काठमाडौं : नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य शहरी क्षेत्रमा अत्यावश्यक सवारी नरोकिने भएको छ। पूर्व पश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डबाट आउने सवारीलाई पनि वैकल्पिक मार्गमार्फत व्यवस्थापन गरिने बताइएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार नारायणीको पुल, बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, बाइपास सडक र आँपटारी क्षेत्रभित्रको सडकमा अत्यावश्यकबाहेकका सवारीलाई मात्र रोक लगाइएको बताए। बिहान ९ बजेदेखि बेलुकी ५:३० बजेसम्म सवारी साधनमा रोक लगाइनेछ।
तामाङले एम्बुलेन्स, दमकल, विवाह, व्रतबन्ध, प्रेसलगायतका सवारी साधन भने व्यवस्थापन गरेर संचालन गर्न दिइने बताए।
महाधिवेशनलाई मध्यनजर गर्दै पूर्व पश्चिम राजमार्ग हुँदै आवतजावत गर्ने सवारी साधनलाई व्यवस्थापन गरिएको छ। नारायणगढ–मुग्लिनतर्फबाट आएका सवारी साधन बाइपास सडक हुँदै पूर्वतर्फ जाने छन्। पश्चिमतर्फ जानेलाई केन्द्रीय बस ट्रमिनलबाट भित्री सडक प्रयोग गरेर बाह्रघरे हुँदै नारायणी नदीको पुलबाट नवलपरासीतर्फ पठाइनेछ। त्यताबाट आएका सवारीलाई पनि भित्री सडक प्रयोग गरेर केन्द्रीय बस ट्रमिनल हुँदै गन्तव्यतर्फ पठाइनेछ।
'यात्रा गर्नेलाई सकेसम्म सहज हुने गरी व्यवस्थापन गरिएको छ। अत्यावश्यक सवारी कहीँ पनि रोकिँदैनन्' उनले भने।
मानिसको चाप धेरै भएको ठाउँमा सवारी साधनसमेत चलेमा दुर्घटना हुनसक्ने भएकाले पूर्वतयारीका साथ सावधानी अपनाइएको उनले बताउनुभयो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार सुरक्षा प्रबन्धको सबै खालको व्यवस्थापन गरिएको छ। गाडी रोकिने नाकामा सुरक्षाकर्मी रहेर सुरक्षाको व्यवस्था गर्ने छन्।
