PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

राजनीतिको 'न्यानो'मा लुक्दै ६ बोटल रक्सी प्रकरण : सीईओमाथि कारवाहीको विषयमा आलटाल



वसन्तराज उप्रेती

राजनीतिको 'न्यानो'मा लुक्दै ६ बोटल रक्सी प्रकरण : सीईओमाथि कारवाहीको विषयमा आलटाल

काठमाडौं : आशुतोष तिवारीले हिजो फेसबुकमा प्रश्न गरे - के भयो त नेपाल टुरिज्म बोर्डको सीईओलाई? उनलाई माफी दिइयो कि नाई?

मिडिया मौन रहेको टिप्पणी गर्दै उनले थप प्रष्ट पारे - '...हाम्रो प्यारो नेपालमा यस्तो डिसिप्लिनरी केसमा कसरी कस्तो निर्णय माथिबाट हुँदो रहेछ भनेर जान्न चाहेको।'

६ बोतल ड्युटी फ्री मदिरा ल्याउन अवरोध गर्दा कर्मचारीमाथि हातपात गरेर 'चर्चित' बनेका धनन्जय रेग्मीमाथि कारवाही चासो तिवारीलाई मात्र होइन, धेरैलाई छ। विवाद ठूलो आर्थिक मुद्दासँग जोडिएको होइन, त्यसभन्दा ठूलो नैतिकतासँग जोडिएकाले पनि चासो फरक हिसाबले हुनु अस्वभाविक थिएन।

एयरपोर्टमा भन्सारका नायब सुब्बालाई आफ्नो लगेजले हिर्काउने प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीलाई स्पष्टीकरण त सोधियो तर राजनीतिक उच्च दबाबमा कारवाहीमा आलटाल हुन थालेको छ।

रेग्मीले भन्सार कर्मचारीलाई लगेजले हानेको सीसीटीभी फुटेज सार्वजनिक भइसकेको छ। लण्डनमा पर्यटन प्रवर्द्धनको एक कार्यक्रम सकेर फर्किने क्रममा रेग्मीले भन्सार कर्मचारी सुमन थापालाई दुर्व्यवहार गरेका थिए। उनले त्यसो गरिरहँदा मदिरापान गरेको पुष्टि भएको थियो - काठमाडौं मेडिकल कलेजमा परीक्षण गर्दा। विवादित पृष्ठभूमिका रेग्मीले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध फेसबुकमै कडा अभिव्यक्ति दिएका थिए जुन उनले पछि मेटाएका थिए।

विमानस्थलमा भन्सार कर्मचारीलाई हातपात गरेपछि उनले ल्याएको मदिरा 'सिज' गरिएको थियो भने कर्मचारीलाई हातपात गरेकोमा पाँच हजार रुपैयाँ जरिवाना गराएरै मात्र छाडिएको थियो। पछि रेग्मीले पर्यटन मन्त्री, सचिव र अन्य कर्मचारीको मदिरा आफूले बोकेको बताएका थिए। त्यतिमात्र होइन, अर्थमन्त्रीलाई फोन गर्दा नउठेका कारण विवाद उत्पन्न भएको भन्दै मापदण्ड विपरीत रक्सी भित्र्याउन सकिने आधार पनि पेश गरेका थिए।

मदिरा नै नपिउने सचिवका लागि रक्सी ल्याएको बताएपछि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नैतिकहीन काम गरेको भन्दै रेग्मीसँग स्पष्टीकरण सोधेको थियो। सुरुमा मौखिक र पछि लिखित स्पष्टीकरण सोधिए पनि थप कारवाहीमा आलटाल सुरु भएको छ।

उनी एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा पर्यटन बोर्डको सीइओ नियुक्त भएका हुन्। भन्सार कर्मचारी कुटेर स्पष्टीकरण सोधिएपछि पनि उनी विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका छन्।

स्पष्टीकरणबारे मन्त्रीस्तरीय छलफल गरेर कारवाही अगाडि बढाउने भनिए पनि हालसम्म कुनै पनि छलफल नभएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

'स्पष्टीकरण दिइसकेको एक साता नाघिसकेको छ। तर, यसमा कुनै छलफल भएको छैन। अब यसमा थप कारवाही अगाडि बढ्दैन होला। प्रधानमन्त्री शेरबहादुर निकट व्यवसायी नै उनलाई जोगाउन लागेका छन्,' मन्त्रालयका एक अधिकारीले भने, 'केपी शर्मा ओलीका बेलामा जुन व्यापारीले उनलाई नियुक्ति गरेको थिए, उनै अहिले जोगाउन लागिपरेका छन्।'

पर्यटन मन्त्रालयले मागेको स्पष्टीकरणमा सीईओ रेग्मीले आफू अनिँदो भएका कारण धकेलाधकेल मात्र भएको भन्दै माफी मागेका थिए।

स्रोतका अनुसार राजनीतिक रुपमै यो मुद्दालाई मिलाउन खोजिँदैछ। कुटाइ खाने थापा पनि एमाले निकट कर्मचारी रहेको र कुट्ने रेग्मी पनि एमाले सरकारबाटै सीईओ नियुक्त भएका कारण मुद्दा पार्टी तहबाटै सुल्झाउने प्रयास भएको छ।

कुटाई खाएका थापासँग बारम्बार सम्पर्क गर्दा पनि उनले 'जे गर्छन् हाकिमहरुले गर्छन् आफू यसमा बोल्दिन' भन्दै आएका छन्। उनलाई सहकर्मीहरुले समेत बोलेमा अरु कुनै केसमा फसाउन सक्ने चेतावनी दिएको स्रोतको दावी छ। 'राजनीतिक समूह एउटै छ। यसबाहेक आर्थिक गडबढी गरेको आरोप लगाएर फसाउँछन् भनेर पनि तर्साइएको छ,' थापाले कुटाइ खाँदा सँगै रहेका एक कर्मचारीले भने, 'त्यही भएर उनी बोल्न नचाहेका हुन्।'

यसै सन्दर्भमा आशुतोष तिवारीले फेसबुकमा स्टाटस राखेपछि विप्लव मान सिंहले लेखेका छन् - मान्छे त फन्टुस र घमन्डी हो।

उनलाई रिप्लाइ गर्दै तिवारीले लेखेका छन् - 'मान्छे त आउँछन, जान्छन। ती फेरि थरिथरिका हुन्छन् नै। तर, यस्तो मामलामा देशको निर्णय गर्ने तरिका जान्न मन लागेको।'

सीईओको रक्सी प्रकरणमा यसै हुन्छ भन्ने आधार चाहिँ छैन किनकि - राजनीतिक दलका आवरणले यो मुद्दालाई ढपक्कै ढाकिसकेको छ, राजनीतिमा नैतिकता खोज्न त पाइएला, त्यसको जवाफ पो कसबाट मिल्छ होला र!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell