PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

काठमाडौं क्षेत्र नं १ मा २६ वर्षीय रिकेश महर्जन बने क्षेत्रीय सचिव, प्यानलबिनै ल्याए लोकप्रिय मत



पहिलोपोस्ट

काठमाडौं क्षेत्र नं १ मा २६ वर्षीय रिकेश महर्जन बने क्षेत्रीय सचिव, प्यानलबिनै ल्याए लोकप्रिय मत

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको क्षेत्रीय अधिवेशनमा काठमाडौं प्रतिनिधिसभा क्षेत्र नं १ बाट २६ वर्षीय रिकेश महर्जन क्षेत्रीय सचिवमा विजयी भएका छन्।

क्षेत्रीय अधिवेशनमा खसेको कुल २०६ मतमध्ये उनले ११४ मत पाएका छन्। क्षेत्रीय सचिवमै उमेश तिमल्सिना १०० मत ल्याएर निर्वाचित भएका छन्।

कांग्रेस महाधिवेशनमा सभापतिका आकांक्षी प्रकाशमान सिंहको निर्वाचन क्षेत्र भएकाले पनि क्षेत्र नम्बर १ को अधिवेशनलाई महत्वका साथ हेरिएको छ।

लोकप्रिय मतसहित सचिवमा निर्वाचित भएका महर्जनले कांग्रेसको १३ औं महाधिवेशन अघिमात्रै क्रियाशील सदस्यता पाएका थिए। सोही अधिवेशनका क्रममा उनी काठमाडौं महानगरपालिका वडा नं १० को वडा कार्यसमिति सदस्य बनेका थिए। त्यसबेला उनलाई वडा कार्यसमितिको सहसचिव मनोनित गरिएको थियो।

महर्जनले त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिमा स्नातकोत्तर गरेका छन्।

महर्जनले वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिसँगै क्षेत्रीय सचिव निर्वाचित हुँदा कुनै प्यानलबाट उम्मेदवारी दिएका थिएनन्। उनी स्वतन्त्र रुपमै चुनावमा भिडेका हुन्।

महर्जनले निर्वाचित भएपछि कांग्रेसको निष्क्रियतालाई सक्रियतामा बदल्न आफु लागि पर्ने प्रतिक्रिया दिएका छन्।

‘इमान्दारिता र पारदर्शीता कायम गर्दै जिम्मेवारी निर्वाह गर्छु। आफु कम उमेरमै सक्रिय राजनीतिमा होमिएकाले अरु युवा साथीहरुलाई पनि सक्रिय हुन आह्वान गर्छु,’ उनले भने, ‘सबैको साथ र सहयोगले नै जीत सम्भव भएको छ। अपेक्षा अनुसार काम गर्छु।’

यस क्षेत्रबाट क्षेत्रीय सभापतिमा रवीन्द्र बिक्रम राणा (प्रकाश) निर्विरोध निर्वाचित भएका छन्। उनी यसअघि पनि क्षेत्र नं १ को क्षेत्रीय सभापति थिए।

यस्तै, सहसचिवमा प्रमोद अर्याल र सुदीपमान डंगोल निर्वाचित भएका छन्। अरु सबै कार्यसमिति सदस्यहरु भने निर्विरोध निर्वाचित भएका छन्।

उक्त क्षेत्रबाट सुरजचन्द्र लामिछाने खुल्ला तर्फबाट सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वचित भएका छन्। महाधिवेशन प्रतिनिधि निर्वचित हुनेमा वाग्मती प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठ, राजेन गुरुङ, संविधान सभा सदस्य कल्याणी रिजाल, मोहनकुमार राई, वडा नं ११ र२९ का वडा अध्यक्ष हिरालाल तन्डुकार, कुश ढकाल छन्।

पेट्रोलियम डिलर एसोसियसनका अध्यक्ष लिलेन्द्र प्रधान, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंह, पूर्व वडा सदस्य ऋषिराज आचार्यका साथै युवा नेता प्रबल थापा र शम्भु तामाङ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell