कैलाली : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा देखिएको विवाद समाधान नभए सत्तारुढ गठबन्धनले केहीदिन भित्रै आवश्यक कदम चाल्ने बताएका छन्।
बुधवार बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले न्यायलयमा जारी विवादका विषयमा ५ दलीय गठबन्धनले एकदुई दिन भित्रै थप कदम चाल्ने बताएका हुन्। सकेसम्म न्यायलयको विवाद न्यायलयले नै निरूपण गर्नुपर्ने र त्यसो हुन नसके केही दिन भित्रै ५ दलीय गठबन्धनले एककदम माथि उठेर निर्णय लिने उनले बताए।
‘न्यायालयको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘छिटो भन्दा छिटो यो विषय अदालत आफैले समाधान गरोस् भन्ने हाम्रो चाहना हो। त्यसो हुन नसके आजभोलिको परिस्थिति हेरेर जरुरी पर्यो भने गठबन्धनले एक स्टेप अघि बढेर सोचाइ बनाउनेछ।’
प्रचण्डले राष्ट्रिय सहमति नभएसम्म एमसीसी संसदबाट पारित नहुने समेत बताएका छन्। बुधवार बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यो सम्झौताका विषयमा उठेका प्रश्नको जवाफसहित राष्ट्रिय सहमति नभएसम्म एमसीसी पारित नहुने बताएका हुन्। दलहरूको अधिवेशन पछि मात्रै एमसीसी बारेमा छलफल हुने उनले बताए।
पहिलो पटक सम्झौता गरिँदा संसदबाट पारित हुनुपर्ने प्रावधान एमसीसीमा नरहेको र एमालेको सरकारका बेला एमसीसी सदनबाट पारित हुनुपर्ने गरी दोस्रो सम्झौता भएको उनले बताए। अमेरिकाको सहायक विदेश मन्त्री आएपश्चात् आफूले राष्ट्रिय सहमति गराउनुपर्न भनेर पहल गरेको र त्यसमा ५ दलीय गठबन्धनको सहमति भएको उनको दाबी छ।
‘यो विषयमा प्रमुख राजनीतिक दल, सम्पादकहरू लगायतसँग छलफल पछि राष्ट्रिय सहमति बनाएर अघि बढ्ने कुरा रहन्छ,’ उनले भने, ‘यो विषय कसैसँग लुकाएर पास गरिने कुरा होइन।’
प्रचण्डले ५ दलीय गठबन्धन आगामी राष्ट्रियसभा देखि स्थानीय तहको निर्वाचनसम्म कायमै रहने दाबी गरे।
