चितवन : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। १० गतेदेखि चितवनमा हुने महाधिवेशनका लागि अहिले चितवनलाई सजाउने कार्य भइरहेको छ।
यसैक्रममा बन्दसत्र हुने स्थान सौराहको होटल सेभेन स्टारको पर्खालमा कलात्मक चित्र कोरिएको छ। 'समृद्ध नेपाल सुखी नेपाली'को थिममा आयोजना गरिएको चित्रकला प्रतियोगितामा चितवन र नवलपुरका ५७ जना कलाकार सहभागी थिए। उनीहरुले होटलको २०० मिटर लामो पर्खालमा चित्र कोरेका हुन्।
नेकपा एमाले दशौँ राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिको संयोजनमा सिर्जनशील ललितकला संघ र प्रगतिशील ललितकला संघको आयोजनामा चित्रकला आयोजना गरिएको थियो।
कलाकारहरुले देशले शान्ती चाहेको आकृति, आँखाको नानीमा सूर्य चिन्हभित्र विकासका सूचक झल्कने चित्र, कृषिमा क्रान्तिको खाँचो औँल्याउने खालका चित्र, स्वयम्भु, धरहरा, परेवा, दुर्लभ पाटेबाघ सहितका चित्रहरु कोरेका थिए। उत्कृष्ट चित्र बनाउने कलाकारलाई एमालेको महाधिवेशन उद्घाटनका दिन अध्यक्ष केपी शर्मा ओलीले नगद र प्रमाणपत्र सहित पुरस्कृत गर्ने बतताइएको छ।