PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सर्वोच्चमा प्रतिगमन भयो भन्दै 'न्याय मार्च',  बारको नारा : हामी अरु जान्दैनौं, चोलेन्द्रलाई मान्दैनौं

सर्वोच्चमा प्रतिगमन भयो भन्दै 'न्याय मार्च', बारको नारा : हामी अरु जान्दैनौं, चोलेन्द्रलाई मान्दैनौं

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपाल बार एशोसिएशनले प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालतदेखि प्रधानमन्त्री तथा प्रधान न्यायाधीशको निवास बालुवाटारसम्म मार्चपास निकालेको छ। नागरिक समाजसहित विभिन्न संघसंस्थाको सहभागितामा 'न्याय मार्च' निकालिएको हो।

चार सातादेखि बारले प्रधान न्यायाधीशको राजीनामा माग्दै सर्वोच्च अदालत परिसरमा आन्दोलन गरिरहेको छ। त्यस क्रममा बार र प्रहरीबिच धेरैपटक घम्साघम्‍सी भएको थियो। बारले प्रधान न्यायाधीशले बिचौलिया प्रयोग गर्दै बारमाथि बन्दुकधारी प्रहरीबाट दमन गरेको आरोप लगाउँदै आएको छ।  

सर्वोच्च परिसर अगाडिबाट जान नदिएपछि मार्चपास माइतीघरबाट भद्रकाली जाने सडक हुँदै अघि बढेको थियो। भद्रकाली, रत्नपार्क, जमल हुँदै बारको मार्चपास बालुवाटार पुगेको हो।  

अधिवक्ताहरु जबराको राजीनामा माग्दै 'न्याय मार्च' मा अघि बढेका थिए। त्यसक्रममा अधिवक्ताहरुले  'चोलेन्द्र शम्शेर सर्वोच्च छोड', 'विचौलियाको नाइके राजीनामा दे', 'संवैधानिक निकायमा भागवन्डा अन्त्य गर' लगायतका नारा लगाउँदै मार्चपास गरेका थिए। उनीहरुले 'प्रधान न्यायाधीशले न्यायलयमा प्रतिगमन' गरेको भन्दै जबराको सम्पत्तिको छानबिन हुनुपर्ने माग गरे।

बारले राजनीतिक दलहरुले न्यायलयमा देखिएको विवाद बारे केही नबोलेको भन्दै आलोचना गर्दै आएको छ। केहीदिन अघिमात्रै बारले सभामुख अग्नि सापकोटासहित विभिन्न राजनीतिक दलको संसदीय दलका नेतालाई ध्यानाकर्षण गराएका थिए।

सरकार र राजनीतिक दलहरुले न्यायालयमा देखिएको विवादबारे नबोलेको भन्दै बारले आज प्रधानमन्त्री निवाससम्म 'न्याय मार्च' निकालेको हो। मार्चपासमा कानुन व्यवसायी र नागरिक अगुवाहरुले प्रधान न्यायाधीशलाई महाअभियोग लगाउन दलहरुसँग माग समेत गरेका थिए।  

गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था भए पनि जबरालाई आधिकारिकता दिने कुनै पनि कार्य मान्य नहुने भन्दै बारले चरणवद्ध रुपमा आन्दोलन घोषणा गरेको छ। बारको आन्दोलन बिच आज सर्वोच्च अदालतमा बसेको न्यायाधीशहरुको बैठकले गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गरेको छ। न्यायाधीशहरुले यसरी पेसी तोक्दा प्रधान न्यायाधीशसँग बेन्च सेयर नगर्ने निर्णय समेत गरेका छन्।

बारले जबराको राजीनामा नै आफूहरुको बटमलाइन भएको भन्दै राजीनामा नआएसम्म आन्दोलन अन्त्य नहुने अडान राख्दै आएको छ।  



ट्रेन्डिङ पोस्ट

Ncell