PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

नेपाली कांग्रेस प्रदेश १ को अधिवेशनमा १ करोडभन्दा बढी रकम खर्च हुने, १७ सयभन्दा बढी प्रतिनिधि



पहिलोपोस्ट

नेपाली कांग्रेस प्रदेश १ को अधिवेशनमा १ करोडभन्दा बढी रकम खर्च हुने, १७ सयभन्दा बढी प्रतिनिधि

विराटनगर : नेपाली कांग्रेसको प्रदेश नम्बर १ को अधिवेशनमा १ करोड रुपैयाँभन्दा बढी खर्च हुने भएको छ।

प्रदेशभरका १ हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने दुई दिने अधिवेशनमा १ करोडभन्दा बढी खर्च हुने अधिवेशन आयोजक समितिअन्तर्गत अर्थ समितिका संयोजक एवम् मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बूले जनाकारी दिए। अधिवेशन मंसिर १० देखि सुरु हुनेछ।

अधिवेशनको प्रचार समितिद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा संयोजक लिम्बूले प्रत्येक सहभागीले २ हजार रुपैयाँ दर्ता शुल्क बुझाउनु पर्ने प्रावधानका कारण ३५ लाख रुपैयाँ आन्तरिक रूपमा संकलन हुने बताए। लिम्बूले बाँकी ६५ लाखभन्दा बढी रकम दानदातव्य र चन्दासहयोगबाट जम्मा गरिने बताए।

भने, ‘सभापतिका उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए पुनः मतदान गर्नुपर्ने हुन्छ। त्यस अवस्थामा अधिवेशन एक दिन लम्बिने छ र खर्च अझ बढ्नेछ। यस अवस्थामा १ करोड ५० लाखभन्दा बढी खर्च हुनेछ।’

अधिवेशन प्रचार समितिका संयोजक एवम् सुनसरी कांग्रेसका सभापति राजीव कोइरालाका अनुसार प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट चुनिएका महाधिवेशन प्रतिनिधि पनि प्रदेश अधिवेशनमा प्रतिनिधि हुन पाउने वैधानिक व्यवस्था छ। प्रदेश नम्बर १ मा २८ संघीय निर्वाचन क्षेत्र छन्। एक क्षेत्रबाट २५ जनाका दरले प्रतिनिधि आउँदा ७ सय प्रतिनिध हुनेछन्। यसबाहेक प्रदेशका ५६ वटा प्रदेश निर्वाचन क्षेत्रबाट १७ जनाका दरले ९५२ प्रतिनिधि पनि अधिवेशनमा सहभागी हुनेछन्।

साथै प्रदेशका १९ केन्द्रीय सदस्य र भ्रातृ तथा शुभेच्छुक संस्था पनि अधिवेशनका प्रतिनिधि हुनेछन्। अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश नम्बर १ का संयोजक कृष्ण सिटौलाले गर्ने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell