PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

सर्वोच्चमा अब गोला प्रणालीबाट पेसी : मंसिर १५ देखि न्यायाधीश काममा फर्कने, प्रधान न्यायाधीशसँग बेन्च सेयर नगर्ने



पहिलोपोस्ट

सर्वोच्चमा अब गोला प्रणालीबाट पेसी : मंसिर १५ देखि न्यायाधीश काममा फर्कने, प्रधान न्यायाधीशसँग बेन्च सेयर नगर्ने

काठमाडौं :  सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रणालीबाट पेसी तोकिने भएको छ। आज सर्वोच्चका न्यायाधीशहरु बैठकले गोलाप्रथाबाट पेसी तोक्ने सहमत गरेका हुन्।

न्यायाधीशहरुको सहमतिबाट भएको निर्णय कार्यान्वयनका लागि हस्ताक्षर गर्न प्रधानन्यायाधीशकहाँ आजै पठाइएको छ।  सो निर्णय राजपत्रमा प्रकाशन भएपछि गोला प्रणालीबाट पेसी तोकिनेछ।

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको 'बहिर्गमन' माग्दै सर्वोच्चका न्यायाधीशहरुले करिब दुई साता बेन्च बहिष्कार गरेका थिए। केही दिनअघि गोला प्रथामा जाने निर्णय गरेपछि मात्रै न्यायाधीशहरु आंशिक रुपमा बेन्चमा फर्किएका थिए। आजको निर्णयसँगै न्यायाधीशहरुले सबै प्रकारका मुद्दाहरु १५ गतेबाटै हेर्नेछन्।

न्यायाधीशहरु बेन्चमा फर्किए पनि प्रधान न्यायाधीशसँग एउटै बेन्चमा नबस्ने भएका छन। जबराको राजीनामा माग्दै आन्दोलन गर्दै आएको नेपाल बार एशोसिएशनले पनि गोला प्रथाबाट पेसी तोकिए पनि जबरालाई मान्यता दिन आफूहरुले नमान्ने बताएको थियो।

कसरी तोकिन्छ पेसी

मुद्दा महाशाखाको विवरण अनुसार अदालतमा अब प्रत्येक दिन सबै न्यायाधीश र मुख्य रजिस्टारको उपस्थितिमा बिहान १० बजे गोलाबाट पेसी तोकिनेछ। मुद्दा व्यवस्थापनको गोपनीयताको मुख्य दायित्व मुख्य रजिस्टारमा हुनेछ।

साप्ताहिक तथा दैनिक पेसी सूची र भैपरी सूची समेतका आधारमा दैनिक रुपमा बृहत् पूर्ण, पूर्ण, एकल र संयुक्त इजलास गठन हुनेछ। गोला प्रयोजनका लागि समान रुप, रुङको गोटी प्रयोग हुनेछ।

यसरी तानिएको गोटीको अभिलेख कम्युटरमा पनि राखिनेछ।

जस्तोः सर्वोच्चमा १८ न्यायाधीश भएमा गोलाका लागि १ देखि १८ अंक अंकित गोटी थैलीमा राखिनेछ। यसरी गोटी तान्दा वरिष्ठताका आधारमा न्यायाधीशले तान्ने व्यवस्था मिलाइने छ।

बृहत् पूर्ण इजलास गठन हुनुपर्ने भएमा जति न्यायाधीशको गठन हुने हो सोही आधारमा वरिष्ठताका आधारमा क्रमशः एक देखि सुरु गरेर आवश्यकतासम्मका न्यायाधीश संख्यासम्म गोटी तानिने छ। एकमात्र पूर्ण इजलास भएमा एकदेखि तीनसम्मका गोटी तान्न लगाइने छ। दुई पूर्ण इजलास रहने भएमा क्रमशः ४ देखि ६ सम्मका गोटी राखिने छ। र, दुई इजलास गठन हुनेछ।

बृहत् पूर्ण इजलासपछि पूर्ण इजलास पनि गठन गर्नुपर्ने दिनमा बृहत् पूर्ण गठनपछिका पहिला तीन गोटी ६, ७ र ८ को गोटी तान्ने न्यायाधीश पूर्ण इजलासमा रहनेछन्। बृहत् पूर्णका लागि १ देखि ५ सम्मका गोटी कायम हुनेछ।

पूर्ण इजलास नभएको दिनमा भने एकल इजलास गठन भएपछि मात्र संयुक्त इजलास गठन हुनेछ।

गोला प्रणालीबाट पेसी तोकिँदा पनि हेर्दाहेर्दैका मुद्दा र निर्णय सुनाउने मिति तोकिएको दिनमा तीन न्यायाधीशबाहेक गरेर मात्र गोला तान्न लगाइनेछ। हेर्दाहेर्दैको इजलास पेसी तोकिएको दिनमा स्वतः गठन भएको मानिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell