PahiloPost

Dec 7, 2021 | २१ मंसिर २०७८

कांग्रेस सभापतिका प्रत्यासी विमलेन्द्र निधिले गरे योजना सार्वजनिक, प्राथमिकतामा पुस्तान्तरण



पहिलोपोस्ट

कांग्रेस सभापतिका प्रत्यासी विमलेन्द्र निधिले गरे योजना सार्वजनिक, प्राथमिकतामा पुस्तान्तरण
फाइल फोटो।

काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशनमा सभापतिका प्रत्यासी विमलेन्द्र निधिले आफ्नो योजना सार्वजनिक गरेका छन्। निधिले आज पत्रकार सम्मेलन गर्दै आफ्नो प्रतिवद्धता र योजना सार्वजनिक गरेका हुन्।

निधि १३ वर्षको किशोरावस्थादेखि लोकतान्त्रिक आन्दोलनसम्म ५३ वर्ष नेपाली कांग्रेसमा सक्रिय छन्। उनले आफ्नो राजनीतिक पृष्ठभूमि र संघर्षका दिनहरु उल्लेख गर्दै यसपाला सभापति पदमा आफूलाई उतारेको जनाएका छन्।

'विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु,' निधिले भनेका छन्, 'परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरुलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा मेरो यो उम्मेदवारी रहेको समेत स्पष्ट गर्न चाहन्छु।'

निधिले सभापति पदमा उमेदवारी प्रस्तुत गर्दा आफ्ना कार्ययोजना र पार्टीभित्रको आवश्यक सुधार समेतलाई केन्द्रविन्दुमा राखेको जनाएका छन्।

निधिको परिकल्पनामा कांग्रेस

नेपाली कांग्रेसलाई देशको एकमात्र सुसंगठित, सुव्यबस्थित र सक्षम लोकतान्त्रिक पार्टीको रुपमा देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा पुनर्स्थापित गराउने उनले परिकल्पना गरेका छन्। भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र जनसम्पर्क समितिलाई व्यवस्थित, मर्यादित, समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउँदै देश र जनताको सेवामा सक्रिय वनाउने र तीनवटै तहको आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउने उनको महत्वकांक्षी योजना छ।

नेपाली कांग्रेसमा रुपान्तरण, पुस्तान्तरण र पुस्ता हस्तान्तरण प्रकृयालाई सहजीकरण गर्ने विषयलाई उनले प्राथमिकतामा राखेको जनाए।

उनले देशको भौगोलिक विविधताअनुरूप हिमाल, पहाड, तराई–मधेश, पश्चिमदेखि पूर्वका सबै जनतालाई भावनात्मक रूपमा जोड्ने प्रतिवद्धता पनि जाहेर गरेका छन्।

विगतमा भएका अनेक क्रुर हिंसाको मारमा परेका, आज पनि हिंसाबाट अन्यायमा परेका, वेपत्ता भएका वा पारिएका, अनगिन्ती नेपालीका परिवारको आँशु नरोकिए उल्लेख गर्दै उनले न्यायका लागि पहल गर्ने जनाएका छन्।

यस्ता छन् निधिका प्रतिवद्धता

निधिले ५ वर्षको समयावधि तोकेर विभिन्न प्रतिवद्धता गरेका छन्। जसमा पार्टीभित्र तथा जनतासँग जोडिएका विषयहरु समावेश छन्। पार्टीका सदस्यलाई उद्यमशील बनाउनेदेखि विदेशमा काम गर्न जानुपर्ने वाध्यतालाई हटाउन स्वरोजगार र आत्मनिर्भर बनाउने कार्ययोजना उनले अघि सारेका छन्।

अध्ययन संक्कृतिलाई फराकिलो बनाउने रणनीति उनले अघि सारेका छन्।

'पार्टीका सदस्यहरूमा पठन संस्कृतिको विकास गर्न वडा तहदेखि जिल्ला तहमा समेत कांग्रेस पुस्तकालय स्थापना गरी पार्टी साहित्य अध्ययनलाई सम्पूर्ण तहमा अनिवार्य गराउने,' उनको प्रतिवद्धतामा भनिएको छ।

नेपाली कांग्रेसको सभापतिका रूपमा पार्टीको आर्थिक पारदर्शिता र सुशासनलाई पूर्ण पालना गर्ने र गराउने प्रतिवद्धता उनले जाहेर गरेका छन्।

पार्टीभित्र विकसित गुट–उपगुटको अवस्थालाई उचित व्यवस्थापन गरी सबै साथीहरूलाई ऐक्यबद्ध रूपमा पार्टीको लक्ष्यउन्मुख गराउने उनको प्रतिवद्धतामा उल्लेख छ।

सम्पूर्ण तहका साथीहरूको र सबै तहका कार्यक्रमहरूको अभिलेखीकरण र मूल्याङ्कन गरी नेपाली कांग्रेसभित्र अन्याय हुन नदिन र विभेदको अन्त्य गरी बन्धुत्वपूर्ण संस्कृति विकास गर्ने विषयलाई उनले प्राथमिकता दिएका छन्।

त्यसका लागि पाँच वर्षभित्र प्राप्त गर्ने संरचनागत सुधारका उद्देश्य पेश गरेका छन्।

पार्टीभित्र नेतृत्व विकास, रुपान्तरण, पुस्ता हस्तान्तरण र पुस्तान्तरणलाई सहज बनाउन पार्टीका कुनै पनि एउटै तहमा वा पदमा दुई पटक भन्दा बढी निर्वाचित वा मनोनित नहुने व्यवस्था गर्न पार्टीको विधान संशोधन गर्न उनले जनाएका छन्।

पार्टीका जिल्ला सभापतिहरुको १२–१३ जेठ, २०७७ मा नुवाकोटको ककनीमा सम्पन्नभेलाले पार्टी सुदृढीकरणका लागि सिफारिस गरेका संपूर्ण सुझावहरुलाई विधानमा समेत सुधार गरी पार्टीमा लागू गर्ने उल्लेख गरेका छन्।

देशको भूराजनीतिक यथार्थता तथा आवश्यकतालाई मध्यनजर गर्दै पार्टीले छिमेकी मित्रराष्ट्रहरु भारत र चीनसँगको सम्बन्धलाई थप मजवुत बनाउने र नेपालको विकास तथा लोकतान्त्रिक प्रक्रियामा सहयोगी अन्य मित्र राष्ट्रहरुसँगको सम्बन्ध सुमधुर गराउने उनको रणनीतिमा उल्लेख छ।

संविधानमा उल्लेख भएका तर कार्यान्वयन हुन नसकेका नेपाल प्रहरी र निजामती सेवा सम्बन्धी प्रदेशको अधिकार स्थापित गर्न तथा भाषा आयोगले सिफारिस गरेअनुसार सम्बन्धित प्रदेशहरूमा सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गराउने पनि उनले उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell