PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सर्वोच्चमा मंसिर १५ गतेदेखि गोला प्रणालीबाट पेसी, यसरी हुनेछ इजलास गठन



पहिलोपोस्ट

सर्वोच्चमा मंसिर १५ गतेदेखि गोला प्रणालीबाट पेसी, यसरी हुनेछ इजलास गठन

काठमाडौँः सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रणालीबाट पेसी व्यवस्थापनका लागि न्यायाधीशहरु सहमत भएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग असन्तुष्ट रहेका न्यायाधीशबीच बुधबार भएको परामर्श अनुसार बिहीबारको बैठकले गोलाबाट पेसी तोक्नेबारे निर्णय गर्नेछ। मंसिर १५ बाट गोला प्रणालीदेखि पेसी तोक्ने विषयमा न्यायाधीशहरु भने एकमत छन्। 

सर्वोच्च अदालतको हालै संशोधित नियमावली अनुसार पूर्ण बैठक (फूलकोर्ट) बाट निर्णय भएपछि गोला प्रणालीबाट पेसी व्यवस्थापन हुने उल्लेख छ। पूर्ण बैठकको निर्णयलाई राजपत्रमा प्रकाशन गरेपछि उक्त निर्णय लागू हुनेछ। 

सर्वोच्चका एक न्यायाधीशले बिहीबार औपचारिक रुपमा निर्णय हुने बताए। उनले भने, ‘मोटामोटी रुपमा त हामीबीच मंसिर १५ बाट गोला प्रणालीमा जाने सहमति भयो। हामी भोलि औपचारिक निर्णय गरेर प्रधानन्यायाधीशसमक्ष पठाउँछौँ। आवश्यक प्रक्रिया पूरा भएपछि लागू हुन्छ।’

यसअघि पनि नियमावली संशोधन र कार्यविधि निर्माण प्रधानन्यायाधीश बिनाकै बैठकले गरेको थियो। उक्त निर्णयलाई पछि प्रधानन्यायाधीशले हस्ताक्षर गरेपछि राजपत्रमा प्रकाशित भएको थियो। नियमावली राजपत्रमा प्रकाशित भएपछि गोलाबारे दोस्रो निर्णय भएको हो। 

कसरी तोकिन्छ पेसी
मुद्दा महाशाखाको विवरण अनुसार अदालतमा अब प्रत्येक दिन सबै न्यायाधीश र मुख्य रजिस्टारको उपस्थितिमा बिहान १० बजे  गोलाबाट पेसी तोकिनेछ। मुद्दा व्यवस्थापनको गोपनीयताको मुख्य दायित्व मुख्य रजिस्टारमा हुनेछ।

साप्ताहिक तथा दैनिक पेसी सूची र भैपरी सूची समेतका आधारमा दैनिक रुपमा बृहत् पूर्ण, पूर्ण, एकल र संयुक्त इजलास गठन हुनेछ। गोला प्रयोजनका लागि समान रुप, रुङको गोटी प्रयोग हुनेछ। 

यसरी तानिएको गोटीको अभिलेख कम्युटरमा पनि राखिनेछ। 

जस्तोः सर्वोच्चमा १८ न्यायाधीश भएमा गोलाका लागि १ देखि १८ अंक अंकित गोटी थैलीमा राखिनेछ। यसरी गोटी तान्दा वरिष्ठताका आधारमा न्यायाधीशले तान्ने व्यवस्था मिलाइने छ। 

बृहत् पूर्ण इजलास गठन हुनुपर्ने भएमा जति न्यायाधीशको गठन हुने हो सोही आधारमा ववरिष्ठताका आधारमा क्रमशः एक देखि न्यायाधीश संख्यासम्म गोटी तानिने छ। एकमात्र पूर्ण इजलास भएमा एकदेखि तीनसम्मका गोटी तान्न लगाइने छ। दुई पूर्ण इजलास रहने भएमा क्रमशः ४ देखि ६ सम्मका गोटी राखिने छ। र, दुई इजलास गठन हुनेछन्। 

बृहत् पूर्ण इजलासपछि पूर्ण इजलास पनि गठन गर्नुपर्ने दिनमा बृहत् पूर्ण गठनपछिका पहिला तीन गोटी ६, ७ र ८ को गोटी तान्ने न्यायाधीश पूर्ण इजलासमा रहनेछन्। बृहत् पूर्णका लागि १ देखि ५ सम्मका गोटी कायम हुनेछन्।

पूर्ण इजलास नभएको दिनमा भने एकल इजलास गठन भएपछि मात्र संयुक्त इजलास गठन हुनेछ। 

गोला प्रणालीबाट पेसी तोकिँदा पनि हेर्दाहेर्दैका मुद्दा र निर्णय सुनाउने मिति तोकिएको दिनमा तीन न्यायाधीशलाई बाहेक गरेर मात्र गोला तान्न लगाइनेछ। हेर्दाहेर्दैको इजलास पेसी तोकिएको दिनमा स्वतः गठन भएको मानिने छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell