PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एमाले महाधिवेशन स्टेज नजिकै रातो कपडाले बेरेको सालिक कसको?



नेत्र तामाङ

एमाले महाधिवेशन स्टेज नजिकै रातो कपडाले बेरेको सालिक कसको?

चितवन: नेकपा (एमाले) को १०औं महाधिवेशनको उद्घाटन चितवनको नारायणगढस्थित नारायणी किनारमा हुँदैछ। बिहीबार दिउँसो त्यसैको तयारी तीव्र रुपमा देखिन्थ्यो नारायणी तिरमा।

स्टेज बनाउनेदेखि सरसफाइमा व्यवस्थापक खटिएको देखिन्थ्यो भने तयारी हेर्न नेता कार्यकर्ता पनि ओइरिएका थिए।

यसै क्रममा अधिवेशन तयारी पूरा भएको जानकारी दिन प्रचार विभागका प्रमुख योगेश भट्टराईले पत्रकार सम्मेलन गरे। पत्रकार सम्मेलन अघिनै स्टेज पुग्नुअघि केही वर मदन भण्डारी, जीवराज आश्रित, मनमोहन अधिकारीका अर्धकदका साना सालिक बेच्न राखिएको थियो।

अर्धकदका सालिक नजिकै एउटा ठूलो सालिक काठका मुढामाथि लडाइएको थियो। उक्त सालिक रातो कपडाले बेरेर छोपिएको थियो।

'यो सालिक कसको हो?' त्यहाँ आइपुगेका एक जनाले सोधे।

'ओलीको', त्यहाँ बसेका विक्रेता कुमार चौलागाईँले जवाफ दिए।

'खोलेर हेर्न मिल्दैन?' ती व्यक्तिले फेरि सोधे।

'भोलिमात्र खोल्ने हो' चौलागाईँले भने।

एमाले अध्यक्ष केपी शर्मा ओलीको सालिक भोलि उद्घाटन सत्रमा प्रदर्शनका लागि आफूहरुले बनाएको चौलागाईँले बताए। उक्त सालिक इटहरीमा तयार भएको उनको भनाई थियो।

'यो कसैले अर्डर गरेको हैन। हामी आफैँले बनाएका हौँ। भोलि यसको अनावरण हुन्छ,' चौलागाईँले भने।

कसले अनावरण गर्छ त यो सालिक? हाम्रो प्रश्नमा उनको जवाफ थियो, 'कुराकानी हुँदैछ। हेरौँ।'

भद्रकाली कला कुञ्जको टोलीले डेढ महिना लगाएर बनाएको यो सालिक भोलि अनावरण गरिने चौलागाईँले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell