी स्वेच्छिक भएको बताए।
'उहाँहरुको इच्छामा उठ्न पाइन्छ। सभापति शेरबहादुर देउवा, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत पनि उठ्नु भएको छ,' श्रेष्ठले पहिलोपोस्टसँग भने।
त्यस्तो अवस्थामा केन्द्रीय सदस्य र पदाधिकारीको स्थानमा हुने महाधिवेशन प्रतिनिधि थप चयन हुन्छ कि? प्रश्नको जवाफमा श्रेष्ठले भने, 'उहाँहरुको स्थान रिक्त पनि हुँदैन। निर्वाचनमा गएर हारेको खण्डमा विधानले गरेको व्यवस्थाअनुसार पनि उहाँहरु महाधिवेशन प्रतिनिधि बन्न पाउनुहुन्न।'
यसले एक जना मतदाता उनीहरुलाई नै घाटा लाग्ने देखिएको छ।
'आफैँलाई घाटा लाग्ने काममा नेताहरु किन लागेका होलान्र्' वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका एक महाधिवेशन प्रतिनिधिले प्रश्न गरे, 'अर्को आफ्नै क्षेत्रको व्यक्तिले नेतृत्व गुमायो।'
प्रत्यक्षबाट निर्वाचित भएर आएको हुँ भनेर देखाउनका लागि पनि नेताहरुले आफू प्रत्यक्ष निर्वाचनमा गएको हुनसक्ने ती प्रतिनिधिले बताए। यद्यपि यस्तो गर्दा आफ्नै क्षेत्रको एक नेताले अवसर गुमाउने ती नेताको भनाई थियो।