PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ओली गुटमै टकराव आउँदा एमाले महाधिवेशन निर्वाचनतर्फ! बन्ला त नेम्बाङ-पौडेल समीकरण?



प्रकाश भण्डारी

ओली गुटमै टकराव आउँदा एमाले महाधिवेशन निर्वाचनतर्फ! बन्ला त नेम्बाङ-पौडेल समीकरण?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरुमा नेतृत्व चयनबारे बेमेल देखिएको छ। पदाधिकारीका लागि ओली समूहका नेताहरु गुटगत रुपमा लबिङ गर्न थालेका छन्। यसले वरिष्ठ उपाध्यक्ष र महासचिव पदका लागि ओली समूहकै नेताहरुबिच प्रतिस्पर्धा हुने सम्भावना छ।

स्थायी कमिटी सदस्य सुवास नेम्बाङले पनि वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने तयारी थालेका छन्। उनले तयारी थालेसँगै एमालेको पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयन गर्ने ओलीको गृहकार्य बिफल भएको हो। महाधिवेशन आउन २ दिनमात्रै बाँकी रहँदा ओली समूहकै नेता आपसमा भिड्ने तयारीमा छन्।

महासचिव ईश्वर पोखरेलले यसअघि नै वरिष्ठ उपाध्यक्षका लागि दाबी गरेका थिए। उनले अध्यक्षमा ओलीलाई सघाएको र दुई कार्यकाल महासचिव भइसकेकाले आफू वरिष्ठ उपाध्यक्षका लागि योग्य भएको बताइरहेका छन्।

ओलीसँग लबिङ

एमालेका नेताहरुले अध्यक्ष ओलीसँग १० औं महाधिवेशनका बारेमा केही दिनयता छलफल गरिरहेका छन्। मुख्यगरी पद बाँडफाँडका बिषयमा सहमति हुन नसकेपछि ओलीले बालकोटमा केही समययता लगातार छलफल गरिरहेका छन्। पद बाँडफाँडको गृहकार्यमा ओली ब्यस्त भएपछि सोमबारको स्थायी कमिटीको बैठक स्थगित गरिएको थियो। ओलीले भने नेतृत्व छनोटका बिषयमा मुख खोलेका छैनन्। स्थायी कमिटी सदस्य नेम्बाङले ओली नेतृत्वका बारेमा मौन रहेको बताए।

'उहाँले कसैलाई पनि केही भन्नु भएको छैन। को के पदमा उठ्ने भन्ने भएको छैन,' उनले भने। मंगलवार सम्पादकसँगको अन्तक्रियामा ओलीले सर्वसम्मतका लागि आफूले दबाव नदिने बताएका थिए। उनले पदाधिकारी चयनमा निर्वाचन हुने संकेत गर्दै भनेका थिए, 'म कसैलाई नउठे हुन्थ्यो भन्दिनँ। दबाव दिने मनासय छैन। म करकाप गरेर अवसरमा भाँजो हाल्दिनँ।' ओलीले अध्यक्षमा उपाध्यक्ष भीम रावलले आफूलाई अध्यक्षमा चुनौति नदिएको बताएका थिए। उनले नेतृत्व चयनमा सर्वसम्मत भए राम्रो हुने भए पनि लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुन सक्ने बताए।

नेम्बाङ-पौडेल समीकरण बन्ला?

जसरी वरिष्ठ उपाध्यक्षमा नेम्बाङ र पोखरेलबिच प्रतिस्पर्धा हुने देखिएको छ त्यसैगरी महासचिवमा पनि अहिलेको उपमहासचिव विष्णु पौडेल र लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलबिच पनि प्रतिस्पर्धा हुने देखिएका छ। नेम्बाङलाई अघि सारेर पौडेलले महासचिवका लागि दाबी गरिरहेका छन्। ओली निकट एक नेताका अनुसार अहिले मुख्यगरी नेतृत्वका लागि संस्थापन पक्षमै दुई समूह देखिएको छ।

जसमा एकातिर नेम्बाङ,पौडेल, महेश बस्नेत लगायतका नेताहरु छन् भने अर्कोतिर ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु रिमाल लगायतका नेताहरु छन्। महाधिवेशनको मुखमा ओली समूहभित्रै दुईधार देखिए पनि एमाले विवादकै बेलादेखि यी दुबै समूह सक्रिय रहेका थिए। तत्कालीन वरिष्ठ नेता माधव नेपालसँग कस्तो सम्बन्ध राख्ने भन्नेबारेमै ओली समूहका नेताहरुबिच फाटो आएको थियो।

ओलीको रणनीति चुनाव

सर्वसम्मत नेतृत्व चयनका लागि केही समययता गृहकार्य गरेका ओलीले पछिल्लो समय निर्वाचन गर्नुपर्नेमा जोड दिन थालेका छन्। एमाले विभाजनपछि एक ढिक्का भएको सन्देश दिन सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा ओलीले जोड दिँदै आएका थिए। त्यसैअनुरुप महाधिवेशन प्रतिनिधि छनोटमा सर्वसम्मत प्रणाली अपनाइएको थियो। तर, ओलीले आफ्नै समूहमा विभाजन आउन थालेपछि सर्वसम्मत भन्दा निर्वाचन उपयुक्त हुने बताउन थालेका हुन्।

एमाले भित्रको १० बुँदे सहमतिमार्फत आउने नेता, पूर्व माओवादी र ओली समूह गरी तीन पक्ष रहेको थियो। यसमा सबै पक्षलाई समेटन ओलीले सर्वसम्मतको गृहकार्य गरेका थिए। तर ओली निकट नेताहरुले दाबी नछोडेपछि एमाले महाधिवेशन अब निर्वाचन तर्फ मोडिने भएको छ। ओली इतरका नेताहरुले भने पद बाँडफाँडका बिषयमा खासै मुख खोलेका छैनन्। उनीहरुमध्य भीम रावलले भने अध्यक्षमा उम्मेद्वारी दिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell