PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सौराहमा ओली र रावलको दुरी ४५० मिटर: ओलीको बास रिसोर्टमा, रावलको लजमा



प्रकाश भण्डारी

सौराहमा ओली र रावलको दुरी ४५० मिटर: ओलीको बास रिसोर्टमा, रावलको लजमा

चितवन: नेकपा (एमाले) को महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली बिहीबार नै चितवन आइपुगेका छन्। शुक्रबार हुने उद्घाटन सत्र र शनिवार हुने बन्द सत्रका लागि ओली हवाइमार्गबाट चितवन ओर्लेका हुन्। यस्तै, एमालेका उपाध्यक्ष तथा अध्यक्ष पदका उम्मेदवार भीम रावल पनि बिहीबार नै चितवन आइपुगेका छन्। ओली हवाइमार्गबाट आउँदा रावल सडकमार्फत अबेर साँझमात्र चितवन आइपुगे।

१०औँ महाधिवेशनमा ओली अध्यक्ष पदमा दोहोरिने उनी निकट नेताहरूले बताएका छन्। सर्वसम्मत अध्यक्षका लागि जोड गरेका ओलीलाई रावलले अध्यक्षमा उम्मेद्वारी दिएर चुनौती दिएका छन्। उनीहरू महाधिवेशनको माहोल बनाउन उद्घाटनकै अघिल्लो दिन चितवन आइपुगेका हुन्। ओली र रावलको संयोग बिहीबार नै काठमाडौँबाट चितवन आउनमा मात्रै सीमित छैन। दुबै जना एमालेको अध्यक्षका प्रत्याशी पनि हुन्।

लजमा रावल

ओली-रावलको अर्को संयोग के पनि छ भने उनीहरू बास बसेको स्थान पनि धेरै टाढा छैन। रावल सौराहास्थित होली लज होटेलमा बसेका छन्। उनी बिहीबार अबेर साँझ स्कार्पियोबाट चितवन आइपुगेका हुन्। उनलाई नेता कार्यकर्ताहरूले चितवनमा स्वागत गरेका थिए।

पहिलोपोस्टसँगको कुराकानीमा रावलले देशभरि आफ्नो पक्षमा महोल बनेको बताए। केही ठाउँमा प्रतिनिधि छनोटमा विवाद भएको भए पनि कार्यकर्ताले सचेतना अपनाएर आफ्नो पक्षमा मतदान गर्ने उनको भनाइ छ।

'एमालेका सचेत नेता कार्यकर्ताले सबै कुराको ख्याल गर्ने छन्। मैले स्थायी कमिटीको बैठकमा पनि मलाइ मतदान गर्नुस् विजयी बनाउनुस् भनेर भनेको थिए,'उनले भने।

रिसोर्टमा ओली

पार्टीका धेरैजसो कार्यक्रममा ढिलोगरि पुग्ने ओली चितवनमा भने महाधिवेशन सुरु हुनुभन्दा एक दिनअघि नै आइपुगे। ओलीको बास सौराहास्थित पार्क सफारी रिसोर्टमा छ। ओलीका लागि रिसोर्टमा कडा सुरक्षा व्यवस्था गरिएको छ। बिहीबार दिउँसो हवाई मार्गमार्फत काठमाडौँबाट चितवन पुगेका ओली आफ्नो पक्षमा माहोल बनाउन एक दिनअघि नै चितवन आइपुगेका हुन्।

उनले यसअघि नै रावलले दिएको उम्मेद्वारी आफ्ना लागि चुनौती नभएको बताएका थिए। ओलीले आफूलाई अध्यक्षमा कसैले चुनौती नदिने बताए पनि रावलले भने आफ्नो उम्मेद्वारी फिर्ता नहुने दाबी गरिरहेका छन्। रावलले अन्तिमसम्म पनि उम्मेद्वारी फिर्ता नलिए एमालेको १०औँ महाधिवेशनमा नेतृत्व निर्वाचनमार्फत् छनोट हुनेछ। अध्यक्षमा भिड्न लागेका रावल र ओली जति वैचारिक र साङ्गठनिक रूपमा दुरी बढाइरहेका छन् उनीहरूको सौराहाको बास भने त्यति टाढा छैन।

कति टाढा छ रिसोर्ट र लज?

ओली बास बसेको पार्क सफारी रिसोर्ट र रावल बास बसेको होली लज होटेलको दुरी जम्मा ४५० मिटरमात्रै छ। जुन गाडी चढेर २ देखि ३ मिनेटमा पुग्न सकिन्छ। राप्ती नदीको किनारबाट ओली बास बसेको पार्क सफारी रिसोर्ट सडकबाट १५० मिटरभित्र छ। यता रावल बास बसेको होली लज होटल ओली बसेको भन्दा अलि माथि सौराह चोकतर्फ हात्ती चोकबाट केही पर छ।

राप्ती नदीको बगर नजिकै रहेका यी दुई होटेलका वरिपरि नेता कार्यकर्ताको घुइँचो छ। साँझ अबेरसम्म पनि टाढा-टाढाबाट नेता कार्यकर्ताहरू आइरहेका छन्। सौराहा जाने बाटोमा ओलीको फोटोसहितका फ्लेक्सहरु राखेर स्वागत द्वारहरू बनाइएको छ।

ओलीले खोजिरहेका छन् रावलबाट हार्दिकता

नजिकै बास बसेको ओली र रावल एमालेको १० बुँदे सहमति नहुन्जेलसम्म एक अर्काका कट्टर आलोचक थिए। रावल तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा थिए भने ओली एमालेका तर्फबाट सरकार चलाइरहेका थिए। ओली प्रधानमन्त्रीबाट बाहिरिएपछि १० बुँदे सहमति भएको थियो। १० बुँदे सहमति भएपछि नेपाललाई छाडेका रावलले हाल भने ओलीको त्यति आलोचना गर्ने गरेका छैनन्। यद्यपि उनीमात्रै एमालेमा ओलीविरुद्ध महाधिवेशनमा उभिने नेता बनेका छन्।

रावलले ओलीलाई चुनौती दिन नै आफ्नो उम्मेदवार भएको बताए पनि ओली भने त्यसलाई चुनौती मानिरहेका छैनन्। उनले बरु रावलबाट हार्दिकता खोजेका छन्।

'उहाँले भारी बिसाउनुस् भन्नुभएको छ। मलाई चुनौती दिनुभएको होइन,' उनले केही दिनअघि प्रेस मिटमा भनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell