
काठमाडौं : राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।
उनले राप्रपाका नेता धवल शमशेर राणाको प्रस्तावलाई स्वीकार गर्दै आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । राप्रपाको महाधिवेशन मंसिर १५ गतेदेखि १७ गतेसम्म हुँदैछ।
‘साथीहरुले सल्लाह गरेर, खासगरी यो अभियानको औपचारिक रुपले प्रारम्भ गर्नुअघि नेता धवल शमशेर राणाले मलाई प्रस्ताव गर्नुभएको छ,' उम्मेदवारी घोषणामा उनले भने, 'म यसलाई सहर्ष स्वीकार गर्दै, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट नेतृत्व परिवर्तन हुनुपर्छ र नयाँ नेतृत्वबाटै पार्टी अगाडि जानुपर्छ भन्ने नेता, कार्यकर्ता र शुभेच्छुकहरुको समेत भावनालाई स्वीकार गर्दै उम्मेदवार बन्न तयार रहेको घोषणा गर्दछु।’
नेता लिङ्देनले राप्रपा खिइनु र दुब्लाउनुमा अहिलेको अवस्था भन्दा ठाउँ नरहेको भन्दै राप्रपाको ३१ वर्षको इतिहास असफलताको इतिहास भएको बताए। पार्टी एकीकरण भए पनि अध्यक्ष त्रयले पार्टीलाई नयाँ दिशा र ऊर्जा दिन नसकेकाले वर्तमान नेतृत्वबाट पार्टी अगाडि बढ्न नसक्ने बताए।
आगामी महाधिवेशन पार्टीका नेता कार्यकर्ताको अग्निपरीक्षा भएको उल्लेख गर्दै उनले पार्टीमा रहेको परम्परागत गुटको अन्त्य गर्न आफ्नो उम्मेदवारी रहेको बताए।
'महाधिवेशन प्रतिनिधि साथीहरुलाई आव्हान गर्न चाहान्छु , राप्रपाका तमाम नेता, कार्यकर्ता साथीहरुका लागि अग्नि परीक्षा हो,' उनले भने, 'हामी कुनै नेताको खल्तीको रुमाल हो कि हामी साच्चै राजसंस्था, हिन्दू राष्ट्रको पुर्नस्थापना चाहान्छौँ? यो हाम्रो अग्नि परीक्षा हो।'
नेपाली राजनीतिमा पुस्तान्तरणको कुरा सबै पार्टी भित्र उठिरहेको भएपनि अब त्यसको नेतृत्व राप्रपाले सुरु गर्ने उनले बताए।