PahiloPost

May 15, 2024 | २ जेठ २०८१

कांग्रेस महाधिवेशन : गुल्मी, पाल्पा र अर्घाखाँचीमा छानिए क्षेत्रीय सभापति



पहिलोपोस्ट

कांग्रेस महाधिवेशन : गुल्मी, पाल्पा र अर्घाखाँचीमा छानिए क्षेत्रीय सभापति
फाइल फोटो

बुटवल : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गुल्मी, पाल्पा र अर्घाखाँचीमा क्षेत्रीय सभापति चयन भएका छन्।

गुल्मीको क्षेत्र नम्बर १ बाट पारिश्वर ढकाल सभापतिमा निर्वाचित भएका छन्‍। सत्यवती गाउँपालिका अध्यक्षसमेत रहेका ढकालले सभापतिका अर्का आकांक्षी मुक्ती कँडेललाई ३६२ मतान्तरले पराजित गरेका हुन्।

कुल ९३२ मत मध्ये ढकालले ६२७ र कँडेलले २६५ मत प्राप्त गरेका छन्। सचिवमा माधवप्रसाद ढकाल र मार्काण्ड भण्डारी निर्वाचित भएका छन्। ढकालले ४६१ र भण्डारीले ४२३ मत प्राप्त गरेका छन्। सहसचिवमा मधुसुदन ज्ञवालीले ४४९ र डिल्लीराज पाण्डेले ३९० मत प्राप्त गरेर निर्वाचित भएका छन्।

यसैगरी, क्षेत्र नम्बर २ मा चन्द्रबहादुर महत सर्वसम्मत क्षेत्रीय सभापतिमा चयन भएका छन्। सभापतिका आकांक्षी महत र शिव केसी थिए। उनीहरूबिचबाट महतले सर्वसम्मत सभापति पाएका हुन्। सचिवमा लालमणि भण्डारी र अनिल बस्नेत निर्वाचित भएका छन्। भण्डारीले ४५८ र बस्नेतले २९३ मत प्राप्त गरेका छन्। त्यस्तै सहसचिवमा कृष्णप्रसाद पाण्डे र अर्जुन गिरी सर्वसम्मत चयन भएका छन्।

त्यस्तै, पाल्पाका दुवै निर्वाचन क्षेत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट क्षेत्रीय सभापति निर्वाचित भएका छन्। क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा पौडेल समूहका झमानराज मगर निर्वाचित भएका छन्। मगरले सभापतिका अर्का आकांक्षी विष्णु बमरेललाई २३६ मतान्तरले पराजित गरेका हुन्। ३४८ मत ल्याएर मगर विजयी हुँदा देउवा समूहका बमरेलले ११२ मत प्राप्त गरेका छन्।

क्षेत्र नम्बर २ मा मुक्तिराम जिसी विजयी भएका छन्। जिसीले सभापतिका अर्का आकांक्षी यादवसिंह कार्कीलाई २४६ मतान्तरले पराजित गरेका हुन्।

जिसीले ४६० मत ल्याएर विजयी हुँदा संस्थापन पक्षका उम्मेदवार कार्कीले २१४ मत पाए। क्षेत्र नम्बर २ का अरु पदाधिकारीहरु भने निर्विरोध भएका छन्।

पाल्पाका चार प्रदेशसभा क्षेत्रमध्ये तीन क्षेत्रीय सभापतिमा पौडल समूह विजयी भएको छ। दुवै पक्षले सबै क्षेत्रमा प्यानल बनाएरै निर्वाचनमा सहभागी भएका थिए। क्षेत्र नं. १ (क) को सभापतिमा रामबहादुर राना र १ (ख) मा युवराज पौडेल तथा क्षेत्र नम्बर २ (क) मा लक्ष्मी अधिकारी र क्षेत्र नम्बर २ (ख) मा रुक्मांगत भट्टराई निर्वाचित भएका छन्।

यता, अर्घाखाँची जिल्ला सभापतिमा केशव श्रेष्ठ निर्वाचित भएका छन्। निर्वाचनमा श्रेष्ठले ७३१ मत ल्याएर विजयी भएका हुन्। श्रेष्ठ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन्।

उनका प्रतिस्पर्धीहरू इन्द्रमणि पौडेलले ३५२ र यादव घिमिरेले ३०९ मत ल्याएका थिए। पार्टी सभापति शेरबहादुर देउवा पक्षले सभापतिमा यादव घिमिरेलाई उम्मेदवार बनाएको थियो।

यसअघिका सभापति विष्णुप्रसाद खनाल मुस्कानले पनि सभापतिमा उम्मेदवारी दिएकोमा उनले श्रेष्ठलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell