PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अष्टलक्ष्मीको अडान, 'उपाध्यक्षभन्दा तलमाथि हुँदैन'



निशा गुरुङ

अष्टलक्ष्मीको अडान, 'उपाध्यक्षभन्दा तलमाथि हुँदैन'

चितवन : नेकपा (एमाले) लाई यतिखेर महाधिवेशनको चटारो छ। १०औं महाधिवेशनका लागि अहिले एमालेका नेता कार्यकर्ता चितवन पुगिरहेका छन्। महाधिवेशनको संघारमा अहिले पदका लागि आकांक्षी नेता बढिरहेका छन्। नवौं महाधिवेशनबाट एमालेमा एक मात्र महिला पदाधिकारी रहेकी अष्टलक्ष्मी शाक्‍य फेरि उपाध्यक्षमै लड्ने योजनामा छिन्। माधवकुमार नेपालको साथमा रहेकी शाक्य पार्टी एकताका लागि भन्दै एमालेमै बसेकी थिइन्। पार्टीबीच शक्ति संघर्ष चलिरहँदा केही समयका लागि वाग्मतीकी मुख्यमन्त्री बनेकी शाक्यको एमालेमा अब कस्तो उपस्थिति रहला? महाधिवेशनका लागि चितवन पुगेकी शाक्यसँग पहिलोपोस्टकर्मी निशा गुरुङले सोधिन्:-

पहिलो महिला मुख्यमन्त्री बन्नुभयो। कस्तो रह्यो छोटो सफर?

सफर छोटो थियो तर, अनुभव धेरै लिन पाएँ। भर्खरै सुरुवात भएको संघीयताको नयाँ संरचना थियो। सरकारमा बसेर गर्नुपर्ने काम धेरै रहेछन्। गर्न सकिने काम पनि धेरै रहेछन्। मैले छोटो समयमा पनि सरकारमा बसेर नीति योजना तुरुन्त तयार पारेर राम्रो समूह बनाउन सकेँ। समाजवादको लक्ष्य प्राप्त गर्न योजना आयोगमा छलफल गरेर योजना अघि बढाएका छौं। स्वास्थ्य मन्त्रालय पनि हामी गठन गर्‍यौं। छोटो सफरमा पनि राम्रो योजना बन्यो। कतिपय योजनाहरु समयको अत्यन्तै अभावले गर्दा अध्ययन गर्दागर्दै काम गर्न पाइएन।

आफू हट्नुपर्छ भनेर थाहा हुँदाहुँदै मुख्यमन्त्री बन्नुभयो। अहिले एमालेको महाधिवेशनमा पनि तपाईंलाई हटाउनपर्छ भन्ने कुरा सुनिन्छ नि?

त्यस्तो छैन। हटाउनुपर्छ भन्ने कसैले सोचेको जस्तो मलाई लाग्दैन। किनभने मलाई पार्टीका अध्यक्ष केपी कमरेड आफैँले वाग्मती प्रदेशको सरकारमा जान सुझाव दिनुभएको थियो।

एमालेमा यति धेरै महिला नेतृहरु छन्। तर, नेतृत्वमा वा भनौं पदाधिकारी महिला नेतृत्व गौण छ। अहिलेको महाअधिवेशनमा पनि यस्तै देखिने सम्भावना छ नि।

पार्टीमा महिलाहरु धेरै छन्। दुःख गरेका त्याग गरेका महिलाहरु नभएका होइनन्। महिलाहरुले पनि आन्दोलनमा त्याग गरेका छन्। मैले पार्टीमा यो कुरा पनि राखेको छु। महिलालाई पनि विश्वास गर्नुपर्छ र पदाधिकारीमा महिलालाई पनि अवसर दिनुपर्छ भनेर मैले पटक-पटक भन्दै आइरहेको छु तर वास्तवमा भन्नुपर्दा हाम्रो नेपाली समाजले अहिलेसम्म पितृसतात्मक अवस्था छोड्न सकेको छैन। तर, यसपाली महाधिवेशनमा महिलाहरु तयार गरेका छौं।

मैले पनि उपाध्यक्ष जस्तो पद सजिलै पाएको होइन। काम गर्दैगर्दा लड्दै पाएको हुँ। मैले महिला नेतृहरुलाई सशक्त हुन्। र पदाधिकारीमा दाबी गर्नुभनेको छु। यो महाधिवेशनमा उहाँहरुले दाबी गर्न हुनेछ। सक्षम महिलाहरु आरक्षणमा जानु हुँदैन, उनीहरु प्रतिस्पर्धामा जानुपर्छ।

ओलीले महाधिवेशनमा चुनाव भए होस् भन्नुभएको छ। के तपाईंहरुलाई साइड लगाउन खोजिएको हो?

अहिले हिजोको जस्तो अवस्था होइन। हिजोको दिनमा सर्वसम्मत हुन्थ्यो तर केन्द्रिय कमिटीमा प्रतिस्पर्धा नै गर्नुपर्छ जस्तो मलाई लाग्छ। र, साइड लगाउन खोजिएको जस्तो मलाई लाग्दैन। सबै छलफल गरेर पार्टीलाई अबको महाधिवेशनबाट कुन दिशामा लैजाने भन्ने हाम्रो योजना हो।

ओलीको नेतृत्वलाई कडा आलोचना गर्ने तपाईं नै हो। अहिले अध्यक्ष पनि ओली नै हुनुपर्छ भन्ने तपाईं नै। तपाईंको यूटर्न के का लागि?

मैले पार्टीले गलत काम गर्दा नबोलेको पनि होइन। पहिला बाहिर बोल्यो अब पार्टीभित्रै बसेर कमीकमजोरीलाई मिलाउनुपर्छ। र, माधव नेपाल कमरेड पार्टी त्यागेर जानुभएपछि दुःख गरेर बनाएको पार्टीलाई जोगाउन अध्यक्ष ओली नै नेतृत्व गर्नुपर्छ भन्ने हो। पहिला माधव नेपालजी नै सल्लाह गर्नहुन्थ्यो हामीलाई जानकारीसम्म हुँदैन थियो। तर अहिले केही वातावरण मिलेको छ। हिजोको कमी कमजोरीलाई सच्याउँदै जानुपर्छ पार्टी।

फेरि पनि झगडा भयो भने पार्टीको हालत कुन अवस्थामा पुगिएला? त्यसैले अब हामी सबै एकमन एकमतका साथ पार्टीलाई मिलाएर जानुपर्छ। मैले अध्यक्ष केपी कमरेडसँग पनि कुरा गरेको छु पार्टी एक ढिक्का भएर लानुपर्छ भनेर।

मैले युर्टनभन्दा पनि शैली मात्र फेरेको हुँ। हिजोको जस्तो अवस्था होइन अहिले। वातावरण नै फरक भएको हुँदा अब पार्टीभित्रै बसेर मिलाएर अगाडि जानेछौं।

अब कुन पदमा उम्मेदवारी दिनुहुन्छ?

म अहिले पार्टीको उपाध्यक्ष छु। अहिले त्यो पदभन्दा माथि जाने अवस्था पनि छैन। तर तल पनि जाने कुरा भएन। अहिले जे छु त्यही बस्ने अवस्था छ। साथीहरुले पनि त्यही सुझाव दिनुभएको छ।

मैले मै हुनुपर्छ पनि भनेको छैन। पहिला पार्टी बाँच्नुपर्छ पार्टी बचेमात्रै पद पाउने हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell